कोलकाता, 1 फरवरीः आउँदो विधानसभा चुनाउ जतिजति नजिकिँदै गइरहेको छ उतिउति ममता ब्यानर्जीलाई झट्का लागिरहेको छ।
पछिल्ला केही समययता तृणमूल कङ्ग्रेसका दिग्गज नेताहरूले भकाभक पार्टी छोड़िरहेका छन्। साथै भाजपामा सामेल भइरहेका छन्।
यसैक्रममा आज डायमन्ड हार्बरका विधायक दीपक हल्दरले पनि तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका छन्।
जानकारीका अनुसार स्पीड पोस्टमार्फत् उनले आफ्नो राजीनामा पठाएका छन्।
दुई दिनअघि मात्र तृणमूल कङ्ग्रेस त्यागेका राजीब ब्यानर्जीसहित पाँचजना भाजपामा सामेल भएका थिए। सामेल हुने अन्यमा विधायक वैशाली डालमिया, प्रवीर घोषाल, हावड़ाका पूर्व मेयर रथिन चक्रवर्ती र राणाघाटका पूर्व विधायक पार्थ सारथी चट्टोपाध्याय भाजपामा सामेल भएका थिए।
आज तृणमूल छोड़ेका दीपक हल्दरले 24 परगना जिल्लामा तृणमूल कङ्ग्रेसलाई जमिनी स्तरमा बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी शोभन च्याटर्जीका नजिकका मानिन्छ। यसैले पनि चाँड़ै हल्दर पनि भाजपामा सामेल हुने सम्भावना बाक्लिएको छ।