श्रीनगर, १ मार्च : जम्मू-कश्मीरमा आतङ्कीसँग भिड़न्तमा पुनः चार जवान शहीद भएका छन्। शुक्रबार भएको भिड़न्तमा सीआरपीएफका दुई र जम्मू-कश्मीर पुलिसका दुई जवान शहीद भएपछि उपत्यकामा तनाउ बढ़ेको छ।
यो घटना उत्तरी कश्मीरको कुपवाड़ास्थित हन्दवाड़ामा भएको हो। एक अन्य जवान घाइते भएका छन्, जसलाई उपचारार्थ अस्पतालमा भर्ती गरिएको छ।
यसभन्दा अघि आजै बिहान सुरक्षा बलले दुई आतङ्की मारेको थियो। भिड़न्त भएको ठाउँमा तलाशी लिइरहेको समय एक घरको भग्नावेशबाट अचानक निस्केका आतङ्कीले सुरक्षा बलमाथि जताभावी गोली चलाउँदा चार सुरक्षाकर्मी शहीद भएको बताइएको छ।
मीडिया रिपोर्ट्सका अनुसार ती आतङ्की भग्नावेशमा मरेको झैं भएर लड़ेका थिए। जसै सुरक्षा बल त्यहाँ पुग्यो, अचानक सुरक्षारकर्मीहरूमाथि जताभावी फाइरिङ गरे।
जानकारीका अनुसार यो समाचार तयार पारुञ्जेलसम्म आतङ्की र सुरक्षाबलबीच भिड़न्त जारी छ।
आज बिहान सुरक्षा बललाई क्षेत्रमा दुईदेखि तीन आतङ्की लुकेर बसेको गोप्य सुरक्षा प्राप्त भएको थियो। यसै सूचनाको आधारमा सुरक्षा बलले हन्दपाड़ामा घेराबन्दी गरेपछि दोहोरो भिड़न्त शुरु भएको थियो।