अहलुवालियाले माफी नमागे हामी न्यायालय जानेछौं : विनय तामाङ

0
1329
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, १ मार्च :  गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) नेता विनय तामाङले आज दार्जीलिङका सांसद एसएस अहलुवालियाको बयानको कड़ा शब्दमा निन्दा गरेका छन्। अहलुवालियाले हिजो सिलगढ़ीमा भनेका थिए-‘दार्जीलिङमा भूमिपुत्र उम्मेद्वारको कुरा गर्नेहरू धेरजसो नेपालबाट आएका हुन्।’

तामाङले अहलुवालियाविरुद्ध कानुनी कारबाही गर्ने चेताउनी पनि दिए। यो बयानविरुद्ध पहाड़का सबै राजनीतिक पार्टी र दिल्ली आधारित गैर-राजनीतिक गोर्खा सङ्गठनहरू एकबद्ध भएर प्रतिवाद गर्नुपर्ने उनले अपील गरेका छन्।

“एसएस अहलुवालियाको बयानको हामी पार्टी र पहाड़का जनताको तर्फबाट कड़ा निन्दा गर्दछौं। दार्जीलिङ लोकसभा सीटका लागि ‘भूमिपुत्र’ -को जुन आवाज उठिरहेको छ, त्यसप्रति उनको बयान अत्यन्त निन्दनीय छ। पहाड़का 16 राजनीतिक पार्टी र गोर्खा जनमुक्ति मोर्चाले भूमिपुत्र उम्मेदवारको जुन माग गरिरहेको छ, उनीहरूलाई अहलुवालियाले नेपालबाट आएको भनेका छन्”, तामाङले बताए।

अहलुवालियाले दिएको बयानविरुद्ध उनीहरू न्यायालयमा जाने विनयले चेताउनी दिएका छन्। साथै पहाड़का गोर्खा तथा कुनै पनि पार्टीका नेताहरू नेपालबाट आएका हुन् भनेर अहलुवालियाले प्रमाणित गर्नुपर्ने उनको माग छ।

“हामीले जब दुईपटक भाजपाका उम्मेदवार जितायौं, त्यसबेला यहाँ कोही पनि नेपालबाट आएका थिएनन्। तर, उनी जुन ठाउँबाट गोर्खाहरूको भोटले चुनाउ जिते अनि केन्द्रिय मन्त्रीसमेत बने, अहिले आएर उनीहरू नेपालबाट आएको भन्दैछन्। पद र प्रतिष्ठामा भएका व्यक्तिले यस्तो बयान दिनु घातक कुरा हो”, तामाङले भने।

अहलुवालियाको यो बयानले भाजपाको चरित्र नाङ्गो भएको तामाङले बताएका छन्। अहलुवालियाले सिलगढ़ीमा दिएको बयानविरुद्ध सङ्घर्ष गर्न उनले सबै राजनीतिक तथा गैर-राजनीतिक दलहरूलाई अपील गरे।

“यो बयानमा विमल गुरुङ र रोशन गिरीजस्ता भूमिगत नेताहरूले आफ्नो अड़ान स्पष्ट पार्नुपर्छ। उनीहरूले छानेर दार्जीलिङ ल्याएका मान्छेले आज गोर्खाहरूलाई नेपालबाट आएको भन्दैछन्। उनीहरूले अहलुवालियाको बयानमाथि आफ्नो अड़ान स्पष्ट  बताउनुपर्छ”, तामाङले थपे, “जब म दिल्ली जान्छु, मविरुद्ध  दिल्लीमा बस्ने अञ्जली शर्मा, वन्दना राई, किरण बिके र अन्यले विरोध प्रदर्शन गर्छन्। म अब उनीहरूलाई भन्छु -उनीहरूले यो बयानको विरोधमा दिल्लीमा अहलुवालियाको घर घेराउ गर्नुपर्छ।”

राजनीतिक हुन् वा गैर-राजनीतिक वा जीएसएसएस हुन् अथवा एनजीसी, देशभरि रहेका गोर्खा जनमानसलाई यो बयान भाइरल हुँदा पनि उनीहरू किन मौन छन् भन्ने प्रश्न गरेका छन्। जीएसएसएस र एनजीसीले पनि भूमिपुत्र उम्मेदवार हुनुपर्छ भन्ने माग गरिरहेकोले उनीहरूले यो बयानको तीव्र विरोध गर्नुपर्ने विनय तामाङले आह्वान गरे। एनजीसीले दार्जीलिङमा सङ्गोष्ठी आयोजन गरिरहेकोले यस बयानविरुद्ध प्रस्ताव लिएर विरोध जताउनुपर्ने तामाङले सुझाए।

तामाङले अहलुवालियालाई दार्जीलिङ आएर लोकसभा चुनाउ लड्न चेताउनी दिँदै भने -“चुनाउ नेपालमा होइन, भारतमा हुँदैछ। अनि, यहाँ सबै नागरिक भारतीय हुन्। उनले गोर्खाहरूसँग माफी माग्नुपर्छ र आफ्नो बयान फिर्ता लिनुपर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here