दार्जीलिङ-सिक्किमबीच चल्ने 30 वटा गाड़ीले पर्मिट पाउने

0
1308

दार्जीलिङ, 1 मार्चः दार्जीलिङ र गान्तोकबीच चल्ने 30 वटा यात्रीवाहक गाड़ीलाई राज्यको ट्रान्सपोर्ट विभागले पर्मिट दिने भएकोले पहाड़, तराई संयुक्त परिवहन महासङ्घले खुशी व्यक्त गरेको छ।

हाल दार्जीलिङमा दार्जीलिङबाट गान्तोकबीच चल्ने गाड़ीहरूका 4 वटा सिण्डिकेटमा छन्, जसमा 84 वटा गाड़ी छन्। तर, यीमध्ये हालसम्म केवल 14 वटा गाड़ीको मात्रै पर्मिट थियो।

जसको कारण पर्मिट नभएका गाड़ी चालकहरू डरसरि गाड़ी कुदाउन बाध्य बनिरहेका थिए।

यसैले राज्यको ट्रान्सपोर्ट विभागले 30 वटा गाड़ीलाई पर्मिट दिएकोमा गाडी चालक संगठनहरूले खुशी व्यक्त गरेका छन्।

यति मात्रै होइन, यसबाहेक रहल गाड़ीहरूलाई पनि 10-10 वटा गरी पर्मिट प्रदान गर्ने राज्यको ट्रान्सपोर्ट विभागले वचन दिएको दार्जीलिङ एसोसिएशन अफ् ट्राभल एजेन्ट (डाटा)-का सचिव एवं पहाड़, तराई संयुक्त परिवहन महासङ्घका अध्यक्ष प्रदीप लामाले जनाए।

‘‘दार्जीलिङका अधिकांश युवाहरूले यातायात सेवालाई रोजगारको वैकल्पिक माध्यम बनाएका छन्। यसैले धेरै शिक्षित बेरोजगार युवाहरूले गाड़ी किनेर चलाउने गरेका छन्’’, लामाले थपे, ‘‘तर दार्जीलिङदेखि गान्तोक यात्रीहरू लिएर जाने 84 वटा यात्रीवाहक गाड़ीमध्ये केवल 14 वटा गाड़ीको मात्रै पर्मिट थियो। जसको फलस्वरूप 70 वटा गाड़ी चालकहरूले डरसरि गाड़ी चलाउँथे अनि चेकिङ भएको समय गाड़ी चलाउन पनि सक्तैन थिए।’’

यसैले यी बेरोजगार युवाहरूले गाड़ीको पर्मिट पाए, उनीहरू स्वनिर्भर बन्ने उनको भनाइ छ।

लामाका अनुसार यसै विषय लिएर पहाड़, तराई संयुक्त परिवहन महासङ्घले राज्यका सम्बन्धित विभागका अधिकारीवर्गसित लगातार भेट गरी आवश्यक कुराकानी गरिरहेको थियो।

फलस्वरूप गत केही दिनअघि राज्यका मुख्य सचिव राजीव सिन्हासित कुरा हुँदा उनले नै ट्रान्सपोर्ट विभागसित कुरा गरेका थिए।

जसका अनुसार, आगामी शुक्रवार ट्रान्सपोर्ट विभागले 30 वटा गाड़ीलाई पर्मिट दिने भएको छ भने रहल गाड़ीहरूलाई पनि 10-10 वटा गरी परमिट दिने तय गरेको छ।

जसका लागि उनले सम्पूर्ण गाड़ी चालकहरूको पक्षबाट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, विभागीय अधिकारीवर्गलाई धन्यवाद दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here