सौरभ मृत्यु मामिलाः छोराले न्याय नपाए पिता आमरण अनशनमा बस्ने

0
1726

सिलगढ़ी, 1 मार्चः पछिल्लो 21 फरवरीका दिन कथित दुर्घटना परी मृत्यु भएका सौरभ थामी (21)-ले न्याय नपाएसम्म आफू आमरण अनशनमा बस्ने पिता बुद्ध थामी उर्फ भक्तेले बताएका छन्।

यसका साथै उनले आफ्ना छोराको मृत्यु र पुलिसको कार्यशैलीलाई लिएर पुनः प्रश्न उठाएका छन्।

उनका अनुसार सौरभको सड़क दुर्घटनामा परी मृत्यु भएको होइन, तर हत्या भएको हो। यसैले  छोराले न्याय पाउनुपर्ने उनले लगातार माग गर्दै आइरहेका छन्।

यदि छोरोको वास्तविक मृत्युको कारण पुलिसले नबताएको खण्डमा दुधे बजारमा आमरण अनशन शुरु गर्ने पिता बुद्ध थामीको चेताउनी छ।

यसका लागि उनले एक साता पर्खिनेसमेत बताएका छन्।

पीड़ित परिवारका अनुसार सौरभ 21 फरवरीका राति करिब 8.30 बजे घरबाट निस्केका थिए। त्यसपछि सौरभ घर फर्केका थिएनन्।

तर, दुई दिनपछि गाड़ीधुरा थानाले उनलाई फोन गरी बाघडुग्रा थानामा सम्पर्क राख्ने बताएपछि परिवारै बाघडुग्रा थाना पुगेका थिए।

यद्यपि त्यहाँ पुग्दा बाघडुग्रा थानाले उनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको पोस्टमर्टम विभागसँग सम्पर्क राख्ने सुझाएपछि उनीहरू छाँगोबाट खसेझैं भएका थिए।

“हामी तत्कालै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पुग्यौं। तर, त्यहाँ हामी पुग्दा अघिबाटै मेरा छोराको पोस्टमर्टम गरिसकेको थियो”, उनले थपे, “हामीलाई सूचित नगरी पुलिसले कसरी हतार हतार मेरो छोराको पोस्टमर्टम गर्‍यो? के कारण पुलिसले हामीलाई सूचित गर्ने आवश्यकता ठानेन? हाम्रो अनुपस्थितिमा कसरी छोराको पोस्टमर्टम गरायो?”

उनका अनुसार सौरभको शरीरमा कुनै चोट थिएन। साथै स्कुटी जुन अवस्थामा छ, त्यसले पनि सौरभको दुर्घटना नभएर सुनियोजित प्रकारले हत्या गरिएको सङ्केत गर्छ।

यसैले पनि सौरभको मृत्युको सटिक कारण पुलिसले बताउनुपर्ने तथा सौरभलाई न्याय दिनुपर्ने पीड़ित परिवारको माग छ।

यसै मागमा पीड़ित परिवार तथा गाउँलेहरूले पछिल्लो 24 फरवरीका दिन बाघडुग्रा थाना पुगेर विरोध प्रदर्शन गरी सटिक जाँच हुनुपर्ने तथा पुलिसले सौरभको मृत्युको सटिक कारण बताउनुपर्ने मागसमेत गरेका थिए।

यो मागलाई उनीहरूले अझै जारी राखेका छन्। शनिवार सौरभको अन्त्येष्टि कार्य सम्पन्न भएको छ।

धेरै सामाजिक सङ्गठन र स्थानीय मानिसहरूले हिजो अन्त्येष्टि कार्य सकिएपछि पनि सौरभका लागि न्यायको गुहार लगाउँदै केही घण्टा  नाराबाजी गरेका थिए। यसका साथै सौरभले न्याय पाउनुपर्ने माग पनि चुलिँदै गइरहेको छ।

सौरभलाई श्रद्धाञ्जली चढ़ाउनका लागि हिजो विभिन्न राजनीतिक दलका नेतृत्वहरू दुधे पुगेका थिए।

उनीहरूले पनि सामूहिक रूपमा सौरभले न्याय पाउनुपर्ने तथा उनको मृत्युको वास्तविक कारण पुलिसले अघि ल्याउनुपर्ने माग गरेका छन्।

मृतक सौरभका पिता बुद्ध थामीका अनुसार सांसद राजु विष्ट, गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ, राज्यसभा सांसद शान्ता छेत्री, कङ्ग्रेस विधायक शङ्कर मालाकार र  हिल तृणमूल अध्यक्ष एवं मिरिक नगरपालिकाका अध्यक्ष एलबी राईले उनीहरूसँग टेलिफोनिक कुराकानी गरी न्यायका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

यसैबीच, घटनाका केही दिनपछि सौरभ मृत्युका जाँच अधिकारी अहिले छुट्टीमा गएका  बताइएको छ।

मृत्यु रहस्य गहिरिँदै गएको र पीड़ित परिवारले न्याय मागिरहेको समय हठात् घटनाका जाँच अधिकारी छुट्टीमा जानुपर्ने कारण के छ भन्ने प्रश्नले धेरै आशङ्का उब्जाएको छ।

त्यसैपनि सौरभको पोस्टमर्टममा पुलिसले देखाएको हतारोलाई लिएर परिवारले शुरुदेखि नै प्रश्न उठाइरहेको छ।

“यो एक हत्याको मामिला हो। किनभने मेरा छोराको शरीरमा कहीं कतै पनि चोटको निशान थिएन। केवल दाहिने हातको बीचको औंली मात्र भाँचिएको थियो। साथै देब्रे खुट्टामा रडजस्ता कुनै वस्तुले हिर्काएको चोटको निशान थियो” उनले भनेका छन्, “म रातभरि सुत्न सकिरहेको छुइनँ। साथै मेरा छोरोको शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल लिएर जाँच अधिकारी (इन्भेस्टिगेशन अफिसर) यो मामिलापछि किन छुट्टीमा गएका हुन्, मैले बुझ्नै सकिरहेको छुइनँ। मेरा छोराको न्यायका लागि पुलिसले पनि हामीलाई सहयोग गर्नुपर्नेछ। किनभने हामी छोराको मृत्युको सटिक कारण जान्न चाहन्छौं।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here