गोर्खा लीग भारती गुटले पहाड़का तीनवटै आसनबाट उम्मेदवार खड़ा गर्ने

0
863

दार्जीलिङ, 1 मार्चः अखिल भारतीय गोर्खालीग (भारती तामाङ गुट)-ले दार्जीलिङ पहाड़का तीनैवटा विधानसभा आसनमा आफ्नो उम्मेद्वार खड़ा गर्ने घोषणा गरेको छ।

यसका साथै  पार्टीले आजदेखि नै प्रचार अभियान शुरू गरेको पार्टीका महासचिव एसपी शर्माले बताए।

आज उनले यहाँ पत्रकारहरूसित कुराकानी गर्दै भने, “अब दार्जीलिङ पहाड़का क्षेत्रीय पार्टीहरूले भाजपा र तृणमूल कङ्ग्रेसको पुच्छर हुनु छोड्नुपर्छ। र स्वतन्त्र बनेर विधानसभामा गई स्वतन्त्ररूपले जातिको हितमा कार्य गर्न सक्नुपर्छ।”

यसैले गोर्खालीगले दार्जीलिङ पहाड़का आम जनतासित जोड़िएका आधारभूत अनि अत्यावश्यक मुद्दाहरू लिएर यस चुनाउमा आफ्नो उम्मेद्वार खड़ा गर्ने सङ्कल्प गरेको उनले बताए।

गोर्खा लीगले यसपालिको चुनाउमा बेदाग दक्ष युवाहरूलाई पार्टीका उम्मेद्वार बनाएर खड़ा गर्ने सङ्कल्प गरेको बताउँदै यस चुनाउमा पार्टीले नयाँ मुद्दाहरू लिएर आउने तय गरेको पनि शर्माले जनाए।

“यहाँ भाजपा र तणमूल कङ्ग्रेस पार्टीहरूसित मिलेर कार्य गर्ने राजनैतिक दलहरूले छुट्टै राज्यको मुद्दालाई जोड़दारसित उठाउन सकिरहेका छैनन्”, उनले थपे, “तर मुद्दा मर्न हुँदैन भन्ने गोर्खालीगको चाहना छ।”

यसका साथै गोर्खालीगले यसपालिको चुनाउमा दार्जीलिङ पहाड़मा संविधान संशोधन नभएसम्म दुइ स्तरीय पञ्चायत चुनाउ गराउनुपर्ने, फरेष्ट भिलेज एक्ट 2006 दार्जीलिङ पहाड़मा लागू गर्नुपर्ने, प्लान्टेशन लेबर एक्टलाई संशोधन गर्नुपर्ने साथै अन्य विभिन्न मुद्दा लिएर पार्टी प्रचारको लागि मैदान उत्रिएको एसपी शर्माको भनाइ छ।

यसै विषयमाथि जोड़ दिँदै पार्टीका उपाध्यक्ष विक्रमादि राईले भने, “सन् 1988-मा दार्जीलिङ गोर्खा पार्वत्य परिषद्को सम्झौता हुँदा संविधान संशोधन भएको थियो, जसअनुसार पहाड़मा तीन स्तरीय पञ्चायत चुनाउको सट्टा केवल दुई स्तरीय पञ्चायत चुनाउ हुने प्रावधान छ। तर, सन् 2000-मा दार्जीलिङ पहाड़मा केवल एक स्तरीय पञ्चायत चुनाउ भएको थियो भने त्यसपछि पहाड़मा त्यै एक स्तरीय पञ्चायत चुनाउ पनि भएको छैन। जसका कारण यहाँका सत्ताधारी पार्टीका नेताहरूले फाइदा पाइरहेका छन्। तर, सर्वसाधारण जनता सरकारी सुविधाहरू उपभोग गर्न वञ्चित बनिरहेका छन्।”

यसरी नै उनले चियाश्रमिकहरूको हितलाई ध्यानमा राखेर प्लान्टेशन लेबर एक्ट संशोधन गर्नुपर्ने माग गर्दै यी विषयहरूमाथि आवाज उठाउन स्वतन्त्र विधायक नै विधानसभामा जानुपर्ने  अनि यसका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए।

“हाल दार्जीलिङ पहाड़मा पर्जा-पट्टाको माग पनि उठिरहेको छ। तर, जबसम्म प्लान्टेशन लेबर एक्ट संशोधन हुँदैन, तबसम्म पर्जा-पट्टाको माग पूर्ण हुनेछैन”, राईले थपे, “यस्ता कार्यहरूमा आवाज उठाउनको सट्टा वर्तमान समयका विधायकले कलकत्ता गएर केवल पान खाने काम मात्रै गरिरहेका छन्। र पहाड़मा नाच्नबाहेक केही कार्य गरेका छैनन्।”

उनले दार्जीलिङका भाजपा विधायक निरज जिम्बाको नाम नलिए पनि उनीमाथि नै कटाक्ष प्रहार गर्दै अहिलेसम्म उनले जनताका लागि के काम गरे? भन्ने प्रश्‍न गरे।

विक्रमादि राईले थपे, “परिवर्तनका लागि एकजना जनप्रतिनिधि नै पर्याप्त हुन्छ। वर्तमान दार्जीलिङ पहाड़का युवाहरूमा त्यो दक्षता भरपूर छ। यस्तै दक्ष युवाहरूलाई गोर्खा लीगले आफ्नो उम्मेद्वार बनाएर विधानसभा पठाउने सङ्कल्प गरेको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here