गान्तोक, १ मार्चः सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का वरिष्ठ नेता एवं राज्यका पूर्व मन्त्री केएन राई अनि प्रवक्ता शिवकुमार तिम्सिनामाथि आज दक्षिण सिक्किमको मल्लीको माझी गाउँमा प्राणघातक हमला भएको छ।
हमलामा पूर्व मन्त्री एवं विधानसभा अध्यक्ष राई गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लगि अस्पतालमा भर्ना गरिएको छ।
हमलाको आरोप सिक्किमको सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-माथि लागेको छ।
एसकेएमका कार्यकर्ताहरूले यो प्राणघातक हमला गरेको बताउँदै घटनामा संलग्न दोषीलाई पुलिसले चाँडोभन्दा चाँडो पक्राउ गर्नुपर्ने माग एसडीएफले गरेको छ।
एसडीएफले घटनाको कडा शब्दमा भर्त्सना गर्दै भनेको छ – यो घटनाले सिक्किममा प्रजातन्त्र नरहेको र कानुन व्यवस्था पूर्ण रूपले ध्वस्त भइसकेको प्रमाणित गर्छ।
राज्यका पूर्व मन्त्री एवं विधानसभा अध्यक्षसमेत रहिसकेका केएन राई एसडीएफका वरिष्ठ नेता मात्र होइनन्, तर सिक्किमकै एक सम्मानित राजनीतिज्ञ पनि हुन्।
उनीमाथि यस्तो साङ्घातिक हमला हुनु अत्यन्त निन्दानीय कुरो हो।