जीतप्रति विश्वस्त समन पाठक : १३ अप्रेलमा सीताराम येचुरी दार्जीलिङ आउने

0
1664
दार्जीलिङको जज बजारमा चुनाउ प्रचार गर्दै समन पाठक।

दार्जीलिङ, १ अप्रेल : मार्क्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरी आगामी 13 अप्रेलको दिन दार्जीलिङ आउनेछन्।

पार्टीका उम्मेदवार समन पाठकको पक्षमा चुनावी जनसभालाई सम्बोधन गर्नका लागि येचुरी स्टार प्रचारको दार्जीलिङ आउनेछन्। सोमबार उम्मेदवार पाठकले जनसंवादसँग विशेष कुराकानी गर्दै यसबारे जानकारी गराए।

पाठकका अनुसार लोकसभा चुनाउ प्रचारका लागि पार्टीले ससाना सभाहरूलाई प्रमुखता दिएको छ। यद्यपि ५ र १३ अप्रेलको दिन दार्जीलिङमा, १० अप्रेलको दिन सुकेपोखरीमा, ११ अप्रेलको दिन कालेबुङमा, १२ अप्रेलमा बिजनबारीमा र १५ अप्रेलको दिन खरसाङमा चुनावी  जनसभा गर्नेछ। पाठकले  सोमवार दार्जीलिङ शहरीय क्षेत्र जज बजारमा  चुनाउ प्रचार गरे। साथै पार्टी कार्यालयमा चुनाउलाई लिएर एक सभा पनि गरे। सभामा माकपा सचिवमण्डली सदस्य केबी वातर, चेतन गुरुङ र उत्तम शर्मालगायत अन्य उपस्थित थिए।

एक प्रश्नको उत्तरमा माकपा उम्मेदवार पाठकले भने, “म मेरो जीतप्रति विश्वस्त छु। हामीले जनसाधारणका लागि कार्य गरिरहेका छौं। र जनताका मुद्दाहरूलाई हामीले प्रमुखता दिएकाछौं। जनतालाई हामीले गरेका  कार्यहरू थाहा छ। त्यसैले म विश्वस्त छु, यसपटक उनीहरूले माकपाको चिह्नमा भोट हाल्नेछन्।”

उनले थप भने, “दार्जीलिङ पहाड़का जनताले तृणमूल र भाजपाको नियत नजिकबाट बुझिसकेका छन्। संवैधानिक हक अधिकार माग्दा निर्मतापूर्वक गोली ठोक्ने तृणमूल र सपना देखाएर विपना लुट्ने भाजपालाई कसैगरी पनि जनताले भोट हाल्नेछैनन्। यसैले जनताका लागि यसपालि माकपा नै ‘बेस्ट अप्सन’ हो। यसैले म हाम्रो जीतप्रति ढुक्क छु।”

यसबारे जनताबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको पनि माकपा उम्मेदवार पाठकले बताएका छन्। साथै दार्जीलिङको संसदीय क्षेत्रका सातवटै विधानसभा क्षेत्रमा माकपाले ‘माइक्रो लेभल’-मा धमाधम चुनाउ प्रचार गरिरहेको बताएका छन्। उनका अनुसार माइक्रो लेभलको चुनाउ प्रचार अभियान प्रतिदिन तीव्र गतिमा सम्पन्न भइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here