दार्जीलिङ, १ अप्रेलः कोरोना सङ्क्रमित मानिसहरूको उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको चिकित्सीय दुरवस्थालाई बुझाउँदै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहलाई पत्राचार गरेका छन्।
पत्रको प्रतिलिपि सांसद राजु विष्टलाई पनि पठाइएको छ।
जानकारीका अनुसार पत्रमा गुरुङले कोभिड-१९ को उपचारलाई लिएर उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भइरहेको लापरबाहीबारे जानकारी गराउँदै यसको समाधानका लागि आवश्यक कार्वाहीको माग गरेका छन्।
यसैगरी पत्रमा यस अस्पतालकै लापरबाहीको कारण कालेबुङनिवासी कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको कुरालाई अवगत गराएका छन्।
‘कोरोना भाइरससँग अग्रिम मोर्चामा लड़्ने डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)-को नाममा प्लास्टिकको रेनकोट दिइएको छ। उनीहरूलाई जुन मास्क दिइएको छ, त्यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)-को तय मानकअनुसार छैन’, पत्रमा गुरुङले लेखेका छन्, ‘सबै क्वारेन्टाइन बिरामीले सेनिटाइजरविहीन एउटै शौचालय र नर्मल थर्मोमिटर प्रयोग गर्न परिरहेको छ।’
यसका साथै विमलले पत्रमा बङ्गालको स्वास्थ्य विभागकै लापरबाहीले अस्पतालले नै उल्टा सङ्क्रमण फैलाउनसक्ने आशङ्का रहेको तथा अस्पताल प्रशासनले मिडियाकर्मीहरूलाई मेडिकल बुलेटिनबाट वञ्चित राखेको आरोप लगाएका छन्।
अर्कोतिर, उनले दार्जीलिङ पहाड़का नागरिकहरूका लागि जलपहाड़स्थित आर्मी अस्पताल र डुवर्सका नागरिकहरूका लागि बिन्नागढ़ी आर्मी अस्पताललाई कोभिड-१९ सँग लड़्नका लागि तयार गरिदिने अनुरोध गरेका छन्।
साथै उनले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको अवस्था सुधार गरी दुरस्त गर्नुपर्ने माग पनि गरेका छन्।
गुरुङले पत्रमा बताएअनुसार यदि जलपहाड़ र बिन्नागढ़ीस्थित आर्मी अस्पताललाई कोरोना भाइरससँग लड़्नका लागि तयार गरिएको खण्डमा उत्तर बङ्गाल मेडिकल कलेजको वर्कलोड घट्नेछ। साथै सबैको उचित उपचार हुनेछ।
यसैगरी मोर्चा पहिलो खेमाका अध्यक्ष विमल गुरुङले पत्रमा वैश्विक महामारी बनेको कोरोना भाइरसको सङ्कटसँग जुझ्न प्रधानमन्त्रीको अपीलमा आफूहरू एकसाथ उभिएको जनाउँदै प्रधानमन्त्रीको कोरोना भाइरसको प्रकोपबाट बचाउनका लागि जुन सङ्कल्प लिएका छन्, त्यसका लागि उनीप्रति आभार पनि प्रकट गरेका छन्।