दार्जीलिङ, १ अप्रेलः दार्जीलिङका पूर्व विधायक अमरसिंह राईले आफ्नो ६ महिनाको पेन्शन दार्जीलिङ र कालेबुङ जिल्ला अस्पतालमा ५० वटा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किन्नका लागि अनुदान दिने घोषणा गरेका छन्।
वर्तमानमा उत्तर बङ्गाल विकास परिषद्का अध्यक्ष रहेका राईले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्।
‘उत्तर बङ्गालमा कोरोनाको सङ्क्रमण र उत्तर बङ्गाल मेडिकल कलेजमा भइरहेको समस्यालाई ध्यानमा राखेर म एक जिम्मेवार नागरिकको कर्तव्य निभाउँदै पूर्व विधायकको रूपमा पाउने ६ महिनाको पेन्शन दार्जीलिङ र कालेबुङ जिल्ला अस्पतालमा ५० वटा पर्सनल प्रोटेक्शन इक्विपमेन्ट (पीपीई) किन्नका लागि अनुदान दिन चाहन्छु’, उनले विज्ञप्तिमा लेखेका छन्।
राईका अनुसार उनले आफ्नो ६ महिनाको पेन्शन राशिले मुम्बईबाट पीपीई मगाइसकेका छन्, जुन स्वास्थ्य विभागबाट पञ्जीकृत छ।
मगाइएको पीपीई दार्जीलिङ आउनका लागि लगभग चार दिन लाग्ने उनको भनाइ छ।
‘दार्जीलिङ आइपुगेपछि म उक्त पीपीई जीटीएका मुख्यसचिवलाई सुम्पिनेछु’, विज्ञप्तिमा अमरसिंह राईले भनेका छन्, ‘जसले दार्जीलिङ र कालेबुङ जिल्ला अस्पताललाई हस्तान्तरण गर्नेछन्।’
अर्कोतिर, उनले सरकारी अस्पतालमा आवश्यक सामग्रीहरूको अभाव सम्बन्धमा सरकारको बचाउ गरेका छन्।
राईले भनेका छन्, ‘सरकारको तर्फबाट भरमग्दुर प्रयास गर्दा पनि दुर्भाग्यवश यस्तो स्थितिमा पनि सरकारी अस्पतालहरूमा प्रशस्त संसाधन जुट्न सकिरहेको छैन। कोरोनाको सङ्क्रमणलाई रोक्नका आफ्नो ज्यानलाई जोखिममा हालेर अग्र पङ्क्तिमा आएर कार्य गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीहरूको उपचार गर्दा चाहिने आवश्यक सुरक्षा साधनहरू उपलब्ध छैनन्।’
उनले थप भनेका छन्, ‘अहिलेका लागि चिकित्सकहरूको सुरक्षाको प्रमुख ढाल म्निने पीपीईबिनै पनि बिरामीहरूको उपचार सेवामा जुटिरहेका ती जम्मै चिकित्सक र स्वास्थ्यकर्मीहरूप्रति पनि म आन्तरिक हृदयबाटै आभार व्यक्त गर्न चाहन्छु।’
यसका साथै ५० वटा पीपीई चिकित्सकहरूका लागि पर्याप्त नभए तापनि ज्यानलाई जोखिममा हालेर सङ्घर्ष गरिरहेका ती अग्रपङ्क्तिका योद्धाहरूलाई सहयोग र प्रेरणा प्राप्त होस् भन्ने आफ्नो उद्देश्य रहेको पनि राईले बताएका छन्।
‘दार्जीलिङ पहाड़का मानिसहरूले पनि विश्वव्यापी रूपमा चुनौती बनिरहेको यस गम्भीर समस्यामाथि गम्भीर बन्नु आवश्यक छ। यो केन्द्र सरकार, राज्य सरकारसितै जीटीएक्षेत्रकै लागि पनि अति कठिन समय हो’, उनले भनेका छन्, ‘हामी कोही पनि यो समस्यादेखि मुक्त छैनौं। यसैले आफ्नो सुरक्षाका निम्ति आफै पनि सचेत बन्नु अति आवश्यक रहेको छ।‘
अर्कोतिर राईले यस्तो कठिन परिस्थितिको समयमा सबै एकजुट बन्नुपर्ने तथा एक जिम्मेवार नागरिकको एकार्कामा सहयोग जुटाउने प्रयास गर्नुपर्ने अपील पनि गरेका छन्।