नयाँदिल्ली, १ मई : लोकसभाअवधि पश्चिम बङ्गालमा हिंसा भइरहेको छ। अहिलेसम्म सम्पन्न भइसकेका चारै चरणमा हिंसाका घटनाहरू प्रकाशमा आएका छन्। विशेषगरी पछिल्लो २९ अप्रेलको दिन सम्पन्न चौथो चरणको मतदानअवधि आसनसोलमा व्यापक हिंसा भएको थियो।
यसैबीच चुनाउ आयोगले मतदानअवधि पश्चिम बङ्गाल पुलिस र केन्द्रिय बल दुवै पोलिङ बूथभित्र पस्न नपाउने निर्देश जारी गरेको छ। मतदान अधिकारीले बोलाएको खण्डमा मात्र बङ्गाल पुलिस र केन्द्रिय सुरक्षा बल पोलिङ बूथभित्र पस्न पाउने चुनाउ आयोगको निर्देश छ।
मतदानअवधि बङ्गालमा भएको हिंसाका घटनाहरूपछि आयोगले यस्तो निर्देश दारी गरेको हो। यसभन्दा अघि केन्द्रिय सुरक्षा बललाई मात्र पोलिङ बूथभित्र प्रवेश गर्ने अनुमति दिने खबर छापामा आएको थियो, तर चुनाउ आयोगले बङ्गाल पुलिस र केन्द्रिय सुरक्षा बल दुवै नै पोलिङ बूथभित्र पस्न नपाउने स्पष्ट पारेको छ।
मतदानअवधि बङ्गालमा भइरहेको हिंसापछि पोलिङ बूथबाट केन्द्रिय बललाई हटाएर राज्य पुलिसलाई तैनाथ गरिरहेको भाजपाले आरोप लगाएको थियो। राज्य सरकारले चुनाउलाई प्रभावित गर्नका लागि यस्तो गरिरहेको आरोप भाजपाको थियो। यसबारे भाजपाले चुनाउ आयोगमा उजुरीसमेत गरेको थियो।
अर्कोतिर तृणमूलले केन्द्रिय बलमाथि गम्भीर आरोप लगाउँदै चुनाउ आयोगलाई पत्राचार गरेको थियो। केन्द्रिय बलका जवानहरूले पोलिङ बूथभित्र फाइरिङ गरी मतदाताहरूमाथि भय सिर्जना गरेको तथा भाजपाको पक्षमा भोट हाल्नका लागि आग्रह गरेको आरोप पत्रमा तृणमूल कङ्ग्रेसले लगाएको थियो।
स्मरणरहोस्, पछिल्लो चौथो चरणको मतदानअवधि आसनसोलमा व्यापक हिंसा भएको थियो। यहाँ केही बदमाशहरूले केन्द्रिय मन्त्री एवं भाजपा उम्मेदवार बाबुल सुप्रियोको वाहन तोड़फोड़ गरिएको थियो।
उल्लेखनीय छ, आगामी ६ मईको दिन पाँचौं चरणको मतदान हुनेछ। यसअवधि पश्चिम बङ्गालमा बङ्गाउँ, ब्यारकपुर, हावड़ा, उलुबेरिया, श्रीरामपुर, हुगली र आरामबाग लोकसभा सीटमा मतदान हुनेछ।