रिलिफ फण्डमा जमा रकममा अझ थपेर चियाश्रमिकहरूको ब्याङ्क खातामा सोझै हालिनेछः अनित थापा

0
1204

दार्जीलिङ, १ मईः जीटीए चेयरम्यान रिलिफ फण्डमा हालसम्म सङ्ग्रहित रकममा जीटीएले अझ थपेर  सबै चियाकमानका श्रमिकहरूको ब्याङ्क खातामा सोझै पैसा हालिदिने अनित थापाले बताएका छन्।

श्रमिक दिवसको अवसरमा दार्जीलिङ पहाड़का चियाकमान, सिन्कोनाबगानलगायत क्षेत्रका श्रमिकहरूप्रति शुभकामना व्यक्त गर्दै जीटीए बीओएका अध्यक्ष थापाले यस्तो घोषणा गरेका हुन्।

चियाश्रमिकहरूलाई रकम हालिदिँदा पक्षपात नगरिने तथा एकैजना श्रमिकलाई नछोड़ी सबैलाई बराबर हालिदिने दाबी उनको छ।

थापाले हाल जीटीए चेयरम्यान रिलिफ फण्डलाई लिएर राजनीतिक स्वार्थसिद्धीका लागि केहीले नकारात्मक टीका-टिप्पणी गरिरहेको बताउँदै यसप्रति आफूले कुनै टिप्पणी नगर्ने बताएका छन्।

वैश्विक महामारी बनेको कोरोना भाइरसको प्रकोपलाई रोक्नका लागि गरिएको लकडाउनले विशेषगरी दार्जीलिङ पहाड़का चियाश्रमिकहरू अत्यधिक प्रभावित बनेको र उनीहरूलाई समस्या परेको बेला सहयोग गर्नका लागि नै जीटीए चेयरम्यान रिलिफ फण्ड शुरू गरिएको उनले बताएका छन्।

‘जीटीए चेयरम्यान रिलिफ फण्डको मुख्य उद्देश्य नै चियाश्रमिकहरूलाई सङ्कटको समयमा सहयोग पुऱ्याउनु रहेको छ’, थापाले दाबी छ, ‘मलाई पहाड़का चियाश्रमिकहरूका आँखाबाट दुःखको आँसु पुछ्नु छ। यसैले यस्ता टीका-टिप्पणीहरूले मलाई मेरो उद्देश्यदेखि रत्तिभर विचलित बनाउनेछैन।’

उनका अनुसार जीटीए चेयरम्यान रिलिफ फण्डमा जमा भएको पैसा अहिलेसम्म कतै प्रयोग गरिएको छैन। किनभने यो पैसा पहाड़लाई र पहाड़का चियाकमान, चियाश्रमिकहरूलाई साँचो हृदयले जुटाएको पैसा हो।

थापाले दिएको जानकारीका अनुसार अहिलेसम्म व्यक्तिगत र सङ्घ-संस्था गरी कुल ११ हजारले यस रिलिफ फण्डमा लगभग दुई करोड़ रुपियाँ प्रदान गरिसकेका छन्। ज-जसले रिलिफ फण्डमा सहयोग गरे, त्यो उनीहरूले स्वेच्छाले प्रदान गरेका हुन्। सहयोग गर्नेहरूप्रति उनले आभार प्रकट गर्दै पहाड़लाई माया गर्ने मानिसहरूको खाँचो रहेको तथा यस्तै सहयोगी मानिसहरूका कारण सुन्दर पहाड़को निर्माण हुने बताएका छन्।

थापाले भनेका छन्, ‘हामीमाथि विश्वास गरी पहाड़ र चियाकमानहरूको भविष्य बचाउन मानिसहरूले हामीप्रति देखाएको विश्वासको प्रतीक हो। यसैले यो रकमको एक पैसा पनि दुरूपयोग गरिएको छैन। पहाड़लाई माया गर्ने मानिसहरूले स्वेच्छाले जुटाएको यस रकमले हामी  चियाश्रमिकहरूको जीवनबाट सङ्कटको बादल हटाउने काम गर्नेछौं।’

यही आह्वानलाई सकारात्मक रूपमा लिएर विभिन्न सङ्घ-संस्था र जिम्मेवार व्यक्तिहरूले उदार हृदयले आर्थिक सहयोग गरेको उनको भनाइ छ।

‘लिनु मात्र होइन, पहाड़ले दिनु पनि जानेको छ। यो हाम्रो पहाड़का संस्कार र संस्कृति हो। यही संस्कार हाम्रो पहाड़को पहिचान हो’, थापाले भनेका छन्।

अर्कोतिर, उनले कोरोना सङ्क्रमणको आपद समाप्त भएलगत्तै मिनिमम् वेजेस एक्ट र पर्जापट्टाका लागि फेरि लागिपर्ने बताएका छन्।

‘हामीले आफ्नो वचनलाई कार्य संस्कार बनाएर अघि बढ़्ने प्रतिबद्धता बिर्सिएका छैनौं’, थापाले भनेका छन्, ‘यसैले लकडाउनपछि हामी फेरि मिनिमम् वेजेस एक्ट, पर्जापट्टालगायत अन्य मुद्दाहरू लिएर काम शुरु गर्ने पनि आजको यो महत् दिनमा घोषणा गर्न चाहन्छौं।’

जीटीए बीओएका अध्यक्षका अनुसार उनीहरूले पार्टीगत र प्रशासनिक दुवै क्षेत्रबाट दार्जीलिङ पहाड़का चियाकमान र सिन्कोना बगानका श्रमिकहरूका लागि काम गरिरहेका छन्।

‘हरेक दिन नै श्रमिकहरूको पसिना र पौरखको मूल्याङ्कन गरिनुपर्छ’, उनले भनेका छन्, ‘उनीहरूको पौरख र पाखुरीको सही मोल र मूल्याङ्कन होस् भन्ने उद्देश्यले उनीहरूका हक-अधिकारका लागि हामी सङ्घर्षरत् छौं।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here