दार्जीलिङ, 1 मईः दार्जीलिङ जिल्ला अस्पतालका अवकाशप्राप्त नर्सहरूद्वारा स्थापित दार्जीलिङ वुमन एन्ड चाइल्ड हेल्थ अवरनेस एन्ड वेलफेयर सोसायटीले आफ्नो सामाजिक सेवा कार्यलाई जारी गर्दै मिलिङ चियाकमानमा राहत सामग्री वितरण गऱ्यो।
सोसायटीका सचिव मेनुका छेत्रीले बताएअनुसार यसअवसरमा त्यहाँका ८२ परिवारलाई सोसायटीले राहत सामग्री वितरण गऱ्यो।
मिलिङ चियाकमान करिब ५ वर्षदेखि बन्द अवस्थामा छ।
उल्लेखनीय छ, दार्जीलिङ जिल्ला अस्पतालका अवकाशप्राप्त नर्सहरूले सामाजिक सेवा कार्यको सोच राखेर 2013-मा दार्जीलिङ वुमन एन्ड चाइल्ड हेल्थ अवरनेस एन्ड वेलफेयर सोसायटी स्थापित गरेका हुन्।
यसका हाल 11 सदस्य छन् भने यस सोसाइटीले स्थापनाकालदेखि नै लगातार रूपमा विभिन्न प्रकारका सामाजिक कार्य गर्दै आइरहेको छ।
यसका साथै भविष्यमा पनि सामाजिक सेवा कार्यलाई जारी राख्ने उनीहरूको सोच छ।
छेत्रीले जनसंवादलाई बताएअनुसार सोसाइटीले विशेषगरी स्वास्थ्य सेवाबाट वञ्चित ठाउँहरूमा पुगेर त्यहाँका मानिसहरूको स्वास्थ्य जाँच सँगसँगै स्वास्थ्यसम्बन्धी जागरूकता फैलाउने काम पनि गर्दै आएको छ।
यसै कार्यलाई निरन्तरता दिँदै सोसायटीले केही दिन अघि मात्र बन्द अवस्थामा रहेको सिङ्ला चियाकमानमा स्वास्थ्य शिविर एवं परामर्श कार्य आयोजन गरेको थियो।