हाम्रो उद्देश्य राम्रो दार्जीलिङ हो, अशान्त दार्जीलिङ होइन : अनित थापा

0
1460
शनिबार पत्रकारहरूलाई सम्बोधन गर्दै अनित थापा।

दार्जीलिङ, 1 जून : विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का महासचिव अनित थापाले हिजो दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 6 स्थित निम्कीडाँड़ाको घटनाको भर्त्सना गरेका छन्। शनिबार दार्जीलिङ पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै थापाले हिजोको घटनाको भर्त्सना जनाउँदै सबै राजनीतिक दललाई शान्ति शृङ्खला बनाइराख्ने तथा यस्ता घटनाहरूमाथि पुलिस प्रशासनले कड़ा नजर राखिदिने अपील गरेका छन्।

“हामी दार्जीलिङलाई राम्रो बनाउनु निस्केका हौं। अशान्ति बनाउनु होइन। हाम्रो ‘मोटिभ’ नै हाम्रो दार्जीलिङलाई राम्रो दार्जीलिङ बनाउनु हो”, थापाले थपे, “ दार्जीलिङ, खरसाङ, मिरिक र कालेबुङ शान्ति राखिदिने म हाम्रै गोर्खा जनमुक्ति मोर्चाका युवा भाइहरूलाई यहाँबाट आह्वान गर्छु। यो शान्ति धेरै दुःख गरेर ल्याइएको हो।’’

उनले थप भने, “2017-मा आन्दोलनको नाममा जुन बम पड़्काउने, अशान्ति गर्ने, मान्छेहरूलाई भोकभोकै राख्ने तरिकाको आन्दोलन थियो। हामीले गोर्खाल्याण्डको आन्दोलन गर्ने तरिकालाई विरोध गरेका हौं, तर गोर्खाल्याण्डको कहिले विरोध गरेनौं। हामीले  गोर्खाल्याण्ड माग्ने सिस्टमलाई विरोध गरेका हौं, तर गोर्खाल्याण्डको कहिले विरोध गरेनौं।”

दार्जीलिङमा जुन सन्त्रासको वातावरण सृष्टि हुँदैछ, त्यसको ठाड़ो विरोध गर्ने बताउँदै गोर्खाल्याण्ड पाएर पनि दार्जीलिङ अशान्ति भए कुनै अर्थ नरहने अनितको भनाइ छ। उनका अनुसार पहिला दार्जीलिङवासी शान्ति बस्नुपर्छ, त्यसपछि मात्र गोर्खाल्याण्डको कुरा आउँछ।

“जहाँ जुनै घटना हुन्छ, त्यहाँ विनय तामाङ र अनित थापाकै नाम आउँछ। हामीले त्यो बुझ्नसकेका छैनौं। र पुलिस प्रशासनलाई यस्ता घटनाहरूमा कड़ाभन्दा कड़ा कारबाही गरिएको हुनुपर्छ’’, उनले थपे, “यस्ता घटनाहरूमाथि पुलिस प्रशासन चाँड़ोभन्दा चाँड़ो पहल गरेको हुनुपर्छ। मेरो सबै पार्टीलाई अनुरोध छ, पार्टी आ-आफ्नो तरिकाले गऱ्यौं। हामी गोर्खा जाति हौं, मिलेर बसौं। पार्टीभन्दा जाति ठूलो भन्ने नारालाई वास्तविकतामा लागू गऱ्यौं।”

विगतमा दार्जीलिङमा रौडिज्म र गुण्डाइज्ममा पहाड़ चलेको र यसकै विरोध गर्न आफूहरू निस्केको दाबी गर्दै अनितले पछिल्लो समयमा दार्जीलिङ पहाड़मा अशान्ति बनाएर अहिले बाहिर बसिरहेकाहरूले भिडियोमार्फत लाञ्छना लगाउने काम गरिरहेको बताए।

उनले भने,  “जनता सचेत छन्, जनताले बुझेका छन्, को आउँदा शान्ति हुन्छ को आउँदा अशान्ति हुन्छ?’’ अनितले दार्जीलिङ पहाड़का जनतालाई शान्तिसँग सास फेर्ने वातावरण सिर्जना गरिदिने ठोकुवा गर्दै आफ्ना पार्टीका युवा फ्रस्टेशनमा त्यस्तो भएको हुनसक्ने बताउँदै उनीहरूलाई सम्झाउने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here