भोलिदेखि शहरमा २५ प्रतिशत गाड़ीको चलाचल शुरु हुने, १५ जूनदेखि दार्जीलिङ-सिलगढ़ी वाहन चल्ने

0
1346

दार्जीलिङ, १ जूनः दार्जीलिङका कुल ७२ वटा मोटर सिण्डिकेटका २५ प्रतिशत गाड़ीको चलाचल भोलि मङ्गलबारदेखि शुरू हुनेछ। यद्यपि, विभिन्न चियाकमान, बस्ती क्षेत्रबाट चल्ने गाड़ी, मिनी बसहरूका चलाचल आउँदो ८ जून अनि दार्जीलिङ-सिलगढ़ीमाझका यात्रीवाहक गाड़ीहरू १५ जूनदेखि चल्न शुरू हुने निश्‍चित भएको छ।

तर, दार्जीलिङ र सिलगढ़ीमाझ केवल २०-२० वटा मात्रै यात्रीवाहक गाड़ी चल्ने पनि निर्णय भएको छ, जसमा सिण्डिकेटका १० वटा अनि झप्का १० वटा सामेल रहनेछन्।

आज हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले एक बैठकको गरी यस्तो निर्णय लिएको कमिटीका अध्यक्ष एसएन प्रधानले जानकारी गराएका छन्।

यद्यपि, गाड़ी भाड़ा विषयमा गाड़ी चालक र यात्रीहरूमाझ नै छलफल हुने पनि बताइएको छ।

यसबारे पत्रकारहरूलाई सम्बोधन गर्दै कमिटीका अध्यक्ष प्रधानले भने, “केन्द्र सरकारले देशमा चलिरहेको लकडाउनलाई आजदेखि अनलक गरिदिएको छ भने पश्‍चिम बङ्गाल सरकारले लकडाउनलाई राज्यमा आउँदो १५ जूनसम्म जारी राख्ने घोषणा गरेको छ। तर यस अवधि धेरैवटा विषयलाई खुल्ला राख्ने पनि घोषणा गरिएको छ।’’

यसै विषयलाई ध्यानमा राखेर नै हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले आज एक बैठकको आयोजन गरी भोलिदेखि दार्जीलिङका करिब २५ प्रतिशत गाड़ीको चलाचल शुरू गर्ने निर्णय लिएको उनले बताए।

“तर गाड़ी चलाउँदा सामाजिक दूरीलाई विशेष ध्यान दिनुपर्छ अनि सानो गाड़ीमा केवल ३ जना र ठूलो अर्थात् सुमोजस्ता गाड़ीमा केवल ५ जना यात्री मात्र चढ़ाउन पाइनेछ’’, प्रधानले थपे, “हाल दार्जीलिङ शहर वरिपरि ७२ वटा मोटर सिण्डिकेट छन् भने सामान्य अवस्था रहँदा यी सिण्डिकेटहरूबाट मात्र दैनिक ३,५०० भन्दा अधिक गाड़ी चल्ने गर्थे। तर सिलगढ़ी र दार्जीलिङमाझ केवल २०-२० वटा गरी गाड़ी चल्ने भएका छन्।’’

उनका अनुसार १० वटा सिण्डिकेटका गाड़ी र १० वटा झप्का गाड़ी सामेल रहनेछन्।

यसरी नै कमिटीका अध्यक्ष प्रधानले आउँदो १४ वा १५ जूनको दिन राज्य सरकारबाट गाड़ीहरूको चलाचल विषय लिएर नयाँ दिशानिर्देश आउनसक्ने बताउँदै त्यो दिशानिर्देशको आधारमा आउँदा दिनमा गाड़ीहरू चलाउने योजना बनाइएको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here