सिलगढ़ी, १ जूनः सिलगढ़ी महकुमा क्षेत्रमा कोरोना कहर तीव्र गतिमा बढ़िरहेको छ।
आज बेलुकीपख पनि सिलगढ़ी महकुमा क्षेत्रका पाँचजना व्यक्तिमा कोरोना सङ्क्रमण पाइएको छ। जसका कारण आज एकैदिन सिलगढ़ी क्षेत्रमा कुल ७ जना कोरोना सङ्क्रमित बनेका छन्।
दार्जीलिङका जिल्लापाल एस. पन्नमबालमका अनुसार आज नक्सलबारीका दुई, फाँसीदेवाका एक र बतासे क्वारेन्टिन सेन्टरका दुईजना हाउस किपिङ गरी कुल पाँचजनामा कोरोना सङ्क्रमण पाइएको छ।
जानकारीका अनुसार केही दिनअघि कोरोना सङ्क्रमित पाइएका अटल चियाकमाननिवासी महिलाको सम्पर्कमा आएका नक्सलबारीका दुईजना आज कोरोना सङ्क्रमित पाइएको हो।
त्यसैगरी मुम्बईबाट क्यान्सर रोगको उपचार गराइ फाँसीदेवा फर्केका व्यक्तिको सम्पर्कमा आएका त्यसै क्षेत्रका एक व्यक्ति पनि आज कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। ती क्यान्सर रोगले पीड़ित व्यक्ति मुम्बईबाट आफ्नो घर फर्केपछि दुई दिनअघि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।
अर्कोतिर बतासे क्वारेन्टिन सेन्टरमा रहेका दुईजना हाउस किपिङ पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
यसभन्दा अघि आजै सिलगढ़ी नगरनिगमको वार्ड नम्बर ४३ स्थित भानु नगरनिवासी २१ वर्षीय युवक र वार्डनम्बर ४४ स्थित परेशनगरनिवासी ५५ वर्षीय महिला पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।