दार्जीलिङ, 1 जुलाई : दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालयको निर्माणको विषयमा आइतबार सांसद राजु विष्टले केन्द्रिय मानव संसाधन विकास विभागका मन्त्री रमेश पोखरियाल ‘निशङ्क’-सँग भेटवार्ता गरे। यसअवसरमा सांसद विष्टले दार्जीलिङमा केन्द्रिय विश्वविद्यालयको स्थापनाका लागि मन्त्री पोखरियाललाई एक ज्ञापन पनि सुम्पिए।
भेटवार्तामा उनले केन्द्रिय मानव संसाधन विकास विभागका मन्त्रीलाई ‘दार्जीलिङ ब्रान्ड’-को महत्त्वबारे बुझाउँदै यहाँ केन्द्रिय विश्वविद्यालयको स्थापना भए, त्यसले भारतभरिका विद्यार्थीहरूलाई मात्र होइन, तर दक्षिण एशिया र दक्षिण-पूर्व एशियाका विद्यार्थीहरूलाई समेत आकर्षित गर्ने बताए।
यसका साथै सांसद विष्टले दार्जीलिङमा केन्द्रिय विश्वविद्यालयको स्थापनाले दार्जीलिङ भारतमा उच्च शिक्षाको ‘हब’-मा परिणत हुने तथा दक्षिण र दक्षिण पूर्व एशियाका लागि यो महत्त्वपूर्व शैक्षिक केन्द्र बन्ने कुरा पनि बुझाए। भेटवार्तामा दार्जीलिङका यी सांसदले दार्जीलिङमा स्थापना हुने विश्वविद्यालय प्रधानमन्त्री नरेन्द्र मोदीको एक्ट इस्ट पोलिसीका लागि कति प्रशंसनीय हुनेछ तथा यसले दक्षिण र दक्षिण-पूर्व एशियाका देशहरूसँग भारतले कसरी थप बलियो सम्बन्ध स्थापित गर्न मद्दत गर्नसक्छ भन्ने पनि बुझाए।
यसबारे स्वयं सांसद राजु विष्टले एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। विज्ञप्तिमा उल्लेख गरिएअनुसार सांसद विष्टले दार्जीलिङमा उच्च शिक्षाका लागि आधारभूत सुविधाको अभाव रहेकोले क्षेत्रका विद्यार्थीहरू आफ्नै ठाउँमा उच्च शिक्षाप्राप्त गर्नबाट वञ्चित भइरहेको पनि अवगत गराए। यसका साथै केन्द्रिय विश्वविद्यालय र तक्निकी शिक्षाको माग दार्जीलिङ पहाड़वासीको धेरै पुरानो र प्रासङ्गिक माग रहेको जानकारी गराउँदै यसका लागि मन्त्री रमेश पोखरियाललाई प्रभावित गर्ने कोशिश गरे।
भेटवार्तामा विष्टले बताएअनुसार यदि दार्जीलिङ पहाड़मा केन्द्रिय विश्वविद्यालयको स्थापना भए. यसले क्षेत्रका मानिसहरूको शैक्षिक सम्बन्धित समस्यालाई सम्बोधन गर्नेछ, जसको फलस्वरूप स्थानीय विद्यार्थीहरूले आफ्नो ज्ञान, कौशल र उत्साहलाई अन्यत्र लैजान बाध्य हुनेछैनन्। सांसद विष्टका अनुसार केन्द्रिय मानव संसाधान विकास मन्त्री रमेश पोखरियालले उनलाई दार्जीलिङमा विश्वविद्यालयको स्थापनाको मागलाई गम्भीरतापूर्वक हेर्ने आश्वासन दिएका छन्।