दार्जीलिङ, १ जुलाई : सांसद राजु विष्टले सोमबार संसदमा दार्जीलिङ पहाड़मा बङ्गाल पुलिसको अन्याय-अत्याचारको मुद्दा उठाउँदै गोर्खाहरूलाई न्याय तथा पहाड़मा लोकतन्त्रको पुनर्बहालीका लागि फ्याक्ट फाइन्डिङ कमिटी गठन गर्नुपर्ने माग उठाएकोमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले सांसदलाई आफ्नो पार्टी र सर्वभारतीय गोर्खाहरूको पक्षमा धन्यवाद दिएका छन्।
आजै एक प्रेस विज्ञप्ति जारी गुरुङले विष्टलाई धन्यवाद दिएका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘सांसद विष्टले हाम्रो पार्टीका बयोवृद्ध नेता आरपी वाइबालाई पुलिसले पक्राउ गरी यातना दिएको कुरा गरेर बङ्गाल पुलिसको अनुहारलाई उदाङ्गो पारिदिएका छन्। सुमोटो मुद्दाहरूलगायत यस्ता मुद्दाहरूले पाँच हजारभन्दा अधिक मानिसहरू घरबार छोड़ेर जीवन बिताउन परेको कुरालाई राखेर सांसदले पहाड़मा गणतन्त्र बहालीको निम्ति पहिलो र दह्रो पद्क्षेप लिएका छन्। उनै यसैले बधाईका पात्र भएका छन्।’
यसका साथै सांसद राजु विष्टले समय अनुकूल दार्जीलिङ पहाड़का सबै राजनीति मुद्दाको चर्चा सदनमा गर्ने तथा दार्जीलिङको दीर्घकालीन राजनीतिक मागलाई पार लगाउने कुरामा आफूहरू विश्वस्त रहेको पनि विमलले विज्ञप्तिमा बताएका छन्।