संसद परिसरमा शहीद दुर्गा मल्लको जन्मजयन्ती पालन

0
1934
श्रद्धाञ्जली अर्पण गरेपछि शहीद दुर्गा मल्ल सालिकअघि सांसद राजु विष्ट अनि अन्य।

दार्जीलिङ, 1 जुलाई : इन्डियन नेशनल आर्मी (आईएनए)-का मेजर तथा भारतका स्वाधीनता सङ्ग्रामी शहीद दुर्गा मल्लको 106औं जन्मजयन्ती पालन गरियो।

शहीद मेजर मल्लको जन्मजयन्तीको अवसरमा आज संसद् परिसरस्थित उनको सालिकमा दार्जीलिङका सांसद राजु विष्ट, सिक्किमका सांसद इन्द्रहाङ सुब्बा, उत्तराखण्ड टेहरीकी सांसद माला राज्यलक्ष्मी शाह, अलिपुरद्वारका सांसद जोन बारला, पूर्व सांसद एवं अखिल भारतीय गोर्खा पूर्व सैनिक कल्याण सङ्गठनका संरक्षक तरुण विजयलगायत खेल राज्यमन्त्री (स्वतन्त्र प्रभार) किरण रिजिजुले श्रद्घाञ्जली अर्पण गरे।

यसअवसरमा अन्यले पनि शहीद मेजर दुर्गा मल्लको योगदान र बलिदानलाई कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि गोर्खा समुदायका यी तीनैजना सांसदलगायत अन्य गोर्खा प्रतिनिधिहरूले लोकसभाका अध्यक्ष ओम बिड़्लासँग भेटवार्ता गरे।

दार्जीलिङका सांसद विष्टका अनुसार यसअवसरमा लोकसभा अध्यक्ष बिड्लाले गोर्खा समुदायसम्बन्धित समस्याहरूको उचित समाधानका आश्वासन दिएका छन्।

केन्द्रिय मन्त्री किरण रिजिजुद्वारा शहीद मल्ललाई श्रद्धाञ्जली

अर्कोतिर, शहीद मेजर दुर्गा मल्लाको जन्मजयन्तीको अवसरमा केन्द्रिय खेल राज्य मन्त्री (स्वतन्त्र प्रभार) किरण रिजिजुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सोमबार ट्विटमार्फत् उनले मल्लप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। ट्विटमा उनले लेखेका छन्, ‘नेताजी सुभाषका सहयोगी आजाद हिन्द फौजका प्रथम शहीद वीर गोर्खा दुर्गा मल्ललाई अङ्ग्रेजले भनेका थिए-यदि माफी मागेको खण्डमा फाँसी रद्द गरिनेछ’, तर शहीद दुर्गा मल्लले भारतका लागि वीरगति स्वीकारे, माफी अस्वीकार गरे। आज संसद भवनमा उनलाई श्रद्धाञ्जली अर्पित गरियो। श्रद्धाञ्जली।’

गोर्खाल्याण्ड दिएमा देशका लागि प्राणको बलिदान दिने गोर्खाहरूको साँचो कदर हुनेछ : विमल

अर्कोतिर शहीद मेजर दुर्गा मल्लको जन्मजयन्तीको अवसरमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।

केन्द्रिय मन्त्री किरण रिजिजुले शहीद मेजर मल्ललाई श्रद्धाञ्जली अर्पण गर्दै गरेको ट्विट।

सोमबार गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘1 जुलाई 1913-मा उत्तराखण्डको डोहिवाला देहरादुनमा जन्मेका गोर्खा शहीद मेजर दुर्गा मल्लले हाम्रो देशलाई स्वतन्त्रता प्रदान गर्न दिएको योगदान आज स्वाधीन भारतको इतिहासमा स्वर्णाक्षरमा लेखिएको छ।’

उनले भारतको स्वाधीनता आन्दोलनका पहिलो गोर्खा शहीद मेजर दुर्गा मल्ल गोर्खा समुदायका लागि मात्र पुज्यनीय नभएर, राष्ट्र र राष्ट्रहितका लागि गोर्खा समुदायलाई समर्पित गराउने महान् प्रेरणा स्रोत पनि बताएका छन्।

विमल गुरुङ।

‘आज उनको जन्मतिथिमा म, देशको स्वाधीनताको निम्ति शहीद बनेका सबै गोर्खा शहीदलाई पनि स्मरण गर्न चाहन्छु| भारतको एकता, अखण्डता र सम्प्रभुताको निम्ति गोर्खा जातिको त्याग बलिदान अनि राष्ट्रप्रेम हिजो पनि प्रगाड़ थियो, आज पनि छ अनि भोलि पनि रहिरहने छ’, विमलले भनेका छन्, ‘इतिहासदेखि आजसम्म गोर्खाले देशलाई दिँदै आएको छ।  अब देशले गोर्खालाई गोर्खा समर्पणको कदर गरेर दिने पालो आएको छ| जुन दिन देशले गोर्खाको निम्ति देशभित्रै आफ्नै चारकुने आँगन गोर्खाल्याण्ड प्रदान गर्छ। हाम्रो राजनीतिक समस्याको स्थायी समाधान गर्छ। त्यस दिन मात्र देश हितमा प्राणको बलिदान दिने महान शहीदहरूको साँचो कदर हुनेछ|’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here