
दार्जीलिङ, १ जुलाईः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ टाउन कमिटीलाई आजदेखि पूर्णरूपले विघटन गरिएको घोषणा गरेको छ।
विनयपन्थी मोर्चा महासचिव अनित थापाले पार्टी अध्यक्ष विनय तामाङसित सर-सल्लाह गरेरै दार्जीलिङ टाउन कमिटीलाई विघटन गरेको बताएका छन्, जसलाई पुनर्गठन नगरिएसम्म दावा साङ्गेलाई टाउन कमिटीका संयोजक पदमा नियुक्त गरिएको पनि थापाले बताए।
दार्जीलिङ टाउन कमिटीलाई विघटन गर्नुको मूल कारण स्पष्टरूपले बताउन नचाहे पनि पार्टीलाई अझै सङ्गठित अनि दह्रो बनाउने उद्देश्यले नै टाउन कमिटीलाई विघटन गरिएको बताए।
यसका साथै उनले दार्जीलिङलाई असल मार्गमा अघि बढ़ाउनका लागि भिजन दार्जीलिङ कमिटीको पनि गठन गर्ने पार्टीले योजना बनाएको अनि यस कमिटीमा दार्जीलिङलाई माया गर्ने साहित्यकार, बुद्धिजीवीवर्ग, शिक्षकहरूका साथै सचेत नागरिकहरूलाई पनि सामेल गरिने बताए।
“दार्जीलिङलाई राम्रो बनाउनका लागि यहाँका जागरूक नागरिकहरू नै अघि आउनुपर्छ, यसैले दार्जीलिङलाई सबै क्षेत्रमा नै असल बनाउने दिशामा पार्टीले कार्य गर्ने सोच बनाएको छ’’, उनले थपे, “हामी सबै मिलेर कार्य गऱ्यौं भने दार्जीलिङलाई राम्रो बनाउन सक्नेछौं।’’


