दार्जीलिङ, 1 अगस्त : दार्जीलिङ पहाड़मा फुटबलको गरिमा फर्काइल्याउनका लागि अबउसो गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनले पहल गर्ने निधो गरेको छ। बिहीबार जीटीएका प्रशासक अनित थापाले यसै विषयमा फुटबलसँग जड़ित विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूसँग बैठक गरे। जीटीएको मुख्यालय लालकोठीमा सम्पन्न बैठकमा पहाड़मा फुटबल विकासका लागि विशद् चर्चा परिचर्चा गरिएको बताइएको छ।
विशेषगरी शिक्षाको क्षेत्रमा चर्चित दार्जीलिङ पहाड़ फुटबल जगतमा उत्तिकै चर्चित रहेकोले पहाड़को फुटबल गरिमा पुनः फर्काइल्याउनका लागि सबै एकमत भएका थिए। बैठकमा अबउसो एकजुट भई दार्जीलिङले गुमाएको फुटबल गरिमालाई फर्काइल्याउने सबैले निधो गरे।
साथै जीटीएले यो वर्षदेखि वार्षिक फुटबल क्यालेन्डर बनाउने, जीटीए स्पोर्ट्स काउन्सिल बनाउनेलगायत दार्जीलिङ गोर्खा हिल फुटबल एसोसिएशनमा रोकिएको सदस्यता भोलिदेखि नै शुरु गर्ने र यसका लागि आउँदो ४ अगस्तको दिन जीडीएनएस हलमा सदस्यता अभियानलाई आधिकारिक रूपमा शुरु गर्ने निर्णय लिइएको थप बताइएको छ।
यसअवसरमा पहाड़का पूर्व फुटबल खेलाड़ीहरू पनि उपस्थित रहेको थप जनाइएको छ।