रिम्बिक, 1 अगस्तः रिम्बिक-लोधोमा समष्टिमा एकजना कोरोना सङ्क्रमित बनेका छन्। जानकारीका अनुसार कोरोना सङ्क्रमित पाइएका ती 48 वर्षीय व्यक्ति लोधोमा ग्राम पञ्चायत-दुईस्थित छोटा हट्टानिवासी हुन्।
लोधोमा थानाका पुलिस अधिकारीका अनुसार जुन व्यक्तिको शरीरमा कोरोना सङ्क्रमण पाइएको छ, ती व्यक्ति आफ्नी पत्नीको हत्याको दोषमा जलपाइगढ़ी संशोधनगृह (जेल)-मा आजीवन कारावासको सजाय भोगिरहेका थिए भने केही दिनअघि एक महिना एक महिनाको प्यारोलमा जेलमुक्त गरिएपछि घर आएका थिए।
उनको कोरोना टेस्ट हिजो पोजिटिभ आएको हो भने आज उपचारका लागि सिलगढ़ी लगिने जानकारी पाइएको छ।
अर्कोतिर उनका परिवारलाई क्वारेन्टाइन राखिएको पनि बताइएको छ। उल्लेखनीय छ, रिम्बिक-लोधोमा समष्टिमा कोरोना भाइरसका यो दोस्रो मामिला हो।
यसभन्दा अघि पछिल्लो 20 जूनका दिन दिल्लीबाट फर्केकी लोधोमा लाम्पती गाउँनिवासी 22 वर्षीय युवतीको शरीरमा पनि कोरोना सङ्क्रमण पाइएको थियो। यद्यपि उनी केही दिनपछि नै स्वस्थ भएर घर फर्केकी थिइन्।