जीटीए क्षेत्रमा सात दिन बढ़्यो लकडाउन

0
1066
जीटीए बीओए अध्यक्ष अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 1 अगस्तः पहाड़मा कोरोना बढ़्दो कोरोना सङ्क्रमणलाई रोक्नका लागि जीटीए क्षेत्रमा थप एक साता लकडाउन बढ़ाइएको छ।

जीटीए बीओएका अध्यक्ष अनित थापाले आज यसबारे जानकारी गराएका छन्। थापाका अनुसार लकडाउनलाई लिएर आज जिल्लापाल, जीटीएका प्रमुख सचिव र उनीबीच एक बैठक सम्पन्न भएको थियो। त्यसै बैठकमा लकडाउनलाई थप एक साताका लागि बढ़ाउने निर्णय गरिएको हो।

जीटीए बीओएका अध्यक्षका अनुसार भोलि अर्थात् 2 अगस्तदेखि 8 अगस्तसम्म लकडाउन हुनेछ। उनले थप बताएअनुसार कालेबुङ, बजार, मिरिक बजार, खरसाङ बजार, सुकेपोखरी बजार, बिजनबारी बजार, पोख्रेबुङ बजारलगायत यसपालि सोनादा बजार, चिम्नी-देउराली पूर्ण लकडाउन घोषित क्षेत्र हुनेछन्।

यसैगरी अरू ससाना बजार क्षेत्रमा यदि सङ्क्रमणको सङ्ख्या पाइएको खण्डमा ती बजारहरूमा पूर्ण लकडाउन घोषणा गरिने उनले बताएका छन्।

यसका साथै लकडाउनका कारण धेरै समस्या झेल्न पर्ने भए तापनि यसलाई पूर्ण रूपमा पालन गरिदिने उनले जनतालाई आह्वान गरेका छन्।

‘जीटीए क्षेत्रमा अहिले पनि कोरोना सङ्क्रमणको सङ्ख्या अझ बढ़्दै जाँदैछ। दार्जीलिङ कालेबुङ र खरसाङ क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलिएर गइरहेको रिपोर्ट आउँदैछ’, थापाले थप भनेका छन्, ‘हिजो मात्र सोनादा छेउ पच्याङमा कोरोना सङ्क्रमणका कारण एकजना वृद्धको मृत्यु भएको छ। सङ्क्रमणको साथ साथै मृत्यु दरमा पनि वृद्धि भइरहेको छ।‘

जीटीए बीओएका अध्यक्ष अनित थापाले कोरोना भाइरसमाथि विजय प्राप्त गर्न सबै मिलेर विगत दिनहरूमा झै लड़ाइँ लड़्नुपर्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here