एसकेएम सरकारमा अहङ्कार र तानाशाली प्रवृत्ति बढ़्दैछः भाइचुङ भोटिया

1
943

गान्तोक, 1 अगस्तः हाम्रो सिक्किम पार्टी (एचएसपी) -का कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले आज (आइतबार) गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसकेएम सरकारमा अहङ्कार र तानाशाही प्रवृत्ति बढ़्दै गएको आरोप लगाए।

सरकारले विपक्षी र सरकारबाहिरका मानिसहरूका सल्लाह र सुझाउलाई सुन्नै छाड़ेर सुझाउ दिनेको उल्टै पुत्ला जलाउने काम गर्न थालेको बताएका छन्।

यति मात्र होइन राज्यमा कोविड व्यवस्थापनमा सरकार पूर्ण रूपले असफल भएको भाइचुङले आरोप लगाए।

कोविडलाई सही रूपमा व्यवस्थाप न गर्न नसक्दा आज राज्यमा 344 जनाले ज्यान गुमाउनु परेको, महामारीका कारण मानिसहरूलाई परिवार धान्न नसक्ने अवस्था सिर्जाना भएको तर सरकारले भने आर्थिक पुनर्उत्थान र जनताका लागि राहत दिने काम नै नगरेको आरोप लगाउँदै कोविडसम्बन्धित सबै डेटाले यसमा सरकार फेल भएको प्रष्ट भएको दावी गरे।

एक वर्ष अघि सिक्किममा कोविड महामारी प्रवेश गर्नअघि राष्ट्रिय मिडियामा सिक्किमको जति प्रशंसा थियो आज ठीक एक वर्षपछि यस महामारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा राष्ट्रियस्तरमा सिक्किमको त्यति नै आलोजना भइरहेको पनि उनको भनाइ छ।

पत्रकार सम्मेलनमा भाइचुङले एसकेएम सरकार कुनै पनि कार्यमा पारदर्शी नभएको आरोप लगाउँदै जनताले चाहेको ‘परिवर्तन’ वास्तवमा ‘पश्चताप’ साबित भएको दावी गरे।

यसका साथै सुधारको अवसर रहेकाले रहल कार्यकालमा जनपक्षीय र जनतालाई चुनाउ अघि दिएका वचनअनुरुप काम गरी सरकारले भुल सुधार गरोस् भन्ने सल्लाह पनि उनले दिएका छन्।

एसकेएम पार्टीले चुनाउ अघि घोषणा-पत्रमा जनतालाई दिएका वचन र नाम्चीमा निर्माणाधीन 580 करोड़को अस्पतालमाथि आफ्नो ध्यान केन्द्रित गराएका थिए।

“कोविड महामारीको दोस्रो लहर सिक्किमका लागि घातक साबित भएको समयमा नाम्चीमा किन 580 करोड़ रुपियाँ खर्च गरी नयाँ अस्पताल निर्माणको आवश्यकता पर्‍यो?”उनले सरकार समक्ष सोझो प्रश्न राखे।

यति ठूलो रकम खर्च गरेर नयाँ अस्पताल निर्माण शुरु गर्नुभन्दा वर्तमान स्वास्थ्य पूर्वाधारलाई विस्तार र बढ़ोत्तरी गरेर कोविडबाट जनताको ज्यान जोगाउने कामलाई प्राथमिकता दिनुपर्थ्यो भन्ने भाइचुङको अड़ान थियो।

नाम्चीमा 300 पलङको नयाँ अस्पताल निर्माण परियोजना एसडीएफ सरकारले तयार पारेको भए पनि पहिलो पहिलेको परियोजनालाई रद्द गरिनु, परियोजना लागतलाई बढ़ाएर 580 करोड़ बनाउनु, परियोजना स्थललाई बद्ली गरी भइरहेको खेल मैदानलाई मास्नुका पछिल्तिर धेरै शङ्का-उपशङ्का गर्ने ठाउँ रहेको छ भन्दै भाइचुङ भोटियाले यसमा 50 देखि 60 करोड़ रुपियाँको धाँधली हुनसक्ने अनुमान रहेको बताए।

बढ्दो शहरीकरणको अवस्थामा सिङ्गिथाङ खेल मैदानमा अस्पताल निर्माण गराउने पहल पनि सरकारको भविष्यमुखी पहल नभएको आरोप लगाए।

यसबाहेक दक्षिण र पश्चिम जिल्लाका लागि भनेर निर्माण गरिने यस अस्पतालले पश्चिम जिल्लाका मानिसहरूलाई सुविधा दिनेछ भन्ने कुरामा पनि उनले शङ्का व्यक्त गरे।

यसका साथै महामारी कालमा नाम्चीमा नयाँ अस्पताल निर्माण कार्य, सोरेङमा-च्याखुङमा निर्माणाधीन सेन्टर अव् एक्सिलेन्स, विद्यार्थीलाई स्मार्ट टिभी वितरण मुख्यमन्त्री गरीब आवास योजनाका घर निर्माणमा लागत बढ़ोत्तरी आदिले यी कार्यमा भ्रष्टाचारको गन्ध रहेको सङ्केत दिँदै सिक्किममा कमिशन र पर्सेन्टेजको राजनीति बन्द हुनुपर्ने बताए।

अर्कोतर्फ उनले राज्य सरकारसित अझ पनि समय रहेकाले भुल सुधार गर्न र सिक्किमेली जनतालाई दिएका वचन पूरा गर्ने सुझाउ पनि दिए।

यसैगरी कोविड महामारीका क्रममा सरकारपक्षबाट व्यापक राजनीति भएको र विपक्षीलाई जनसेवा अवसर नदिएको आरोप लगाउँदै उनले सिक्किमका जनताले ‘अब चोखो डाक्टर होइन तर चोखो नेता खोज्ने समय आएको’ बताए।

भोटियाले सिक्किममा जनपक्षका मुद्दा र जनताको सुरक्षा विषयलाई लिएर विपक्षी नेता, राजनीतिक व्यक्ति, गैरसरकारी सङ्गठनलाई आफ्नो आवाज बुलन्द गर्ने आग्रह पनि गरे।

जनचासोका विषयलाई लिएर पार्टीले चाँड़ै राज्यपालसित भेट गर्ने साथै विपक्षी नेताहरूसित पनि चर्चाको पहल शुरू गर्ने भाइचुङले बताए।

“हाम्रो पार्टीका लागि चौकी र सत्ता होइन; सिक्किमको हित र सुरक्षा प्रमुख मुद्दा हो”, हाम्रो सिक्किम पार्टीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले भने।

1 टिप्पणी

  1. आदरणीय शरद सरको लेख जनसंवादमा पढ्न पाएर आनन्द लाग्यो। जनसंवादले सरका अन्य विशिष्ट लेखहरु पनि समावेश गरिदिने अनुरोध छ, ती लेखहरु व्यापक रूपमा पाठकवर्ग समक्ष पुग्नुपर्दछ। बधाईसहित 🙏

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here