
गान्तोक, १ अगस्तः नेपाली साहित्य परिषद् सिक्किमले यस वर्ष डुवर्स बाग्राकोटका प्रख्यात मूर्तिकार अमिर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
यो घोषणा आज (शुक्रवार) गरिएको हो ।
नेपाली साहित्य परिषद्का अनुसार आउँदो २० अगस्तका दिन ३४औँ भाषा मान्यता दिवसका अवसरमा आयोजित भाषा सम्मान कार्यक्रमबिच मूर्तिकार अमिर सुन्दासलाई यो पुरस्कार अर्पण गरिनेछ ।
परिषद्ले प्रदान गर्ने यो राष्ट्रिय स्तरको पुरस्कार हो ।
३१ जुलाई १९७६ मा बाग्राकोट चियाबारीमा जन्मेका बहुप्रतिभाशाली अमिर सुन्दासले सयौँ मूर्ति बनाइसकेका छन् ।
सुरुमा चित्रकारितामा ख्याति कमाएका उनले २०१२ मा साहित्यकार बद्री नारायण प्रधानको अर्धकदको मूर्ति बनाएपछि चर्चा पाएका हुन् । अहिले उनले मूर्तिकलामा नै प्रसिद्धि पाइसकेका छन् । मूर्तिकलामै रमाइरहेका छन् ।
‘अमिर सुन्दासले बनाएका मूर्ति जीवन्त हुन्छन् । उनले अहिलेसम्म बनाएका मूर्ति एकभन्दा एक राम्रा छन्’, साहित्यकार ज्ञानेन्द्र खतिवडा भन्छन् – ‘अमिर सुन्दासलाई मूर्तिकारका रूपमा पाउनु हाम्रो जातिकै अहोभाग्य हो ।’
चित्रकार-मूर्तिकार अमिर सुन्दासको रुचि साहित्य र सङ्गीतमा पनि उत्तिकै धेरै छ । समाज र जातिप्रति सधैँ चिन्तना गरिबस्ने उनले केही कथा गीत र बालगीत पनि लेखेका छन् ।