दार्जीलिङ, १ सेप्टेम्बर : राष्ट्रिय नागरिक पञ्जीकरणबाट १ लाखभन्दा बढ़ी गोर्खा छुटेको कुरालाई दार्जीलिङका सांसद राजु विष्टले अफवाह र निराधार बताएका छन्। आइतवार एक प्रेस विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यो आँकड़ा केही मानिसहरूको शुद्ध अनुमान मात्र हो। केही दिनपछि जब हाम्रा हातमा आधिकारिक आँकड़ा हातमा परेपछि मात्र हामी एनआरसीबाट यति गोर्खा छुटिए भनी तथ्यसँग भन्नसक्छौं।’
आफूले असमको स्थितिलाई नजिकबाट हेरिरहे तथा असम र दिल्लीमा पार्टीका नेतृत्वहरूलगायत असमेली गोर्खाहरूको सुरक्षा र कल्याणका लागि कार्य गर्दै आएका त्यहाँका सबै सङ्घ-संस्थाहरूसँग सम्पर्कमा रहेको पनि विष्टले बताएका छन्।
‘केही राजनीतिक फाइदाका लागि हाम्रा मानिसहरू दिग्भ्रमित पार्न केही राजनीतिक दलहरूले गलत सूचना फैलाइरहेका छन्’, उनले विज्ञप्तिमा थप भनेका छन्, ‘जुन मानिसहरूले गोर्खाहरूको भविष्य खतरामा पारे, ती मानिसहरूले अहिले दार्जीलिङ पहाड़, तराई र डुवर्समा आज असममा जस्तै स्थिति सिर्जना गर्ने कोशिश गर्दैछन्। यो विषयमा राजनीति नगरियोस् भन्ने मेरो अनुरोध छ।’
सांसद विष्टले विज्ञप्तिमा लोकसभा चुनाउ प्रचारका लागि कालेबुङ आएका तत्कालीन भाजपा अध्यक्ष (अहिले गृहमन्त्री) अमित शाहले एनआरसीमा गोर्खा समुदायको सुरक्षाबारे दिएको बयानलाई पनि उल्लेख गरेका छन्। ‘कालेबुङमा यसै वर्षको शुरुमा गृह मन्त्री अमित शाहले गोर्खा समुदाय कुनै पनि मूल्यमा सुरक्षित रहने आश्वासन दिएका थिए। यसैले हामीले यसमाथि चिन्ता गर्नुपर्ने कुनै कारण छैन’, विष्टले भनेका छन्, ‘असमका मुख्यमन्त्री सर्वानन्द सोनोवाल र पूर्व गृहमन्त्री राजनाथ सिंहले पनि एनआरसीलाई लिएर गोर्खाहरूले चिन्ता गर्नुपर्ने कुनै कुरा नरहेको आश्वासन दिएका छन्।’
उनका अनुसार सर्वोच्च न्यायालयको कठोर निगरानीअन्तर्गत असममा एनआरसी लागू भइरहेकोले एनआरसीबाट छोड़िएका साँचो भारतीय नागरिकहरूलाई पुनः आवदेन गर्न पर्याप्त अवसर र समय दिइनेछ।
सबैलाई आधिकारिक तथ्यका लागि उचित जानकारीको प्रतीक्षा गरिदिने अनुरोध गर्दै अनुमानका आधारमा बयानबाजी गरिँदा मानिसहरूमा भ्रम र आतङ्क फैलिने बताएका छन्।
एन० आर० सी० मा संसोधन ल्याउन जरुरी छ।