बिष्टद्वारा संसदीय पुस्तकालयमा नेपाली पुस्तकहरूको सञ्चयनको प्रयास

0
1001

दार्जीलिङ, 1 सेप्टेम्बरः  सांसद राजु बिष्टले संसदीय पुस्तकालयमा नेपाली भाषा-साहित्य र संस्कृतिसम्बन्धी पुस्तकहरूको सञ्चयनको प्रयास शुरू गरेका छन्।

विशेषगरी उनले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सलगायत सिक्किम र उत्तर पूर्व क्षेत्रका साहित्यलगायत अन्य पुस्तकहरू संसदीय पुस्तकालयमा राख्न र सङ्ग्रहीत गर्नका लागि अनुरोध गरेका छन्।

यसै सम्बन्धमा सांसदले आज लोकसभा अध्यक्षसँग भेटवार्ता गरेका थिए।

यस भेटवार्ता अवधि आफूले लोकसभा अध्यक्षलाई नेपाली भाषा भारतभरि छरिएर बसेका डेढ़ करोड़भन्दा बढ़ी भारतीय गोर्खा नागरिकहरूको भाषा,  भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त भारतका 22 भाषामध्ये एक हुँदाहुँदै पनि नेपाली साहित्य एवं संस्कृतिसम्बन्धी पुस्तकहरूको संसदीय पुस्तकालयमा यथोचित प्रतिनिधित्व नभएको अवस्थाबारे जानकारी गराएको सांसदले बताएका छन्।

यसैबीच लोकसभा अध्यक्ष ओम बिड़लाले दार्जीलिङ, तराई अनि डुवर्स क्षेत्रबाट प्रकाशित पुस्तकहरूलाई यथाशीघ्र संसदीय पुस्तकालयमा समावेश गराउने निर्देश जारी गर्ने आश्वासन दिएको पनि सांसद राजु बिष्टले बताएका छन्।

“हाम्रो राष्ट्रको ऐतिहासिक एवं वर्तमान अभिलेखहरूको भण्डारको रूपमा संसदीय पुस्तकालय ज्ञान र जानकारीहरूको एउटा ढुकुटी हो। यसबाट भारतका नागरिकहरूले मात्रै नभएर, अन्तर्राष्ट्रिय विद्वानहरूले समेत लाभ उठाउँछन्”, बिष्टले विज्ञप्तिमा भनेका छन्, “तर, दुःखको कुरा के छ भने हाम्रो क्षेत्रका समाज, इतिहास, साहित्य, संस्कृति तथा परम्पराको महत्त्वलाई राष्ट्रव्यापी रूपमा राम्ररी बुझेको छैन। जागरूकताको यो कमीले हाम्रो क्षेत्रलाई अवसरहरूबाट वञ्चित गरेको छ। अनि लामो समयदेखि हाम्रा जनता र संस्कृतिको विविधताले राष्ट्रिय परिदृश्यमा उपयुक्त चिह्नारी पाइरहेका छैनन्।”

यसैले दार्जीलिङ पहाड़, तराई, र डुवर्स पर्यटनस्थल र चिया उद्योगका कारण लोकप्रिय भए तापनि विकास, शिक्षा, र आर्थिक विकासको हिसाबका दृष्टिले भने राष्ट्रका बाँकी भागको तुलनामा अझै पनि पछाड़िएको उनको भनाइ छ।

“पुस्तक र साहित्य, बौद्धिक आदान-प्रदान एवं परस्पर समझदारी विकसित गर्ने तथा देशका नागरिकहरूमाझ हाम्रो राष्ट्रको समृद्ध संस्कृतिबारे जागरुकता फैलाउने महत्त्वपूर्ण माध्यम भएकाले मैले संसदीय पुस्तकालयमा राख्नका लागि दार्जीलिङ पहाड़, तराई अनि डुवर्स, सिक्किम तथा उत्तर-पूर्व क्षेत्रका पुस्तकहरूको सुझाउ दिएको छ”, बिष्टले भनेका छन्, “साहित्य एक यस्तो सांस्कृति धागो हो, जसले समुदाय, धर्म र राष्ट्रलाई एकसूत्रमा बाँध्दछ। भाषा र साहित्यले हाम्रा युवाहरूलाई जरासँग जोड़्दछ। र हाम्रो भाषा संरक्षणका लागि हामीले हाम्रा साहित्य र संस्कृतिको संरक्षण गर्नु पर्दछ।”

अर्कोतिर,  क्षेत्रका दिग्गज विद्वान् एवं लेखकहरूसँग सम्पर्क गरी यस क्षेत्र र जनताको प्रतिनिधित्व गर्ने करिब 400 पुस्तकको सूची तयार गर्न सफल बनेको र त्यस सूचीमा 260 पुस्तक नेपाली भाषाका रहेको पनि सांसदले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here