सिक्किम प्रवेश गर्नेहरूका लागि निर्देशिका जारी

0
1028

गान्तोक, 1 सेप्टेम्बरः राज्य बाहिरबाट सिक्किम प्रवेश गर्ने सम्बन्धमा सरकारले ताजा निर्देशिका जारी गरेको छ।

सिक्किमका स्थायी बासिन्दा, सिक्किममा घर भएकाहरू अनि पछिल्ला दुई वर्षदेखि घरभाड़ामा बस्दै आएकाहरू, जो राज्यबाहिर छन् भने उनीहरूलाई सिक्किम आउने अनुमति प्रदान गरिएको छ।  यद्यपि सबैले राज्य सरकारको state covid-19 portal-मा पञ्जीकरण गर्नु र क्वारेन्टाइन बस्न अनिवार्य छ।

उनीहरूका घरमा अलग्गै क्वारेन्टाइन बस्नसक्ने सुविधा छ या छैन भन्ने विषयमा जिल्ला प्रशासनले जाँच गरेपछि मात्र होम क्वारेन्टाइनको अनुमति दिइनेछ। यस्तो सुविधा नरहेको खण्डमा उनीहरूले पेड वा फेसिलिटी क्वारेन्टाइनमा बस्नुपर्नेछ।

यसैगरी अन्य राज्यहरूबाट आउने मजदुर र श्रमिकहरूलाई भने उनीहरूको रोजगार प्रदान गर्ने कम्पनी, ठेकदार या व्यापारीहरूले आवेदन गर्नुपर्ने तथा श्रमिकहरूलाई क्वारेन्टाइनको सुविधा अनि खर्च सम्बन्धित कम्पनीले गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

दुई-चार दिनका लागि मात्र व्यापार, आधिकारिक अनि अन्य जरुरी कामविशेषले सिक्किम आउन चाहनेहरूलाई पनि अनुमति दिइएको छ। तर, उनीहरूले राज्य सरकारको पोर्टलमा पञ्जीकरण भने गर्नैपर्छ। सिक्किम आउने यस्ता मानिसहरूलाई सीधै सम्बन्धित क्वारेन्टाइनमा पठाइने अनि 48 घण्टाभित्र उनीहरूको आर.टी.पी.सी.आर. जाँच गरिने निर्देशिकामा उल्लेख छ।

क्वारेन्टाइन सुविधाका लागि  प्रतिकोठा दुई हजार रुपियाँ अनि कोठा साझा गरेको खण्डमा (sharing basis) -मा एक हजार तथा आर.टी.पी.सी.आर. जाँचका लागि 3500 रुपियाँ निर्धारण गरिएको छ। यी जम्मै खर्च उनीहरू स्वयंले वहन गर्नुपर्नेछ।

यसैगरी उनीहरूले नजिकैको एयरपोर्ट वा रेलवे स्टेशनबाट लिएर आएको गाड़ी त्यसैदिन राज्यबाट फर्कनुपर्नेछ।

अर्कोतिर, सिक्किम पस्ने दुई प्रवेशद्वार रम्फू र मल्लीमा 1 सेप्टेम्बरदेखि रेपिड एन्टिजेन टेस्टिङ बन्द गरिने उल्लेख गरिएको छ।

यसैगरी तक्निकी समितिले दिएको सिफारिशअनुसार अबउसो केवल 11 दिनको क्वारेन्टाइन बस्नुपर्नेछ। क्वारेन्टाइन पूरा भएपछि कुनै जाँच नगरिने तर यसअवधि कुनै लक्षण देखा परे मात्र जाँच गरिने स्वास्थ्य विभागद्वारा जारी नयाँ दिशानिर्देशमा उल्लेख गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here