महिनाका कवि राजेन्द्र भण्डारी

0
379

कवि संवाद – डा. सञ्जय बान्तवा

कवि राजेन्द्र भण्डारी : परिचय

नेपाली साहित्यमा नयाँ युग र अभिव्यञ्जनामय काव्यधाराका कविका रूपमा कवि राजेन्द्र भण्डारीको प्रवेश भएको हो । उत्तर प्रयोगकाल (इ. सं. १९७५) अथवा आलोचनाकालको सुरुदेखि नै राजेन्द्र भण्डारीको काव्यलेखन सक्रिय रहेको छ । उनका काव्ययात्रा अद्यावधि अघि बढिरहेको छ । उनी भारतीय पृष्ठभूमिबाट रचिएको नेपाली कविता साहित्यका एकजना प्रतिनिधि कवि हुन् । नेपाली साहित्यका अघिल्ला प्रयोगवादी लेखनको समयमा देखापरेका जटिलता तथा सैद्धान्तिक सघनतालाई छिचोलेर सरल साथै सोद्देश्यमूलक शैलीलाई विकसित गराउनमा राजेन्द्र भण्डारीको अनन्य योगदान रहेको छ । परम्पराको निर्वाहसँगै काव्य संरचनालाई नवीनता दिनमा राजेन्द्र भण्डारी सचेतरहेका छन् । उनका कवितामा प्रयोगवादी प्रचेष्टा साथै आलोचनात्मक अभ्युद्देश्यपूर्ण अन्तर्दृष्टिको विकास भएको पाइन्छ ।

उनका हिउँदे यी चिसा रातका पर्दाहरूमा (इ. सं. १९७९), यी शब्दहरू : यी हरफहरू (इ. सं. १९८६), क्षर / अक्षर (इ. सं. १९९८), शब्दहरूको पुनर्वास (इ. सं. २०१०), प्वाँखहरू र आकाश (चयनित, इ. सं २०११) र इतिहासको बाडुली (इ. सं  २०१९) प्रकाशित छन् ।

पाँच प्रश्न

प्रश्न एक : कवितामा लक्षित दृष्टिकोण कसरी निर्माण गरिन्छ? कथक र दृष्टिकोणलाई विषयवृत्तबाट फरक राख्ने तत्त्व कुन कुन होलान्?

उत्तर : कवितामा दृष्टिकोण भन्नाले कविको अनुभूतितन्त्र नै हो। सबै कविको जीवन-जगत्-लाई हेर्ने दृष्टिकोण आ-आफ्नै हुन्छ । जीवनलाई, विभिन्न वस्तुस्थितिलाई, परिवेशलाई ग्रहण गर्ने कविको प्रवृत्तिबाटै दृष्टिकोण निर्माण हुन्छ । कवितामा कविको दृष्टिकोण चाहिँ गौण हुन्छ । आख्यानजस्तै कविता पनि कहिले प्रथम पुरुष कहिले तृतीय पुरुष दृष्टिविन्दुमा लेखिन्छ । यसैलाई दृष्टिकोण विन्दु भन्दा पनि हुन्छ । कथकले नै त्यहाँ प्रयुक्त दृष्टिविन्दुको माध्यमबाट कविता प्रस्तुत गर्दछ । अघि अघि रोमान्टिक लेखनकालमा कथकको व्यक्तित्त्व कवितामा प्रभुत्वशाली हुन्थ्यो । टी. एस. इलियटको वस्तुगत सहसम्बद्ध (Objective Correlative) – को सिद्धान्त अघि आएपछि यस्तो प्रवृत्ति कम हुँदै गयो । कम भयो, तर अहले पनि छँदैछ । इलियटले ‘कविता बेगवान् भावनाको उच्छलन होइन, तर त्यसबाट मुक्ति हो’ भनेपछि कवितामा कविको व्यक्तित्त्व गौण भयो । यसरी विषयवृत्तबाट कथक र दृष्टिकोण फरक हुन थाले । कविले द्रष्टासरह अलग्ग बसेर वस्तुस्थितिलाई बोध गर्ने यो प्रवृत्तिबाट नै कथ्यबाट कथक टाढा बस्दछ ।

प्रश्न दुई : हाइकु विधा हो कि शैली ? तपाईँका कविता लेखनसँग हाइकु, जेन दर्शन र ताओवादका सन्दर्भलाई मिसाएर चर्चा-परिचर्चा गरिन्छन् । यिनमा तपाईंका संलग्न र प्रतिबद्धताबारे जान्न चाहन्छौँ ।

उत्तर – मूल रूपले हाइकु कविताको एउटा प्रकार हो । सुरुसुरुमा हाइकुका निर्दिष्ट नियम थिए । तीन लाइन हुनैपर्ने, वर्णक्रम ५-७-५-ले १७ अक्षर हुनैपर्ने, प्रकृतिको स्थूल वा सूक्ष्म रूपको वर्णन हुनैपर्ने, ऋतु वा प्रकृतिसँग मानवीय सम्बन्ध हुनैपर्ने । पछिपछि यी नियमहरू खकुला बनाइए । ओकिउयामा ग्वाइनको सुनाखरी उपन्यासको भूमिकामा केशरबहादुर लिम्बूले जेनबारे चर्चा गरेका छन् । जेनबारे मेरो सामान्य रुचिलाई यो भूमिकाले तीव्र बनाइदियो । मैले मन लाएर जेन पढ्न थालेँ । डी.टी. सुजुकी, क्रिसमस हम्फ्रे, एलन वाट्स, थिक-ना-हान, सुमेधो आदिका किताब पढेँ। बाशोका कवितामा गोता लाएँ ।

जेनले मलाई बाँच्ने सामल मात्र दिएन, कविताको उत्प्रेरणा पनि

दियो । हाइकु कविताहरू पढेँ। मलाई नेपालीमा हाइकु भन्न ठिक लागेन र तीन हरफे कविता भनेँ । जापानी भाषा त तानात्मक भाषा (Tonal Language) हो । तानात्मक भाषामा अक्षर गनेर लेख्नु अनुकूल पर्छ । यो अयोगात्मक भाषा हो ।

यस भाषामा थोरै शब्दमा धेरै अर्थ अट्छ । यो निरवयव र स्थानप्रधान पनि भएकाले यसको भाषिक विशेषता नेपालीमा पाइँदैन। खोज्नु पनि हुँदैन । नेपाली भाषा योगात्मक बहिर्मुखी श्लिष्ट भाषा हो । यसका आफ्नै विशेषता छन् । नेपालीमा अक्षर गरेर हाइकु नाम दिनु मलाई अयुक्तिसङ्गत लागेकाले नै मैले तीन हरफे कविता भनेको हुँ । हाइकुको प्रेरणा भने छँदैछ। साङ्केतिकता, अल्पकथनको मिठास, चित्रात्मकता र रहस्यात्मकता मैले हाइकुबाट लिनचाहेका थोकहरू हुन्।

प्रश्न तीन –  कवितामा गाउँका सन्दर्भलाई पर्यावरण चेतना जगाउनका लागि हो कि शाश्वत मानवीय समूहको आद्यचिन्तन चिनाउनका लागि प्रयोग गरिएका हुन् ?

उत्तरः कवितामा गाउँ आउन थालेको भर्खरैदेखि होइन । रोमान्टिककालदेखि नै नेपाली कवितामा गाउँ सुसज्जित छ। नेपालीभाषीहरूको अवचेतनमै गाउँ छ । देवकोटाको गाइन् तिनले घँसिया गीत, माधवप्रसाद घिमिरेका बैशाख, नेपाली वीर, सिद्धिचरणका अनेकौँ कविता, युद्धप्रसाद मिश्र, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल र अहिलेका अनेकौँ कवितामा गाउँको सन्दर्भ छ । भिर-पखेरा, कछार – मधेश, लेक-बेँसीतिर खेतीकिसानी गर्दै, गाईवस्तु चराउँदै हुर्किएको नेपालीभाषी जातिका कवितामा गाउँ आउनु स्वाभाविकै हो । झन् अहिले बढ्दो सहरीकरणले, प्रदूषणले गाउँको महत्त्व बढेको छ । यो खस्किँदो मानवीयताको चिन्ता पनि हो । गाउँमा अझै मानवता निकै बाँचेको पाइन्छ । यसैले कवितामा गाउँका सन्दर्भहरू यी सबै कारणले बढ्दै गएको हो।

प्रश्न चार- कविता रचना गर्दा कविले स्थूल जडको हेत्वाभास मात्र कि सूक्ष्म सांस्कृतिक अनुभवको अन्तर्पाठलाई ध्यान दिनुपर्छ ?

उत्तरः कविता रच्दा कविले के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने निर्देशन गर्न सकिन्छ र ? हजारौँ कविका हजार थरी

चेतना, हजार थरी शैली, हजार थरी जीवनबोध हुन्छन् । जीवन र जगत्-का जुनसुकै कुरा लेख्न पनि कविलाई छुट हुन्छ जस्तो लाग्छ । यो प्रत्येक कविको आ-आफ्नो विचारमा भर पर्दछ जस्तो लाग्छ।

प्रश्न पाँच – कवितामा जैविक र आनुभूत्य भौतिकताका यादृच्छिक रूपक कि अधिपाठ निर्माण गर्दा ती आजका जीवन सम्मुख उभिएलान् ?

कविका रूपकहरू यादृच्छिक नै हुन्छन् । आजका जीवन भन्नाले कसको जीवन बुझ्नुपर्ने हो ? आफ्नो जीवनानुभूतिको अभिव्यक्तिसित कवि जति इमान्दार हुन्छ उति ऊ हरदर भाषाप्रयोगदेखि टाढा हुन्छ । जति जति हरदर जनजीवनबोध्य अभिव्यक्तिप्रति इमान्दार हुन्छ उसको कविता उति नै अनुभूतिनिष्ठताबाट टाढा हुन्छ ।

राजेन्द्र भण्डारीका तीन कविता

१. वार्द्धक्यलाई स्वागत

कति भत्काएँ होला तिमीलाई ।

कति चर्काएँ होला ।

तर पनि

यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा

धन्यवाद तिमीलाई

ए ! शरीर ।

चश्माको बढेको अङ्क,

चढेको रक्तचाप,

पिँडुलाको थकान,

दुईचार बिमार

अधकल्चो जीवन ज्ञान ।

यिनै त हुन् मेरो घरभाडाका रसिद ।

जोगाएर राखेकै छु ।

अब त

घर सफा नगरी भा’छैन ।

मिल्काउनु छ

पुराना कागजात/चिट्ठीपत्र/डायरी ।

थोत्रा लुगा,

नखाएका दबाई,

सड्न लागेका सपना,

विचारको जङ्गल ।

र केही अटेरी इच्छाहरू ।

२. धामीको रडारमा गाउँ

क्यामेराको ठिक सामुन्ने

बिरुवा रोप्दै ङिच्च हाँस्यो मन्त्री ।

र अलिक परको चौरमा

बहुराष्ट्रिय कम्पनीको शिलान्यासमा

नरिवल फुटायो ।

ठिक यसै बेलादेखि  हो गाउँमा

अलच्छिन पसेको ।

तिर्तिरे धारो सुक्यो ।

नागपूजा गर्न छोडेनन् तर गाउँलेहरूले ।

गाउँमा लच्छिन बोलाउँदै चारै सुर बाँधी

जोगीले फेरी फुक्यो ।

देउराली भाक्यो ।

बलवान् जागित्रहरू छाप्छाप्ती भए

देवीथान/पञ्चायत भवन,

प्राइमरी स्कुल जताततै ।

मध्यरातमा पिपलफेदीमा नाचे

नाङ्गैभुतुङ्गै बोक्सीहरू ।

जूनको उज्यालोमा उनीहरूको शरीर

चाँदीझैँ  टल्कियो ।

छहरामा नुहाए ।

जुनेलीमा हाँसे ।

कानचिरुवा धामी

जिउमा मसान जगाएर मधौरूछेउ उफ्रियो ।

उसको सेतो गाउन र काठका कुण्डलमा

गाउँको जोखाना आयो खुटैखुट ।

धामीको रडारमा आए

परिचित बोक्सीका चालढालहरू ।

लमतन्न सुतेको बिमारीलाई थाहै थिएन

धामी र बोक्सीको गठबन्धन ।

३. ट्याटु

स्वर्गबाट झरेर

जब केही बथान परेवाका बच्चा

बास बसेका थिए उसको शरीरमा

सडकमा प्रश्नवाचक चिह्न बनेर ऊ

उड्न लागेकी थिई ।

जब ती परेवाहरू फड्फडाउन थाले

ढकमक्क

गुलाबको ट्याटु हानी उसले

देब्रे छातीमा ।

ऊ त्यही गुलाबजस्तै फक्रिन चाहन्थी।

आत्मीयताको लगानी लगाइरहेथे

तन्देरीहरू ।

लगानीलाई असुल्न चाहिरहेथे ।

जिउमा हर्मोनहरू झन्डा हल्लाइरहेथे ।

जुलुस निकालिरहेथे ।

ठिक, यसैबेला उसलाई लाग्यो

ऊ छलमा परेकी छ ।

प्रश्नप्रैश्नका भित्तामा ठोक्किन पुगेकी छ ।

ऊसँगसँगै घुम्न लागेका छन् काला छायाँहरू

खचाखच बसमा । अफिसको करिडोरमा । सपिङ मलमा।

आँखाहरू/साइनाहरू/आत्मीयताहरू

बारुदी सुरुङजस्तै लाग्न थाल्छ ।

अनि ऊ खोपाउँछे

नितम्बदेखि घिच्रोसम्म तनक्क

तन्किएको ड्रागन ।

ट्याटु

खोप्दाका चसचस घोचाइमा

ऊ रमाउँछे

कि इतिहासका बदनाम हरफहरूदेखि

अब ऊ बाहिर आइरहेकी छ ।

एउटा शरीर अब खुल्ला राजमार्गमा दगुरिरहेको छ ।

निस्किएको छ एउटा शरीर हरेक

छेकाबारहरू नाघेर ।

शरीरले अब आफ्नै व्याकरण

बोल्न लागेको छ ।

देब्रे पाखुरामा

प्रियको नाम खोपाएकी छ,

दाहिनेमा ॐ ।

रमाउनलाई देब्रेपाखुरा छ ।

उड्नलाई दाहिने ।

अस्तिदेखि हिजो

हिजोदेखि आज हुँदै

लम्किरहेकी छ ऊ भोलितिर ।

पृष्ठाङ्कन

नेपाली कविताको परम्परामा रोमान्टिक चरित्रको रूढ क्रमिकतालाई त्यागेर वैश्विक दृष्टि तथा प्रवृत्तिलाई परिचय गराउनप्रयोगकालीन लेखनले प्रयास गरेको छ । विश्व साहित्यमा बिसौँ शताब्दीको लेखन तथा साहित्यिक ग्रहणको औपचारिकताले समेत नयाँ चेतना र स्वरको सङ्क्रमणलाई अनुभव गर्न लागेको थियो । रूपवादपछि संरचनावाद साथै उत्तरसंरचनावादको क्रमिक विकासद्वारा साहित्य लेखनले अनेकौँ  दृष्टि, परिधि र सोपानको विस्तार गरिरहेको समय थियो । इ. सं. १९६० को दशकपछि सामाजिक, साहित्यिक तथा कलाको क्षेत्रमा उत्तरआधुनिककालीन वैशिष्ट्यका आवर्तनले विश्वका सम्पूर्ण पारम्परिक दृष्टिकोणलाई प्रभावित बनायो ।

कवितामा समकालीन लेखनले जीवन जगत्-लाई पारदर्शिता र त्वरित् अनौपचारिकतासित प्रतिभासित गराउने कार्य गऱ्यो । प्रयोगवादिताले कवितामा अवलम्बको स्थान ओगट्न पुग्यो अनि भाषिक वाक्य-चातुर्य्यले प्रतिमानलाई सर्वोपरि बनाएर साहित्यमा नवसंस्कृतिको विकास गरायो ।

नेपाली कविताको उत्तरप्रयोगकाल (इ. सं. १९७५) यही वैश्विक सन्दर्भबाट अछुत छैन । कवि राजेन्द्र भण्डारीको काव्यप्रणयन र भावभूमिमा यिनै प्रसङ्ग तथा प्रभाव क्रियाशील रहेको पाइन्छ ।

राजेन्द्र भण्डारीका कविता लेखनको स्वर र परिपाटी उनका समकालीन अन्य कविहरूका भन्दा अलिक बेग्लो छ । संरचनामा सरल देखिए तापनि तिनका अन्तर्वस्तु त्यति सहज छैनन् । काव्य विषयका रूपमा कविले चुनेका क्षेत्र वस्तुगत तथा भावगत कुन अवस्थाका हुन्, त्यो बुझ्न कठिन पर्दछ । भाषिक संस्कृतिको पृष्ठाधारसँग जेलिएर आएका कविताका विषय र उत्सले परम्परा नै पाठक अघि राखिदिँदछ अनि पाठक चेतनाले खोज्नुपर्दछ आफैँ कलाको सञ्जीवनी – कविता- प्रभाव । पाठक-ग्रहणका वैविध्य नै उनका कविताको संरचना हो । राजेन्द्र भण्डारीका कवितामा संरचनाका तह सिमोन ब्ल्याकबोर्नले ‘मानव संस्कृतिको अन्तर्सङ्गति’ -बारे भनेझैँ सतहमा मात्र क्रियाशील नभई आन्तरिक प्रतिभासको रूपमा सक्रिय रहन्छ ।

राजेन्द्र भण्डारीका कवितामा भाषाले सामाजिक सन्दर्भको वाग्धारा निर्माण गर्दछ । त्यसमा आलोचना, उदाहरण, व्यङ्ग्य र कथनको मौलिक आकर्षण उपलब्ध छ । उनका कविताका पाठमा मूल्यबोधको सङ्केत र कविताका सम्पूर्ण संरचना उपस्थित छैनन् । वास्तवमा रचनाको चरित्रमा पाइने विकास र त्यसका स्वरले संरचना अनि मूल्यको प्रवाहलाई निर्धारण गर्दछ भनेर संरचनावादी आलोचनाको पनि मान्यता रहेको छ । राजेन्द्र भण्डारीका कवितामा वाग्-विधान नै आवर्तक तत्त्व हो, जसद्वारा उनका कविता सदा नयाँ प्रभाव क्षेत्र र अनुपस्थित संरचनाको परिवृत्त लिएर उदाउँछ । भाषाभन्दा अघि नै कविता हुन्छ भन्ने कवि भण्डारीको विश्वास  बोल्दछ । तथापि कविता विचार, अवधारणा, सङ्कल्प, संज्ञान कतातिरबाट प्रतिसरित हुँदछ भन्ने आश्चर्यजनक दिशाको खोजीमा भद्रतासित अघि बढेका छन् राजेन्द्र भण्डारीका कवि ।

राजेन्द्र भण्डारीका कवितामा पाठले निर्माण गर्ने संरचनामा अवकास पनि मुख्य हो । देशकालको सातत्यमा कविताले अवकासलाई स्थानिक कालसँग लेख्दछ । नेपाली कवितामा अवकासलाई लेख्दा काल पनि सातत्यमा लेख्नसक्ने कवि पहिले वैरागी काइँलापछि राजेन्द्र भण्डारी अधिक सफल छन् । स्थान (अवकास) र काललाई सङ्कथन निर्माणका घटक मात्र नमानेर चेतना र मानसिक ऐक्यको विकसित पद्धतिसँग उपयोगी हुने अधिभाषिक चेत मान्दै राजेन्द्र भण्डारीले त्यही दिशातर्फ सक्रिय रूपमा पाठ निर्माण गरेका छन् । काव्यात्मकता निर्माणका लागि कवितामा प्रयुक्त अधिभाषिक चेतले पराख्यानमूलक उत्तरदायित्वलाई निर्वाह गर्दछ । राजेन्द्र भण्डारीका कवितामा पाठकले सम्पूर्ण अधिगृहीत अवकासलाई अनुभव गर्दछन् ।

राजेन्द्र भण्डारीका कवितामा अवलम्ब र प्रतिमानको वहुविध वृत्त साथै तरलता अनुभाव्य छन् । पराख्यानजन्य संरचनाले सृष्ट अवकासमा राजेन्द्र भण्डारीका कविताले अन्तर्पाठात्मक प्रभावद्वारा विषय र उद्देश्यलाई सम्बोधन गर्दछ । राजेन्द्र भण्डारीका कविले भाषा र पाठको अभिव्यक्तिगत क्षमतालाई छोएर राख्ने बल गरेको पाइन्छ । यिनका पार्श्वमा रहने अन्तर्पाठात्मकता, बहुमुखिता अनि अन्तर्सुनिश्चिततालाई पनि निर्वाह गर्दछ । राजेन्द्र भण्डारीका कवितामा मानवसंस्कृति र व्यवहारका सीमा, आद्यरूपीय तथा मानवशास्त्रीय  अध्ययनको प्रतिफलन, ज्ञान प्रवर्तनको भाष्य निर्माण गरिने जस्ता दिशा र विस्तार समेत पाइन्छन् ।

राजेन्द्र भण्डारीका उपलब्ध तीनवटा कविताका सतत वाचनपछि तिनका प्रभाव र प्रतिक्रियास्वरूप पाठकीय-भाष्य अतः चिन्हित छन् –

वार्द्धक्यलाई स्वागत : अस्तित्ववरण र निर्वासन

यस कविताको विषयवस्तु जैविक सत्ता हो कि भाव अथवा केवल जीवनबोध र चेतना हो ? प्रश्नार्थक छ।

                   कति भत्काएँ होला तिमीलाई

                   कति चर्काएँ होला!

                   तर पनि

                   यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा 

                   धन्यवाद तिमीलाई

                   ए ! शरीर।

‘भत्काएँ’, ‘चर्काएँ’, होला, संशयले यथार्थ र जैविकता बोध गराउँदछ । ‘यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमा’ भनेर ‘धन्यवाद’ भन्ने के हो ? शरीर जीवन : जीवन शरीर ? ‘धन्यवाद’ भन्नेले ‘शरीर’ -लाई सम्बोधन गर्दछ । शरीरधारी छ र उसले ‘मलाई’ बोध गर्दछ । ज्ञान छ भत्किएको, चर्किएको ; ‘तर पनि’-मा बोधगम्यताको तेस्रो-व्यक्ति दृष्टिकोण छ :  अस्तित्ववरणको प्रक्रियात्मक सौन्दर्य । शरीरलाई ‘धन्यवाद’; स्थूल र सूक्ष्मबिचको प्रामात्रिक सम्बन्ध द्योतन हुँदछ । ‘शरीर’ को अनुक्रममा नै प्राणवन्त चेतना र जैविकताको अस्तित्व अनुगमन हुँदछ । जीवनबोधको व्यक्तिक वृत्त बुझ्दछौँ, पहिले वर्णित शारीरिक असक्यताको सूची पढेर –

                   चश्माको बढेको अङ्क

                   चढेको रक्तचाप

                   पिँडुलाको थकान

                   दुईचार बिमार

यस कविताको संलिप्त अनुक्रमले चमत्कृतिसँगै कविता-प्रभावलाई अर्कैतिर फर्काउँदछ –

                   र

                   अधकल्चो जीवन ज्ञान

जीवनबोध, जीवन अथवा शरीरबोधको अनुभूतिजन्य अवस्थामा बसेर हुँदैन । जीवन ज्ञान र भावमा पनि अनुभाव्य छैन । ‘रक्तचाप’,‘थकान’, बिमार, आदिमा थाहा पाइने जीवन घरी स्पर्श्य छ घरी अस्तित्वमय जीवन व्यक्तिक छ; जीवन सामूहिक अनुभवमा छ । अनुभव ठोस र तरङ्ग दुवै पदार्थिक अवस्थामा छ ।

कविताको पाठले क्रमिक रूपमा भनेको छ –

                   यिनै त हुन् मेरो घरभाडाका रसिद ।

                   जोगाएर राखेकै छ ।

                   अब त

                   घर सफा नगरी भा’ छैन ।

                   मिल्काउनु छ

                   पुराना कागजात / चिट्ठीपत्र / डायरी ।

शरीरको पदार्थिकता र चेतना (आत्मा) -को तरङ्ग र तिनका प्रस्थानविन्दुले निर्माण गर्ने आस्तित्विक भ्रमको स्वीकारोक्ति । ‘जोगाएरराखेकैछु’ -मा जीवनको अवशेष र अस्तित्वको पुरातन अभिलेखको वार्तमानिक अन्तर्पाठ । जन्मौँको यात्रा जीवन हो । ‘घर सफा नगरी भा’छैन’ बोध, ग्रहण र स्वीकार हो –त्यजनीय शरीरपछिको मुक्त आत्मामय जीवन अपेक्षित छ । भाषिक परावर्त्य सम्बद्धक्रममा सुललित ‘मिल्काउनु छ’ पछिका पदावली जीवनबोधका अन्यतम निकटपदार्थ हुन् । ‘पुराना’, ‘कागजात’, ‘चिट्ठीपत्र’, ‘डायरी’ आदि नितान्त व्यक्तिगत र प्रियतम जीवनका सङ्कथनलाई द्योतन गर्ने रूपक आदि हुन् । जीवनको स्वीकरण र जीवनको यथाक्रम तथा स्थितिप्रति पनि समर्पित व्यक्तिको प्रस्थान विन्दुबाट जीवनको तरङ्ग निस्केर जाने प्रतीक्षा अभिव्यक्त छ ।

जैविकताको धरातलमाठोस ज्ञानद्वारा जीवनलाई बुझ्न व्यवाहारिक कार्यकारण लेखिएका छन्-

                   थोत्रा लुगा

                   नखाएका दबाई

                   सड्न लागेका सपना

                   विचारको जङ्गल

                   र केही अटेरी इच्छाहरू

‘थोत्रा लुगा’, ‘नखाएका दबाई’, आदिले अवश्यम्भावी भौतिकतालाई देखाउँछ ।‘विचारको जङ्गल’ सघन अन्तर्विरोध र द्वन्द्व हुन् । जीवनको परामार्थिक स्वरूपको चिन्तनलाई यस्ता जञ्जालले रोक्छन् । उक्त कवितांशका यी रूपकहरू असम्बद्धता र सान्दर्भिकताका चिह्न हुन्, जसले जीवनका भौतिक र अभौतिक यथार्थलाई प्रकट गराउँदछ ।

‘वार्द्धक्यलाई स्वागत’ कवितामा जीवन, अस्तित्व अथवा बोधको अनुभूति लेखन भएको छ । यो कविता भाव, अनुभव तथा जैविकता र चेतनालाई लेख्ने साहसिक दिशा तथा उदाहरण बनेको छ । मानव अस्तित्वको यथार्थ र बोधव्य ग्रहण तथा वरणसँगै अक्षुण्ण अलगावको अनुभूति लेखन कविको अनिर्वचनीय अवकास निर्माणकार्य सिद्ध छ । जीवनबाट असम्बद्ध रहेको बोध; जीवन-धारणासँग विकेन्द्रीकृत अनि जीवनको केन्द्रस्थ जैविकता तथा भावुकताबाट सधैँ किनारीकृत रहेको जीवनको चेतनाले आर्जन गरेको निर्वासनलाई यस कवितामा कविले खिपेर लेखेका छन् ।

धामीको रडारमा गाउँ : व्यक्ति, सामाजिकता र कविता

राजेन्द्र भण्डारीका कवितामा सामाजिकताका अनेकौँ तह र क्रम चलयामान रहेको पाइन्छ । गाउँ, समाज, राष्ट्र र मानिसमाझको सम्बन्धलाई कविले शिष्टतापूर्वक लेखेका छन् । उनका कवितामा काल र अवकासका क्रम जटिल हुँदैनन् । ती सरल रैखिक छन् । आख्यानात्मक संरचना निर्माण गरेर कविले कवितामा व्यवस्थाको समान्तर रूपक आदि नौला घटकलाई स्वतन्त्र बनाएका छन् ।

राजेन्द्र भण्डारीका कविता शैलीमा व्यङ्ग्यको गहिरो समान्तरिक व्यवस्था बनेको पाइन्छ । समाजको रूढि, राष्ट्रको सञ्चालनमा आग्रहित व्यवस्थाका विग्रहित स्थिति, मानसिका स्वअस्तित्व र तिनका अनुभव प्रतिका कटाक्ष आदिले कवितामा हास्य निर्माण नगरी घटनाका अधिपाठ बनाउँदै लैजान्छ । काव्यिक सौन्दर्य विधानमा व्यङ्ग्यले एककालिक र विन्यासक्रमिक उपकरण तथा अवस्थाको रूपमा मात्र नभएर बहुकालिक साथै सहचारिक अवकासका अन्तराल सिर्जना गर्दछ । उपलब्ध शीर्षककवितामा ‘धामी’ अवश्यम्भावी सङ्कटको निदानमा आग्रहित शब्दविम्ब हो र सुरक्षाको आशामा अनुविम्ब । ‘रडार’ शब्दले सङ्केत ग्रहण र सुरक्षा तन्त्र सुदृढ रूपमा निर्माण गर्ने ‘सतर्कता’-लाई अभिव्यङ्ग्य गर्दछ । ‘गाउँ’ लाई ‘रडार’ अन्तर्गत राखिएको छ । यस कविताको पाठले आर्थिक, राजनीतिक, सांस्कृतिक विडम्बना र पाखण्डको विवेच्य पूर्वप्रसङ्गलाई लक्षित गर्दछ।

समाजमा जाग्रत विडम्बना र सामाजिक चरित्रको रूढिलाई सर्वेक्षण गर्दै लेखिएको छ-

                   क्यामेराको ठिक सामुन्ने

                   बिरुवा रोप्दै ङिच्च हाँस्यो मन्त्री।

                   र अलिक परको चौरमा

                   बहुराष्ट्रिय कम्पनीको शिलान्यासमा

                   नरिवल फुट्यो।                 

‘बिरुवा रोप्दै’ मन्त्री (जनप्रतिनिधि) -ले जङ्गल विनाशक बहुराष्ट्रिय प्रकल्पलाई सहयोग दिएको सत्यले जङ्गल सकिँदा मानवीय इतिहास, संस्कृति र सभ्यताको विनाश हुने सङ्केत यहाँ लेखिएको छ । विरोधाभासपूर्ण राज्यव्यवस्था र चरित्रप्रति व्यङ्ग्यवाण प्रहार गरिएको छ ।

यस कवितामा पर्यावरण विनाशका पृष्ठाधारको प्रकाशन पनि भएको छ । अविनाश श्रेष्ठ, मनप्रसाद सुब्बाजस्ता समकालीन कवि तथा अघिल्लो काव्यसमयले निर्माण गरेको मोटिफ्, ‘पर्यावरण चेतना’ -लाई लिएर कवि राजेन्द्र भण्डारीले पनि काव्य रचना गरेका छन्-

                   ठिक यसै बेलादेखि हो गाउँमा

                   अलिच्छिन पसेको ।

                   तिर्तिरे धारो सुक्यो।

‘तिर्तिरे धारो’ -को अस्तित्व मेटिनका कारण ‘ठिक यसै बेलादेखि’ सामाजिक व्यवस्थाको पूर्वप्रसङ्ग र त्यसको गतिमान काल चेतनालाई लेखेर यस कविताले विद्रोहको रूपमा अभिव्यङ्ग्य गरेको छ । यसैको चेतनाको विन्यासले काव्यिक संरचनालाई अझ सघन र अवकासीय बनाउँदछ-

                   नागपूजा गर्न छोडेनन् तर गाउँलेहरूले।

                   गाउँमा लच्छिन बोलाउँदै चारै सुर बाँधी

                   जोगीले फेरि फुक्यो ।

                   देउराली भाक्यो ।

राज्यव्यवस्था, प्रशासन आदिको प्रतिकूल आर्थिक नीति, मानव संसाधन संरक्षणप्रतिको उदासीन नीति र राजनीतिक इच्छाशक्तिको विपरीत उठेको सामाजिक चेतनाको ऐक्यलाई लेखेर कविले मानव संस्कृतिको महत्त्वलाई स्पष्ट पारेका छन् । इन्डिया ग्रोज एट् नाइटको पद्यात्मक आख्यानात्मकता नै यस कविताको अन्तर्पाठ देखिन्छ ।

समाज व्यवस्थाको सरल र स्पष्ट चित्र तथा पारस्परिक परिवेशको अनुकूलता-प्रतिकूलतालाई पाठक मानसिकता अघि दृश्यबिम्बद्वारा प्रस्तुत गरिएका छन्-

                   बलवान, जागित्रहरू छाप्छाप्ती भए

                   देवीथान / पञ्चायत भव

                   प्राइमरी स्कुल जताततै ।

                   माध्यरातमा पिपल फेदीमा नाचे

                   नाङ्गै भुतुङ्गै बोक्सीहरू ।

छद्मवेशी शोषकहरू ‘बलवान’, ‘जागित्र’ रूपकमा आरोपित छन् । ‘छाप्छाप्ती’ विशेषणद्वारा अतिक्रमणलाई ध्वनित गराइएको छ । देवीनाथ (धार्मिक आस्था, निरपेक्षता), पञ्चायत भवन (जनशक्ति, जनाकाङ्क्षा आदि), प्राइमरी स्कुल (आधारभूत चेतना) आदि सामाजिक पक्षमा अतिक्रमण, गतिरोध र व्यवस्थाले देखाएको उदासीनतालाई स्पष्ट पार्न प्रयोग गरिएका पदावली हुन् । ‘मध्यरातमा पिपलफेदी’ -मा गराइने नग्न नृत्यले अन्धता, पाखण्ड, षड्यन्त्र र अपारदर्शितापूर्ण शोषणको गतिविम्बलाई प्रतिनिधित्व गर्दछ ।

कविताको बलिष्ठ कथ्यमा लाक्षणिक उक्तिद्वारा सौन्दर्य चम्किएको पाइन्छ –

                   जूनको उज्यालोमा उनीहरूको शरीर

                   चाँदीझैँ टल्कियो ।

                   छहरामा नुहाए ।

                   जुनेलीमा हाँसे ।

यस पाठमा समाजले सांस्कृतिक रूपमा पाएको सूचनाको द्विरावृति भएको छ – अभिधेयार्थमा यसको गहन अन्तर्पाठमा गाँसिएको जनविश्वासको लक्षणाले शोषण गर्नेहरूका पाखण्ड र परम्परालाई प्रकट गराएको छ ।

जनचेतना र समाजको सामूहिक सचेतना पनि सक्रिय रहेको तथा शोषण र यसको कुसंस्कृति विकासमा लागेका अदृश्य प्रतिमानसँगको द्वन्द्व यस कविताको सौन्दर्य बनेको छ –

                   कानचिरुवा धामी

                   जिउमा मसान जगाएर मधौरु छेउ उफ्रियो

                   उसको सेतो गाउन र कानका कुण्डलमा

                   गाउँको जोखना आयो खुटै खुट

‘कानचिरुवा धामी (जोगी?)’ सबैभन्दा जन्ड हुन्छन् भनेर मानिएको सामाजिक विश्वासको पूर्वप्रसङ्गले यहाँ समाजमा व्याप्त अवस्थता (शोषण, अन्धता, अत्यचार) -को अकाट्य निदान उपलभ्य छ भन्ने आत्मविश्वास लेखिएको छ । यथावत् जडताको अन्तिम ‘जोखाना’ जस्तो ‘धामी’ -ले खुट्याएको छ ‘खुटैखुट’ चुडान्त कारण र कारक-

                   धामीको रडारमा आए

                   परिचित बोक्सीका चालढालहरू ।

                   लमतन्न सुतेको बिमारीलाई थाहै थिएन

                   धामी र बोक्सीको गठबन्धन ।

कविको यथार्थ चेतना निष्कर्षमा आइपुगेर वर्णन, विवरण र आलोचनामा रूपान्तरित नभई व्यङ्ग्यमा परिणत बनेको छ । ‘सुतेको बिमारी’ सामाजिकलाई ‘धामी’ -ले चिनिसकेको ‘बोक्सी’ -बाट अझ समाप्त बनाउन आफ्नो सारा शक्तिको दुरुपयोग गरेको विम्बले रक्षक शक्तिको दुराचारलाई व्यङ्ग्यवाण गर्दछ । ‘आफैँ धामी आफैँ बोक्सी’ लोकले आर्जन गरेको अनुभवलाई अवकास निर्माण गरी उपर्युक्त अवस्थाको विवेचनामा शासक र जनताको प्रतिनिधिमाझ उत्पन्न हुने सामाजिक उत्तरदायित्वप्रतिको उदासीनतालाई कविताले व्यङ्ग्य गरेको छ ।

ट्याटु : लोकप्रिय संस्कृति, प्रदर्शन र मानिसको सत्व

‘ट्याटु’ कविताको विषयवस्तु र प्रस्तुति सर्वथा नौलो छ । राजेन्द्र भण्डारीले यसमा सामान्य विषयमाथि सहज दृष्टिकोण राखेका छन् । ‘ट्याटु’ र ‘ऊ’ माझको कथ्यमा कविको समानुभाविक निरीक्षण, मध्यस्थता, आलोचना आदि साथै सर्वदा स्थापित मानव संस्कृति र सभ्यताले अङ्गीकार गर्ने नव संस्कृतिमाझको द्वन्द्व पनि प्रकट भएको छ –

                   स्वर्गबाट झरेर

                   जब केही बथान परेवाका बच्चा

                   बास बसेका थिए उसको शरीरमा

                   जब ती परेवाहरू फड्फडाउन थाले ढकमक्क

                   गुलाबको ट्याटु हानी उसले

                   देब्रे छातीमा ।

स्थापित मर्यादापूर्ण सभ्यता र संस्कृतिको पृष्ठाधार ‘स्वर्ग’ -ले नै जीवनका ‘परेवाका बच्चा’ जस्तो स्पर्श दिएर प्रेमको पहिलो प्रस्फुटन मानवले अनुभव गर्दछ । ‘गुलाब’ प्राकृतिक प्रेमको सङ्केत र ‘ट्याटु’ कृत्रिम अभिव्यक्तिको उज्यालो क्षणिकता दुवै माझको सन्दर्भहीन सम्बन्धको बयान गरेर प्रेमको शाश्वतता गम्भीर सौन्दर्य मासिएको अभिव्यक्ति पाइन्छ । अप्राकृतिक रूपमा झ्याङ्गिदै गएको सभ्यता, संस्कृति र सौन्दर्य चेतना माझको असहजता नै मानिसको सत्ता र कलाचेतलाई विग्रहित तुल्याउने तत्त्व हो । प्रकृतिको शाश्वत रूपमा विखण्डन आएको चेतना र मानवको मनोविश्लेषणलाई पनि लेखिएको छन्-

                   ऊ त्यही गुलाबजस्तै फक्रिन चाहन्थी ।

‘गुलाब’ प्राकृतिक सत्य र मानवको सुकोमल भावअभिव्यक्तिको सङ्केत व्यवस्था हो । ‘ऊ’ पनि प्रकृति र प्राकृत अवस्थामा अल्हादित बन्न चाहने मानव नै देखिन्छ ।

                   ठिकै यसैबेला उसलाई लाग्यो

                   ऊ छलमा परेकी छ ।

विवेचना, ज्ञान र अनुभवद्वारा सभ्यताले कृतिम अवस्थालाई अनुभव गर्दछ । शोषण, छल, पाखण्डका अन्तरालबाट प्रकृतिस्थ मानव आत्माले सुरक्षा खोज्दछ । ग्लानिको अनुभूति, मानवको तिरोहित मूल्य र असमञ्जस्यतालाई यस कविताले लेखेको छ –

                   अनि ऊ खोपाउँछे

                   नितम्बदेखि घिच्रोसम्म तनक्क

                   तन्किएको ड्रागन

ह्रासात्मक अवस्थाबाट सुरक्षाको खोजी गर्दछ मानिस । यद्यपि प्रत्येक सभ्यतामा एउटा विडम्बना छ – अमौलिक प्रयास गर्ने समूहले नै स्पष्ट अनुहारको चित्र देखाउँदछ ।

सभ्यतामा मानक संस्कृति र नव संस्कृतिको द्वन्द्वलाई गतिमान कालावकास अनुरूप हेर्दछन् कवि –

                   निस्किएको छ एउटा शरीर हरेक

                   छेकाबारहरू नाघेर

                   अस्तिदेखि हिजो

                   हिजोदेखि आज हुँदै

                   लम्किरहेको छ ऊ भोलितिर।

मानवीय कलाचेतना र परिवर्तनशील कालखण्डको दिशातिर प्रवृत्त मानव, संस्कृति र कालको अवस्था ‘ट्याटु’ जस्तो छ । कृत्रिममा वास्तविकता अनुभव गर्ने लोकप्रिय संस्कृति र तिनका प्रदर्शनमा सदावर्त शाश्वतताको अनुभूति नहुने अवकास लिएर मानव परिवेशले सदा यही द्वन्द्वको अवकास खोज्न लागेको छ ।

निष्कर्ष

कवि राजेन्द्र भण्डारीले सहज विम्बावली र प्राञ्जल शैलीको आयोजनद्वारा सरल काव्यविधानको दृष्टान्त निर्माण गरेका छन् । उनका कविताका विषय र वृत्त साथै भाषिक, अधिभाषिक प्रतिमान तथा काव्य प्रतुतिका गतिशीलताले नेपाली कविताको उत्तरआधुनिक संरचना सबल रूपमा प्रतिष्ठापित छ । उनका अद्यावधिक कवितामा मसृण काव्यशिल्प, सघन अन्तर्पाठ, सामान्य विषयवस्तु र वृत्तिको प्रस्तुतिले आयोजित गम्भीर काव्यप्रस्तावना एउटा अत्यन्त नवीन क्षेत्र बनेर भारतेली नेपाली कविताको प्राङ्गणमा आइपुगेको छ । भारतेली नेपाली कविताको समकालीन पृष्ठमा कवि राजेन्द्र भण्डारीको उपस्थिति दरिलो देखिएको छ ।

(नोटः दार्जिलिङ टक्सको महिनाका कवि स्तम्भका सम्पादक डा. सञ्जय बान्तवा हुनुहुन्छ। उत्तरबङ्ग विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय बान्तवा, बेजोड कवि, गीतकार, समालोचक र अध्येता हुनुहुन्छ।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here