- निमा शेर्पा
‘भारतीय नेपाली गीतकार पारिचायिक चर्चा’ (सन् २०१४) नामक लामो समालोचनात्मक लेखलाई समालोचक डा. जस योञ्जन ‘प्यासी’-को प्रतिनिधि समालोचना मान्न सकिन्छ । यद्यपि उनको विराट् समालोचक व्यक्तित्वको गुरुत्त्वभार भने प्रस्तुत समालोचना एक्लैले वहन गर्न नसक्ने सत्यलाई अगावै स्पष्ट रूपमा अघि राख्नु युक्तिसङ्गत हुनेछ ।
प्रस्तुत समालोचनात्मक लेख सिङ्गो पुस्ताकार रूपमा सुलभ भएको हुँदा यसमा ‘प्रस्तुत पुस्तकलेखनको प्रसङ्ग परिप्रेक्ष्यमा’ शीर्षकमा समालोचकीय आमुख पनि संलग्न छन्, जो निकै विचारोत्तेजक छन् । उक्त आमुख समालोचकीय औपचारिकता परिपूर्तिका साधन मात्र नभएर मूल लेखकै एउटा अभिन्न कडी वा अग्रकथनका रूपमा स्थापित छ । यसमा लेख-अन्तराल (Writing’s Gap), समस्याकथन र उद्देश्यकथन सङ्क्षिप्त रूपमा नै भए तापनि विवेचित भएका छन्, जसबाट मूल-लेखको औचित्य र महत्त्व स्वत: स्पष्ट हुँदछ ।
आमुखमा समालोचक प्यासी लेख्दछन्-
“सन् २००९ मेरो प्रथम गीतसङ्ग्रह बोलाऊँ भने तिमीलाई-को प्रेस कपी तयार गरिसकेपछि भूमिकास्वरूप केही लेख्न थालेँ । लेख्दै जाँदा कुरा लम्मिँदै गयो । यसो भएपछि मेरो विचार पनि बद्ल्यो । अब मेरा गीतहरू सम्बन्धमा पाठकवृन्दलाई छोटकरीमा जानकारी गराएर अरू कुरा एउटा पुस्तकमा छुट्टै प्रस्तुत गर्नुपऱ्यो भन्ने लाग्यो । …प्रचलित एवं लोकप्रिय गीतका गायक/गायिका र सङ्गीतकारको नाम स्वत: प्रख्यात वा प्रसिद्ध भइहाल्छ । यसमा कुनै विवाद वा तर्क हुनसक्तैन । तर सोही प्रसिद्ध गीतको गीतकारको नामबारे किन कसैले वास्ता गर्दैनन् ? किन कुनै पर्वाह राख्दैनन् ? के एउटा प्रचलित गीतको प्रसिद्धी वा लोकप्रियताको हकदार गायक गायिका र सङ्गीतकार मात्र हुन् ? के त्यस गीतको रचनाकर्ता वा गीतकारको कुनै मूल्य रहँदैन ? यही प्रश्नले मलाई बारम्बार ठुङिरहँदा गीतकारबारे केही चर्चा गर्ने मनोवाञ्छा भएको हो ।” (प्रस्तुत पुस्तकलेखनको प्रसङ्ग परिप्रेक्ष्यमा, पृ. ५)
गीतकार, सङ्गीतकार र गायक/गायिकाको त्रयतामा गीतकार प्राय ओझेलमा पर्नुपरेको तथ्य सर्वविदित तथ्य हो । समालोचक प्यासीले यसै समस्याको दह्रोसाथ उठान गरेका छन् , समस्याको जड अनेक भएको तथ्य प्रकाशनमा ल्याएका छन् तथा तिनका निवारणहेतु अनेक प्रस्तावनाहरू पनि तेर्स्याएका छन् । ती अनेक कारणहरूमध्येका मूल कारण भारतीय नेपाली गीत र गीतकारलाई चिनाउने आधिकारिक लेखन अद्यावधि नभएको सत्यलाई परोक्ष रूपमा सङ्केत गर्दै प्रस्तुत लेख तयार हुनलागेको प्यासीको आत्मकथन छ ।
अर्को महत्त्वपूर्ण पक्ष के भने, यस लेखको सीमाबारे पनि समालोचक प्यासी सचेत छन्, आमुख पृष्ठकै अन्त्यतिर उनी लेख्छन्-
“यहाँ अझ अरू कति कति अब्बल दर्जाका अनि उम्दा गीतकारहरूका बारेमा चर्चा गर्न सकिनँ होला । त्यसो भएको भए म क्षमाप्रार्थी छु अनि उचित जानकारी वा सकारात्मक सुझाउ पाउन सके अर्को संस्करणमा अवश्य संशोधन गर्ने वाचा गर्दै सबैसँग भूलचूकका लागि क्षमा याचनाको हात जोर्दै यो गन्थन लेखनलाई यही विराम लगाउँछु ।” (प्रस्तुत पुस्तकलेखनको प्रसङ्ग परिप्रेक्ष्यमा, पृ. ९)
समालोचक प्यासीको यसप्रकारको सीमा स्वीकारोक्ति तथा संशोधन प्रतिबद्धताको प्रमाण हो- लेखको अन्त्यमा गाभिएको ‘छाप्दा छाप्दै’ पृष्ठ । यसमा उनले लेखमा छुटेका कतिपय गीत, गीतकार र संस्थानिक योगदानहरूको सङ्क्षिप्त चर्चा गरेका छन् ।
आमुखमा अझ एक ठाउँ अर्को महत्त्वपूर्ण सन्दर्भको उठान गर्दै प्यासी लेख्दछन् –
“हाम्रो साहित्यमा गजललाई काव्य विधाको एक उपविधाका रूपमा स्वीकृति प्राप्त हुँदा गीतलाई भने एक छुट्टै उपविधाका रूपमा मान्यता मिलेको छैन । तर अब भारतीय नेपाली गीत एक अलग्गै उपविधाको रूपमा अध्ययन-अध्यापन गर्नुपर्ने समय भइसकेको छ । अत: अध्ययन-अध्यापन सम्बन्धित संस्थान वा संकायका प्राज्ञजनले यसबारे चुड़ान्त निर्णय लिनुपर्ने देखिन्छ । विदेशका महाविद्यालय, विश्वविद्यालयहरूमा गीत विषय जे जति कार्यहरू भइरहेका छन् तिनै अनुपातमा नभए पनि हाम्रो यतातिर अलिअलि प्रयासका पाइला त चालिनुपर्ने हो जस्तो लाग्छ । कलेज तथा युनिभर्सिटीका नेपाली विभागका पाठ्यक्रम समितिहरूका प्राज्ञहरूको घैँटामा घाम लागे गीत सम्बन्धी अवश्यै केही सोच बनिएला नत्र त हाम्रो जस्तै अमुक विभागले त यस्तो पाठ्यक्रम पत्र शुरू गरेका छैनन् भन्दै निष्क्रिय रहनुले आफै नञा बाटो नखोजी नहिँडी अरूकै पछि लुरूलुरू हिँड्ने पुच्छरे मानसिकता मात्र द्योतन गर्नेछ ।” (प्रस्तुत पुस्तकलेखनको प्रसङ्ग परिप्रेक्ष्यमा, पृ. ८)
थपनीमा लेखको निथार कथन पनि जोडौँ, प्यासी भन्छन-
निथारमा भन्नु हो भने गर्ज टार्न मात्र गीत लेख्नेहरू वा औड़ाह र अल्लरेपनमा त्यस्सै तम्सिएर गीत लेखी गीतकार बन्न चाहनेहरू भन्दा गीतलाई साहित्य सङ्गीतकै एक अविच्छेद्य एवं महत्त्वपूर्ण विधा ठानी साधनारत रहने गीत स्रष्टाहरू हामीलाई खाँचो छ । नत्र हो भने गीत र गीतकार विषय केही शोधपरक अध्ययन गर्न चाहनेहरूले यसरी नै सिलाबाला गरिरहनुपर्नेछ । (पृष्ठ-९४)
यसरी समालोचक प्यासीले इ. सं. २०१४ मा उठान गरेको समस्यालाई यताका विश्वविद्यालयका पाठ्यक्रम निर्माण समितिले भर्खर भर्खर संज्ञानमा लिएर त्यस दिशातिर समाधानमुखी पाइला चालेको छ, यसलाई नेपाली गीत साहित्यको एउटा उपलब्धि नै मान्नु पर्दछ । दोस्रो उद्धरणमा भने प्यासीले भारतीय नेपाली गीत साहित्यको स्तर र गुणबारे गीतकार स्वयम् सचेत रहनुपर्ने होसियारी गरेका छन्, भारतीय नेपाली गीत साहित्यमाथि आधिकारिक काम गर्दा आइपर्ने प्राविधिक र स्तरगत कठिनाइ र आफू स्वयम्-ले भोग्न परेको मर्मको अप्रत्यक्ष आत्मप्रकाशन छ । प्यासीको भारतीय गीत साहित्यसम्बन्धी चेतना र चिन्तनको लेन्सले कहाँ-कहाँसम्म प्रकाश पार्न सक्दो रहेछ, उपर्युक्त उद्धरणहरूले स्वत: स्फूर्त स्पष्ट पार्दछ । समालोचक प्यासी स्वयम् गीतकार र नेपाली भाषा-साहित्यका प्राध्यापक भएकाले उनको चेतनाको लेन्स यति व्यापक र विस्तृत हुनसकेको अनुमान लगाउन सकिन्छ ।
आमुखबारे चर्चालाई यतिमा नै बिट मार्दै अब मूल लेखमा ध्यान केन्द्रित गरौँ । समालोचक प्यासीले विवेच्य लेखलाई ‘भारतीय नेपाली गीतकार पारिचायिक चर्चा’ शीर्षक दिएका छन् । आमुख पृष्ठमा उठान गरिएका समस्याकथन र उद्देश्यकथन अनुसार शीर्षकलाई उपयुक्त मान्न सकिन्छ, तर यो पुस्तक सामान्य पारिचायिका पुस्तक मात्र होइन भन्ने कुरा लेखको गुरुत्त्वले स्वत: सिद्ध गर्दछ । सामान्य पारिचायिक चर्चा अथवा पारिचायिक कोशमा लेखकचर्चा वा लेखकसूची वर्णानुक्रमअनुसार तयार पारिएको हुन्छ, यसो हुँदा तिनमा कालक्रमिकता अथवा परम्पराको सतत प्रवाह र शृङ्खला अनुपस्थित रहँदछ, सामान्य परिचय तिनका मुख्य अभीष्ट हुने हुँदा तिनमा समालोचकीय विश्लेषणको न्यूनता स्वाभाविक तरिकाले दृष्टिपात हुँदछ । प्यासीको यस लेखमा भने गीतकारहरूका कृतित्व र प्रवृत्तिको परिचय प्रस्तुत गर्ने उद्योग त छँदैछ, साथमा परम्पराको सापेक्षतामा तिनको कालिक उपस्थिति र महत्त्वको विशद् मूल्याङ्कन गर्ने उद्योग पनि छ । सरल शब्दमा भन्नुपर्दा प्यासीको यस पुस्तकले एकातिर भारतीय गीतकारहरूलाई परिचयको सामूहिक मञ्च प्रदान गरेको छ भने अर्कातिर भारतीय नेपाली गीत साहित्यको परम्परा र विकासक्रमको पनि चर्चा गरिएको छ । त्यसर्थ यसप्रकारको शीर्षक चयन गर्नु प्यासीको ग्राउन्ड टु अर्थ व्यक्तित्वको पारिचायिका मान्न सकिन्छ । सरल शब्दमा भन्ने हो भने यस लेखको शीर्षक चयनबाट नै मूल समस्या स्पष्ट भए तापनि लेखमा अन्य समस्याहरू र तिनका समाधानमुखी विश्लेषण पनि गरिएको छ ।
प्यासीले आफ्नो लेखलाई दुइटा खण्डमा विभाजित गरेका छन् – भूमिका खण्ड र मूल खण्ड । भूमिका खण्डलाई कुनै उपशीर्षक दिइएको छैन भने मूल खण्डलाई उपशीर्षक दिएका छन्- भारतीय नेपाली गीत र गीतकार । यस अतिरिक्त लेखमा कहीँकतै खण्ड विभाजन नीति अवलम्बन गरिएको छैन । ऐतिहासिक वा परम्परा अध्ययनमा खण्ड दर्शनमार्फत समग्र दर्शन नीतिलाई उपयुक्त मानिन्छ तर यो कालखण्डको समयव्याप्ति र गतिमा निर्भर पर्ने कुरा पनि हुन्, साथै समालोचकीय अडान र प्राविधिक कुराले तय गर्ने कुरा पनि हुन् । प्यासीले लगभग सय वर्षभन्दा अधिकको भारतीय नेपाली गीत साहित्यको इतिहासलाई सोलोडोलो रूपमा पर्गेल्नुको पछाडि सम्भवत: विभाजनका ठोस आधारको अभाव उत्तरदायी हुनसक्छ । प्यासीले यस लेखलाई चिह्नित अवस्थामा विभाजन नगरे तापनि लेखभित्र अचिह्नित अवस्थामा उपस्थित विभेदक कोटिहरू नभेटिने भने होइनन् ।
प्यासीले भूमिका खण्डमा गीतको सैद्धान्तिक स्वरूपबारे चर्चा गरेका छन्, यसअन्तर्गत गीतको ऐतिहासिक सान्दर्भिकता, अर्थ, प्रकार, नेपाली गीतलेखनको चर्चा पर्दछन् । यसप्रकारको चर्चा उनले आमुख पृष्ठमा पनि गरेका छन्, तर तिनमा एकाअर्काका पुनरावृत्ति दोष भने पाइँदैन । यस खण्डमा प्यासीले आलोच्य विषयको विश्लेषण गर्ने क्रममा सूत्रात्मकता र सङ्क्षिप्तता वरण गरेका छन्, लेखको साध्य गीत सिद्धान्त नभएर भारतीय नेपाली गीतकार भएर यस्तो भएको हुनसक्छ । प्यासी लेख्दछन् –
“नेपाली गीतबारे यसरी चर्चा गर्दा नेपाली भाषामा गीतलेखन परम्परा कहिलेदेखि शुरू भयो होला भन्ने जिज्ञासा रहनु स्वाभाविक हो । किनभने नेपाली गीतलेखन एकैचोटि आजको रूपमा आइपुगेको होइन । विभिन्न लोकगीत र लोकगीतका आडमा लेख्य गीतको थालनी भएको मान्नसकिन्छ । यसरी थालनी भएको लेख्य गीतहरू जसमा गीतकारका निजी अनुभूति प्रतिपादन नभएका कारण प्रारम्भिक लेख्य गीतहरूलाई नेपाली गीतका पृष्ठभूमिमा राख्न सकिएला । तर अङ्ग्रेजीमा लिरिक वा लिरिक्स भनिने गीतका समतूल्य अनुभूतिप्रधान नेपाली गीतलेखनको प्रारूप भने निर्विविदारूपमा मोतीराम भट्टकै गीतलेखनमा पाइन्छ ।” (पृष्ठ-१९)
यसरी प्यासीले आजको गीत साहित्यको सोझो सम्बन्ध पाश्चात्य लिरिकसित रहेको तथ्यलाई स्पष्ट पारेका छन् । यद्यपि नेपाली गीत साहित्यको प्रादुर्भावमा लोकगीतको भूमिकालाई पनि स्पष्ट्याएका छन् । उनले स्पष्ट रूपमा लिरिक वा लिरिक्सको पर्याय मानिने नेपाली गीतको प्रारम्भ मोतीराम भट्टबाट भएको मानेका छन्, यस मतको पुष्टि हेतु उनले भट्टको ‘प्रियदर्शिका’ नाटिकाको गीतांश उद्धृत गरेका छन् ।
तदनुसार पहिलो भारतीय नेपाली गीतकार निर्क्यौल गर्ने क्रममा समालोचक प्यासी लेख्छन्-
“सन् १९०० दार्जिलिङबाट प्रकाशित अनि हाजीरमान राईद्वारा कथित मीठा मीठा नेपाली गीतलाई नै भारततिरबाट रचित एवम प्रकाशित पहिलो गीतसङ्ग्रह मान्नुपर्छ । यसमा लोकभाकामै आधारित दश किसिमका गीत छन् । नेपाली पद पङ्क्तिमा अङग्रेजी शब्द र केही शब्द र केही पङ्क्ति नै मिलाएर मिसाएर कथिएका उनका गीतहरू हाजीरमाने गीत भनेर प्रचलित थिए । उनका प्राय गीत शृङ्गारिक भावधाराका देखिन्छ । सोधनी र उत्तरका रूपमा लेखिएका गीतहरूलाई जुवारी गीतकै रूपमा पनि लिनसकिन्छ ।” (पृष्ठ-२१)
यसरी उनले पहिलो नेपाली गीतकार निर्क्यौल गरी तदनुसार पहिलो भारतीय नेपाली गीतकारको रूपमा हाजिरमान राईलाई स्थापित गर्ने काम गरेका छन् । अझ गीतकार राईका दशवटा गीतका समष्टिगत वैशिष्ट्य पनि केलाएका छन् । ज्ञातव्य रहोस्, समालोचक प्यासीले भारतीय नेपाली गीतकार चयन गर्ने क्रममा पुस्ताकार कृतिसँग-सँगै नाटकअन्तर्गतका गीत तथा रेडियोबाट प्रसारित गीतलाई पनि आधारस्वरूप ग्रहण गरेका छन्, साथै लेख्य रूपमा प्रकाशित नभए तापनि जनमानसमा लोकप्रिय रहेका एकाध गीतकारलाई पनि समेटेका छन् । यस पुस्तकमा हाजिरमान राई, धनवीर मुखिया, पारसमणि प्रधान आदिबाट सुरू गरी हरिभक्त कटुवाल, मदन सुब्बा आदि हुँदै समीर राई ‘शान्ति’, सुदर्शन तामाङसम्मका लगभग दुई सय जति गीतकार र तिनका गीत रचनाहरूका परिचयन र मूल्याङ्कन गरेका छन् । अर्थात् इ. सं. १९०० देखि २००९ सम्मका गीत र गीतकारहरूको कृतित्व पक्षका डेटासहित चर्चा गरेका छन् । ज्ञातव्य रहोस्, प्यासीले गीतकारहरूका जीवनी पक्षबारे भने छ्यास्स पनि चर्चा चलाएका छैनन् । यसबाट पनि उनले प्रस्तुत लेखको माध्यमबाट इच्छित फलको अनुमान लगाउन सकिन्छ ।
सैद्धान्तिक पक्षबारे चर्चा गर्दा उनले पूर्वीय र पाश्चात्य दुवैतिरका सैद्धान्तिक आधार ग्रहण गरेका छन् । समालोचनात्मक पद्धति अवलम्बनका दृष्टिले यस लेखलाई ऐतिहासिक पद्धतिमा आधारित लेख मान्न सकिन्छ । इतिहास चेतना, इतिहास चिन्तन र इतिहास दर्शनले सरोवर यस लेखलाई सैद्धान्तिक र प्राविधिक दुवै कारणले साहित्येतिहास ग्रन्थको कित्तामा भने दराउन सकिँदैन । ऐतिहासिक समालोचना र साहित्येतिहासमाझ इतिहास-कैरनको साध्य र साधनगत अदलबदलले पार्थक्य सिर्जना गर्दछ भन्ने मेरो व्यक्तिगत अडान छ । नेपाली साहित्येतिहासका ग्रन्थहरूमा कुनै तार्किक प्रमाणबिना चुपचाप गीत साहित्यलाई किनारीकृत तुल्याउने चलिआएको परम्पराको सापेक्षतामा भने यस लेखले आँखा खोलिदिने खेल खेल्नेछ तथा ट्रेन्डसेटर हुनेछ भन्ने कुरामा निर्धक्क विश्वास गर्न सकिन्छ ।
निष्कर्षमा भन्नपर्दा यस पुस्तकलाई विशिष्ट समस्याको समाधानमा केन्द्रित समालोचनात्मक लेख मान्न सकिन्छ । वस्तुनिष्ठता (अंशत: आत्मपरकता ), प्रमाणमा आधारित तर्कसङ्गतता, आफ्नै निजत्वको संरचनागत आबद्धता, कालक्रमिकता, विश्लेषणात्मकता आदि यस लेखका अन्य विशेषता हुन् । यस लेखलाई एकसाथ पहिलो भारतीय नेपाली गीतकार कोश र भारतीय नेपाली गीत साहित्यको पहिलो आधिकारिक इतिहास मान्न सकिन्छ ।