बन्द पानीघट्टा चियाकमानमा ग्रेटर लायन्स फेमिलीद्वारा निःशुल्क स्वास्थ्य जाँच, बाँड़्यो खाद्यान्न र वस्त्रादि

0
1620

पानीघट्टाका श्रमिकहरूलाई वस्त्रादि वितरण गर्दै ग्रेटर लायन्स फेमिलीका सदस्यहरू।
मिरिक, 1 अक्टोबर : आइतवार सिलगढ़ीस्थित ग्रेटर लायन्स क्लबका सदस्यहरूले बन्द पानीघट्टा चियाकमानका सयाधिक श्रमिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच गर्नका साथै उनीहरूलाई औषधि, खाद्यान्न र वस्त्रादि वितरण गरे।
दशैँअघि ग्रेटर लायन्स क्लबले आफ्नोत्व देखाउँदै ठूलो मन बनाएर सहयोग गरेपछि ती लाभान्वित श्रमिकहरू खुशी भएका छन्।
 स्मरणरहोस्, अक्टोबर 2015 देखि नै पानीघट्टा चियाकमान बन्द छ। यो चियाकमान बन्द भएपछि यहाँका श्रमिकहरू बिचल्लीमा परेका छन्। पछिल्ला चार वर्षदेखि उनीहरू आर्थिक सङ्कट भोग्दै आएका छन्। यसैबीच कुपोषण र उचित उपचार अभावमा धेरै श्रमिकको मृत्यु भइसकेको छ।
यस्तो विषम परिस्थितिमा ग्रेटर लायन्स फेमिलीले आफ्नो क्षमताअनुसारको सहयोग श्रमिकहरूलाई  गर्न अघि आएको हो। आइतवार ग्रेटर लायन्स क्लब सिलगढ़ीले  केवल निःशुल्क स्वास्थ्य जाँच मात्र गरेको थिएन, तर निःशुल्क औषधि, खाद्यान्न र वस्त्रादि पनि वितरण गरेको थियो।
स्वास्थ्य जाँचअवधि स्थानीय श्रमिकहरूको आँखा, दाँत, मधुमेह र अन्य स्वास्थ्यसम्बन्धी रोगहरूको जाँच गरिएको थियो। मोतीविन्दुका रोगीहरूलाई निःशुल्क अपरेशनको व्यवस्था गरिने पनि थाहा लागेको छ।
यो परोपकारी कार्यअवधि ग्रेटर लायन्स क्लबले दाल, चामल र अन्य आवश्यकीय खाद्यान्न प्रतिश्रमिक 40 केजी गरी 150 आवश्यकीय श्रमिक परिवारलाई वितरण गर्नका साथै शिशुदेखि वृद्ध-वृद्धासम्मका वयका 1050 जनालाई 3,000 वस्त्र पनि वितरण गरिएको थियो। यसका साथै प्रायः 3,000 जनालाई हिजो भोजनको व्यवस्था गरिएको थियो।
यता, ग्रेटर लायन्स फेमिनाकी अध्यक्षा माला बन्सलले आफूहरूले पानीघट्टाका श्रमिकहरूको दयनीय अवस्थाबारे सुनेकोले दशैँको पर्वअघि सकेजति खुशी दिनका लागि यो निःशुल्क स्वास्थ्य जाँच, खाद्यान्न र वस्त्रादि वितरण कार्यक्रमको प्रबन्ध गरिएको बताइन्।उनका अनुसार चाड़अघि श्रमिकहरूको अनुहारमा हाँसो ल्याउनका लागि ग्रेटर लायन्स फेमिलीले यो कार्य गरेको हो।
यो शिविरलाई सफल बनाउन स्थानीय फूलमणि एक्का, जीतमान तामाङ, गङ्गा दूतराज र अन्यले सघाउ पुऱ्याएका थिए। उनीहरूले यो शिविर पानीघट्टामा अहिलेसम्मको ठूलो शिविर रहेको तथा यसबाट श्रमिकहरूले पर्याप्त वस्त्र, खाद्यान्न र अन्य आवश्यकीय सामग्री प्राप्त गरेको बताए। अर्कोतिर सामुएल लाकड़ा र मनमाया सुब्बाले यो सहयोगका लागि ग्रेटर लायन्स फेमिलीप्रति आभार प्रकट गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here