भोलि दार्जीलिङमा जनसभा, रिले अनशन शुरु गरिने

0
1032

दार्जीलिङ, 1 अक्टोबर : सोमवार पहाड़का चियाश्रमिकहरूको बोनसलाई लिएर कोलकातामा बसिएको त्रिपक्षीय बैठक विफल भएपछि यसको प्रतिवादमा पहाड़का श्रमिक सङ्गठनहरूले बुधवार एक जनसभा आयोजन गर्नका साथै रिले भोक हड़ताल बस्ने निर्णय गरेका छन्।

हिजो कोलकातामा बसिएको बैठक पनि विफल बनेपछि दशैंअघि चियाश्रमिकहरूले बोनस नपाउने भएको छ। किनभने अब अघिल्लो बोनस बैठकका लागि 16-17 अक्टोबरको दिन तय गरिएको छ।

अर्कोतिर, यसै विषयलाई लिएर मङ्गलवार पहाड़का सबै श्रमिक सङ्गठनको एक सभा बसियो। सभापछि भोलि जनसभा गर्ने, रिले अनशन शुरु गर्ने तथा डीटीए कार्यालय घेराउ गर्नेजस्ता निर्णय लिइएको गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ, तराई-डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का कार्यकारी अध्यक्ष जेबी तामाङले बताए।

उनका अनुसार भोलि दार्जीलिङ रेलवे स्टेशनबाट विराट् र्‍याली निकालिइनेछ, जुन र्‍याली डीटीए कार्यालय पुगेर धरना दिइनेछ। त्यसपछि मोटर स्ट्याण्डमा आएर जनसभामा परिणत हुनेछ। “भोलिदेखि नै हामी रिले अनशन शुरु गर्नेछौं”, तामाङले भने। उनका अनुसार उक्त रिले अनशन प्रत्येक चियाकमानमा पनि बसिनेछ।

तामाङले चियाश्रमिकहरूको हक अधिकारका लागि सबै श्रमिक सङ्गठन एकजुट भएर लड़ाइँ गर्ने बताए। उनका अनुसार आगामी वर्षदेखि बोनस बैठक अप्रेल महिनादेखि शुरु हुनुपर्नेछ। यसका लागि सबै श्रमिक सङ्गठनले मालिरपक्षमाथि दबाउ बनाउनेछन्।

अर्कोतिर, जनआन्दोलन पार्टीका नेता अमर लामाले पनि भोलि सबै श्रमिक सङ्गठन बैठक बसेर कार्यक्रमको रूपरेखा तयार पार्ने बताए। उनका अनुसार भोलिको बैठकमा रिले अनशनजस्ता कार्यक्रमबारे ठोस निर्णय लिइनेछ।

यसैगरी क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का नेता सुनिल राईले पनि दशैंअघि चियाश्रमिकहरूले बोनस पाउने सम्भावना न्यून रहेकोमा आक्रोश प्रकट गरे।

उनले मालिकपक्षको षड़यन्त्रले आज यस्तो हुनगएको बताए। राईले मालिकपक्षको यस्तो अन्यायपूर्ण व्यवहारविरुद्ध सबै एकजुट भई आन्दोलन गर्नुपर्ने तथा यसमा सबैले साथ र सहयोग दिइनुपर्ने अपील गरेका छन्।

उल्लेखनीय छ, हिजो कोलकातामा बसिएको त्रिपक्षीय बैठकमा मालिकपक्षले चियाश्रमिकहरूलाई केवल 15 प्रतिशतको दरले बोनस दिने अड़ान राखेपछि बैठक विफल बनेको थियो। श्रमिक सङ्गठनहरू आफ्नो मागबाट एक प्रतिशत तल 19 प्रतिशतमा झरेका थिए। तर मालिकपक्षले 15 प्रतिशतभन्दा माथिको दरमा बोनस दिन नसक्नु अड़ानमा अडिग रहेको थियो।

अर्कोतिर मालिकपक्षको व्यवहारविरुद्ध आज पनि पहाड़का अधिकांश चियाकमानहरूमा गेट मिटिङ गरियो। यसअवधि श्रमिकहरू अत्यधिक आक्रोशित देखिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here