दार्जीलिङ, १ नोभेम्बर : शुक्रवार अर्थात् आजदेखि रोहिणीमा पुनः टोल ट्याक्स उठाउन शुरु भएको छ। जीटीएले यहाँबाट सङ्ग्रह भएको राशिले रोहिणी रोडको असलसित मरम्मती गर्न सकियोस् भन्ने उद्देश्य राखेर नै रोहिणीमा आजदेखि गाड़ीहरूबाट टोल ट्याक्स सङ्ग्रह गर्न शुरु गरेको हो।
करिब ११ किलोमिटर दूरीको रोहिणी रोडमा विगत दिसम्बर २०१३-देखि टोल ट्याक्स उठाउन शुरु गरिएको थियो। जसबाट सङ्ग्रह भएको राशिबाट नै यो रोडको मरम्मती पनि गर्ने गरिन्थ्यो।
तर, जीटीए बोर्ड अफ् एड्मिनिस्ट्रेटरको गठन भएपछि तत्कालीन बीओए अध्यक्ष विनय तामाङले जनवरी २०१८-देखि रोहिणीको टोल ट्याक्ससँगै स्रबरी नाइटिङ्गेल पार्क, रक गार्डन आदि स्थानमा उठाइने शुल्क पनि हटाएका थिए। तर यसको परिणाम नकारात्मक भएको स्पष्ट भएपछि पुनः वर्तमान जीटीए अध्यक्ष अनित थापाले रोहिणीमा टोल ट्याक्स शठाउने निर्णय लिएका हुन्। जसको जिम्मा जीटीएले पहिलाकै कम्पनीलाई दिएको छ।
३१ दिसम्बर २०१८-सम्म रोहिणी टोल प्लाजामा निजी वाहनले ३० रुपियाँ, ट्याक्सीले १० रुपियाँ, ट्रकले ३० रुपियाँ, पिकअपले २० रुपियाँ र मिनी बसले ४० रुपियाँ टोल ट्याक्स तिर्नपर्थ्यो। जहाँ पुनः आजदेखि यो दर नै लागू गरिएको जीटीएको पर्यटन विभागले बताएको छ।
स्मरण गराइन्छ, दार्जीलिङ गोर्खा पार्वत्य परिषद्का पूर्व अध्यक्ष सुवास घिसिङको समय निर्माण भएको रोहिणी रोड हाल दार्जीलिङ, खरसाङ र सिलगढ़ीमाझको जीवनरेखा नै बनेको छ। राष्ट्रिय राजमार्ग ५५ अन्तर्गत तीनधारे र पगला झोड़ा रोड बन्द भएपछि रोहिणी रोड नै दार्जीलिङ-सिलगढ़ीको मुख्य मार्ग बनेको थियो।
यसैबीच, गत बर्खाको समय रोहिणी रोड़का धेरैवटा स्थानमा पैह्रोले क्षति पुर्याएको छ, जसको मरम्मती पनि शीघ्रै हुने तय भएको छ। ताकि विगतमा जस्तै फेरि रोहिणी रोडले आफ्नो सुन्दरता प्राप्त गर्न सक्नेछ।
यसका साथै खरसाङको जिरोदेखि रोहिणी रोडको अन्तसम्मकै सड़क किनारमा विभिन्न फूलका पौधाहरू पनि लगाइने भएको छ। ताकि यो सड़क मार्ग भएर कुद्ने गाड़ीहरूमा चढ़ेका पर्यटकहरूले पनि यहाँको सुन्दरताको आनन्द लिन सकुन्।
अर्कोतिर, जीटीए सूत्रले शीघ्रै स्रबरी नाइटिङ्गेल पार्कका साथै रक गार्डनमा पनि शुल्क उठाउन शुरु गर्ने योजना बनाएको बताएको छ। ताकि यी पर्यटन स्थलहरूबाट केही मात्रामा भए पनि जीटीएले राजस्व सङ्ग्रह गर्न सकोस्।