भागोप्रमोले थाल्यो जीटीए चुनाउको तयारी

0
908

दार्जिलिङ, नोभेम्बर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) चुनाउका लागि तयारी शुरू गरेको छ।

यसबारे पार्टीभित्र छलफल गर्ने उद्देश्यले आज पार्टीको केन्द्रीय समितिले आज दार्जीलिङमा एक बैठकको पनि आयोजन गऱ्यो।

पार्टी अध्यक्ष अनित थापा, महासचिव अमर लामाका साथै अन्य केन्द्रीय समिति सदस्यहरूका विशेष उपस्थितिमा आयोजन गरिएको यस बैठकमा पीपीएस (स्थायी राजनीतिक समाधान)-का लागि पनि पार्टीले एक ७ सदस्यीय कमिटीको गठन गरेको छ।

कमिटीमा अमरसिंह राई, अमर लामा, ज्योतिकुमार राई, डीके प्रधान, छिरिङ लामा दाहाल, रुदेन सादा लेप्चा र तिलकचन्द्र रोका रहेका छन्।

बैठकमा लिइएका निर्णयबारे जानकारी गराउँदै पार्टी महासचिव अमर लामाले भने, “गत २६ अक्टोबरका दिन खरसाङमा आयोजित प्रशासनिक बैठकमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए चुनाउ हुने कुरा उठाएकी थिइन्। यसैले जीटीए चुनाउका लागि तयारी गर्ने उद्देश्यमा नै आज पार्टीले यो बैठक गरेको हो।”

एक प्रश्‍नको उत्तरमा उनले भने, “चुनाउको घोषणा भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एक्लै चुनाउ लड्ने हो वा अन्य कुनै पार्टीसित मिलेर लड्ने हो, त्यो त्यसै समय ठीक हुनेछ।“

यद्यपि, लामाले आजको बैठकमा पार्टीका शीर्ष नेतृत्वहरूबिच जीटीएको चुनाउ भए, कसरी लड्ने अनि यसका लागि कस्तो रणनीति तयार पार्ने भन्ने जस्ता विषयहरूमाथि चर्चा भएको बताए।

यसैगरी उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पीपीएसका लागि अनित थापा, रोशन गिरी, अमरसिंह राईका साथै तृणमूल कङ्ग्रेस नेता गौतम देवलाई एक स्टेयरिङ कमिटी गठन गर्ने दिएको निर्देशबारे प्रश्‍न गर्दा लामाले भने, “मुख्यमन्त्रीले पीपीएसबारे स्पष्ट केही भनेकी छैनन्। यसका लागि केवल एउटा स्टेयरिङ कमिटी गठन गर्ने अनि पीपीएसका लागि खेस्रा तयार पार्नु भनेर सामान्यरूपले निर्देश मात्रै दिएकी छन्। यसैले अब पीपीएसको खेस्रा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा एउटा पार्टीले मात्रै तयार गर्ने कुरा होइन। यो एउटा गम्भीर विषय हो, यसैले यस विषय लिएर मुख्यमन्त्री ब्यानर्जीले आगामी दिनमा दार्जिलिङ आउँदा यसमाथि उनीसित अवश्यै चर्चा गरिनेछ। किनभने, अहिले सबै पार्टी एउटै स्थानमा आएर पीपीएसको योजना तयार पार्ने स्थितिमा छैन। यसैले यस विषयमाथि मुख्यमन्त्रीसित नै एकपल्ट बसेर चर्चा गर्न आवश्यक छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here