-पूरण छेत्री
‘रोशन गिरी पहाड़ नचढ्ने भो’, विनय खेमाको मिडिया टिमका सक्रिय सदस्य ज्योतिकुमार मुखियाले 28 नोभेम्बरको अपराह्न एउटा पोस्ट हाले, मानौँ रोशन गिरी उनकै घरमा पाहुना लाग्न आएका हुन् अनि आउन दिने नदिने अधिकार पनि उनैको हातमा छ। पोस्ट अझ स्क्रोल गरेँ।
‘आधिकारिक पुष्टि अनुसार सामसिङ…….’, उसैको पार्टीको नारी खेमाका प्रवक्ता सपना छेत्रीज्युले कमेन्ट बक्समा थप जानकारी दिइन्। मनमनै सोचेँ, विनय तामाङको हरियो झण्डाको कथा पत्याइन् क्यारे!
‘हावा’, मैले पनि उनीहरू दुवैको कुरा नपत्याएर प्याच्च लेखिदिएँ।
‘भोलि खरसाङबाट सोझो प्रसारण हेर्नुहोला…..!’ लीला सरले पनि अझ तल लेखिदिनु भो।
त्यसपछि फेसबुकभरि पहाड़ चढ़ने- नचढ़ने कुराहरू लिएर कमेन्टहरू आइरहे। ‘विमल गुरुङ पहाड आउँछ भने विनय तामाङलाई जिताएर आउनु पर्छ’ भनेर विनयको जीतका लागि विमल गुरुङलाई गुहार माग्ने प्रवक्ता महोदयाले 29 तारिख खरसाङको जनसभा लिएर बिहानै भालेको डाकदेखिनै पोस्ट हाल्न थालिन्। बेलुकी सभा सकिञ्जेलसम्म विमल खेमाकाहरूलाई ‘गोबरभक्त र अनपढ़’ भन्न पनि भ्याइन्।
यता, मुखियाजीले रोशन गिरीज्युको भाषण सुन्ने भीड़मा 200 जना मात्र देखेको पोस्ट हाले भने बेलुकी प्रवक्ता केशवराज पोख्रेलले आफूहरू मात्र जनताको पार्टी रहेको भन्दै आफै फुर्किए।
आखिर किन यति धेरै आत्तिएका छन् त साथीहरू?
स्व. मदन तामाङ हत्याकाण्डका आरोपी केशवराजजीले 2019-मा भोलेन्टियर शिक्षकनै नगरी आरकेएसपी (RKSP)-मा शिक्षकको नियुक्ति लिएका हुन्। अहिले उनले जतिसुकै आदर्शका कुरा छाँटे पनि भोलेन्टियर शिक्षकहरूका पेटमा लात हानेर शिक्षकको नियुक्ति आफू-आफू बाँड़ेर लगेको सत्यतालाई छोप्न सकेका छैनन्। यसमा उनको निजी जीवनका केही हिस्सा भए तापनि नियुक्ति सार्वजनिक विषय भएकाले यति चर्चा त हुनैपर्छ।
29 नोभेम्बर साँझ केशवजीले आत्तिएर एउटा प्रेस रिलिज गरे। शुरुमै आन्दोलनअवधिका केही मुद्दा फार्से अनि जेलबन्दीहरूका रिहा हुने जनाए।
मुद्दा र रिहाइ बङ्गालसँग मिल्दा हुने रहेछ भन्ने कुरा थाह थियो भने 2017 देखि 2020 सम्म उनीहरूले किन यो काम गरेनन्? वास्तवमा विनय-अनितले बङ्गालसँग मिले पनि यी मुद्दाहरूमा बङ्गाल सरकारलाई मनाएर कुर्सी थाप्न सक्थे। कुर्सी देख्नेबित्तिकै अदालती मुद्दा, विस्थापित र जेलबन्दीहरू भुले। पुलिस र प्रशासनका सहयोगलाई गलत प्रयोग गरे। उनीहरूलाई समर्थन नगर्नेलाई पुलिस लगाई-लगाई छेकारा काटे। सामाजिक सञ्जालमा उनीहरूका विरोध गर्नेहरूका घर-घरमा पुलिस पठाए। यस्ता नेताहरूलाई आज आएर अचानक हाम्रा अदालती मुद्दा र जेलबन्दीहरूका याद आउनु भनेको विमल गुरुङको आगमन नै हो।
जब विमल गुरुङले आन्दोलनअवधि लागेका मुद्दाहरूबारे राज्य सरकारसँग कुरा मिलाए, तब विमल गुरुङ पहाड़ चढ़नै सक्दैन भन्दै जनतालाई ढलिमली गर्नेहरूको चेत उड्यो। यदि उनिहरूले यो मुद्दा मिलाउन सक्थे भने किन विमल गुरुङकै आगमनलाई पर्खिरहे त?
केशवजीले विमल गुरुङ चार क्लास पढेको र विनय तामाङ ८६ सालको ग्रेजुएट भएका बताए तापनि 2002-को प्राथमिक पाठशाला शिक्षकको अन्तर्वार्तामा विनय तामाङ ‘फेल’ भएको कुरा भने बताएनन्। चार क्लास पढ़ेका मान्छेले गरीब विद्यार्थीरूका लागि खोलिदिएको स्कूल खोलाउने कहिल्यै प्रयास गरेनन्। शिक्षक नियुक्तिमा धाँधली गरे, तर गफ चाहिँ शिक्षित समाज निर्माणको हाँकिरहे।
आफूहरू जनताको पार्टी रहेको डिङ्ग झारे पनि आफ्ना अध्यक्ष घरकै बूथमा हारेको कुरा स्वीकार गर्दैनन्। सत्तामा रहेको पार्टी भन्दै गणतन्त्रको वकालत गरे पनि विमल गुरुङलाई बाटो छेक्न एयरपोर्टनै पुग्छन्। हजार विमल गुरुङ आए पनि फरक पर्दैन भनेर साहसी भएको ढोंग गरे पनि गिरी र मालेको आगमनले नै आफूहरू भत्किसकेको उनको बयानले स्पष्ट देखियो।
देशमा ममताले मोदीसँग चिया पिउन सक्छन्। अखिलेशले मायावतीलाई जन्मदिनको शुभकामना दिन सक्छन्। विश्वमा चर्चिल, रूजवेल्ट अनि स्ट्यालिनसँगै फोटो खिच्न सक्छन् तर पहाड़मा विधायिका सरिता राईले क्षेत्रकै सांसद राजु बिष्टलाई भेट्दा आपत्ति जनउँछन्, केशवजी। शहीद वरुण भुजेलको बर्षीमा गएकै निहुँमा नगर पार्षद् नोमन राईलाई निष्कासित गरेर अहिले पश्चताप गरिरहेका छन्।
आफू बसेको चौकी कति बलियो छ भन्ने कुराको हेक्का नराखी बयानबाजी गर्ने हुँदा 2019-मै उनीहरूलाई जनताले नकारिसकेका छन्। केशवजीहरूलाई आफ्नो जनसमर्थन नरहेको कुरा राम्ररी थाह छ। तर, पनि झूट बोलेर दार्जीलिङको राजनीतिमा आफूहरूलाई टिकाउन चाहन्छन्।
जीटीए जनताको मुद्दा होइन, तर कुर्सी थाप्दा कमसे कम आन्दोलनअवधिका मुद्दा, जेलबन्दीहरूका रिहाइ र प्रजातान्त्रिक पद्धतिबाट चुनाउ जितेर जीटीए चलाएको भए जनभावनाको कदर हुनेथियो।
एउटै जेलमा रहेका सतीशहरू छुटे, त्यहीं जेलमा रहेका वरुण भुजेललाई समर्थन नगरेकै कारण तड़पाइयो। सड़कमा रहेका जनताको इच्छाविपरीत साइरन बजाउँदै लालकोठी छिरे। आफ्नै छोरी चेलीलाई ‘घरमै आएर बलात्कार गर्छु’ भन्दा विरोध गर्न तिघ्रा कमाए।
नियुक्तिको नाममा भाइ-भतिजावाद, विकाशको नाममा गोजी भराइ, प्रशासनको आड़मा आफ्नै दाजु-भाइलाई दिएको दुःखको परिणाम हो हिजको जनसभाको भीड़। यो भीड़ देखेर आत्तिएका त हुन् नि बिचारा केशवराजहरू ……!!