दार्जिलिङ, १ दिसम्बरः पारा एथलिट नीरबहादुर गुरुङ प्रतिष्ठित ध्यान चन्द पुरस्कार २०२२ -ले सम्मानित भएका छन् ।
पारा एथलेटिक्स खेलमा पुऱ्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई हिजो राष्ट्रपति द्रौपदी मुर्मुले ध्यान चन्द पुरस्कारले सम्मानित गरेकी हुन् ।
नीरबहादुर गुरुङ पूर्व भारतीय सैनिक हुन् । उनले सटपुट, जेभलिन थ्रो र डिस्कस थ्रो जस्ता अन्तर्राष्ट्रिय पारा एथलेटिक्स खेलमा ५० भन्दा अधिक पदक जितेका छन् ।
१९८३ मा एक दुर्घटना परी घाइते भएका नीरबहादुर गुरुङ साहस र इच्छाशक्तिका गर्विलो उदाहरण हुन् ।
दुर्घटना परी हिँड्नै नसक्ने भएपछि उनले खेललाई आफ्नो साहस र इच्छाशक्तिको आधार बनाए । यसै खेलमार्फत गुरुङ चिनिए । चार दर्जन भन्दा बढी पदक जिते ।
हिजो राष्ट्रपति भवनमा पदक प्रदान समारोहमा ध्यान चन्द पुरस्कारका लागि उनको नाम उच्चारण भइरहँदा ताली जोड जोडले बजिरहेको थियो ।