दार्जिलिङ, १ दिसम्बर: संसदको शीतकालीन सत्रअवधि ल्याइने बिलहरूका सूचीमा गोर्खाका कुनै मुद्दा परेन, अर्थात यसपटकका पनि गोर्खाका लागि माछा माछा भ्यागुता नै भयो।
यद्यपि सांसद राजु विष्ट भने भाजपा सरकारले २०२४ -को लोकसभा चुनाउ अघि नै गोर्खा जातिलाई न्याय दिने कुरामा विश्वस्त देखिएका छन्।
हिजो दार्जिलिङको हिमालयन पर्वतारोहण संस्थानमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थिति विष्टले कार्यक्रमपछि पत्रकारहरूले सोधेका प्रश्नका उत्तरमा ठोकुवा गरे – बिलका सूचीमा गोर्खाका मुद्दा पर्दा-नपर्दा केही फरक हुनेछैन। एकदिन अघि मन्त्रिपरिषद्को बैठक बसेर अर्का दिन संसदमा बिल ल्याइएका धेरै घटना छन्।
सांसदको दावी कतिसम्म छ भने २०२४ को लोकसभा चुनाउ अघि नै भारतीय जनता पार्टीले दार्जिलिङ पहाडका लागि केही न केही कोशेली अवश्य दिनेछ।
यसैबिच, उनले अब पहाडमा भारतीय जनता पार्टीले चुनाउ लड्न गोर्खाका दुई प्रमुख मुद्दामध्ये कुनै एउटा मुद्दा पनि फत्ते गर्नु नै पर्ने नभए चुनाउमा अप्ठ्यारो हुने स्विकारेका छन्।
विष्टको भनाइ छ – यसो गरे मात्र भाजपालाई पहाडमा चुनाउ लड्न सजिलो हुनेछ। नत्र अप्ठ्यारो पर्नेछ। किनभने १५ वर्ष बित्दा पनि केही नगर्नु ठिक होइन।