दार्जिलिङ, १ दिसम्बरः हाम्रो पार्टीका अध्यक्ष अजय एड्वर्ड्सले केन्द्रीय गृहमन्त्री अमित शाह र दार्जिलिङका सांसद राजु विष्टलाई पत्र लेखेर खबरदारी गराएका छन्।
एड्वर्ड्सले पत्रमा स्पष्ट भनेका छन् – गोर्खालाई गरेका वाचा भाजपाले यथाशीघ्र पूरा गर्नु पर्नेछ, नभए हाम्रो पार्टीले घुँडा धसेर विरोध गर्नेछ।
यदि भाजपाले गोर्खालाई गरेका वाचा पूरा गरेको खण्डमा २०२४ को लोकसभा चुनाउमा हाम्रो पार्टीले आँखा चिम्लेर समर्थन जनाउने पनि जानकारी उनले पत्रमार्फत गराएका छन्।
भाजपा सरकारको पाँच वर्षे कार्यकाल पूरा हुनैलागेको छ, तर गोर्खालाई गरेका वाचालाई सम्बोधन गर्न त परको कुरो, तर यससम्बन्धमा अहिलेसम्म भाजपाले कुनै पहल समेत गरेको छैन।
एड्वर्ड्सले पत्रमा भनेका छन् – दार्जिलिङ पहाडवासीले भारतीय जनता पार्टीलाई १५ वर्ष दिइसकेका छन्। तर यतिका वर्षसम्म पनि भाजपाले केही नगरेका कारण जनता सबै निराश बनिसकेका छन्।
अजय एड्वर्ड्सका अनुसार हिजो सांसद राजु विष्टले संसदको शीतकालीन सत्र अवधि विशेष बिल ल्याउनसकिने जुन सङ्केत दिएका छन्, त्यसले हाम्रो पार्टीलाई झिनो आशा जागेको छ।
उनले अझ भनेका छन् – पछिल्ला चुनाउहरूमा हामीले जसरी भाजपालाई निःस्वार्थ भावले समर्थन गरेका छौँ, यसैले भाजपाले पनि हाम्रा दीर्घकालीन मागहरूलाई अवश्यै पूरा गर्नु पर्नेछ।