फिगा र जीएसएसएसद्वारा अहलुवालियाको बयानको भर्त्सना : अञ्जनी शर्माले भनिन् – अहलुवालिया सबैभन्दा अकर्मण्य सांसद

0
1499
अञ्जनी शर्मा भुजेल (फोटो सौजन्य : फेसबुक)

दार्जीलिङ, 2 मार्च :  दार्जीलिङका लोकसभा सांसद एवं केन्द्रिय मन्त्री एसएस अहलुवालियाले दिएको विवादास्पद बयानको फेडरेशन अव् इण्डियन गोर्खाज एसोसिएशन (फिगा ) र गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले तीखो शब्दमा भर्त्सना गरेका छन्।

शनिबार फिगाकी राष्ट्रिय संयोजक एवं जीएसएसएसकी राष्ट्रिय प्रवक्ता अञ्जनी शर्मा भुजेलले एक भिडियो जारी अहलुवालियाले दिएको बयानलाई आक्षेपपूर्ण र गैर प्रजातान्त्रिक भन्दै उक्त बयानको निन्दा गरेकी हुन्।

दार्जीलिङका लोकसभा सांसदले आफ्नै निर्वाचन क्षेत्रका मानिसहरूलाई लिएर जुन बयान दिए, त्यो बयान अत्यन्त निन्दानीय र दुःखद रहेको उनको भनाइ छ। साथै अहलुवालियाले दार्जीलिङको एउटै पनि समस्याको समाधान नगरेको पनि शर्माले बताएकी छन्।

“हामीले पछिल्लो वर्ष धेरैपटक तपाईं (अहलुवालिया)-लाई भेट्यौं। धेरै समस्या राख्यौं। सबै समस्यालाई समाधान गर्ने आश्वासन मात्र दिने काम गरे, तर काम भने एउटै गरेनन्। सांसदले प्राप्त गर्ने सबै सुविधा उनले लिए”, उनले थपिन्, “सबै सुविधा लिएर उनले दार्जीलिङ लोकसभा क्षेत्रका मानिसहरूका लागि काम गर्नको सट्टा अहलुवालियाले दार्जीलिङका गोर्खाहरूलाई लिएर जुन बयान दिए, त्यसको हामी भारतीय गोर्खा कड़ा रूपमा विरोध गछौं।”

दार्जीलिङ लोकसभा क्षेत्रमा अहलुवालियाले नराम्रो प्रकारले विभाजनको राजनीति गर्ने कोशिश गरेको पनि शर्माको भनाइ छ। दार्जीलिङ, कालेबुङ, सिलगढ़ी, फाँसीदेवा र चोपड़ा अलग भए तापनि यी ठाउँहरूको समस्या समान रहेको कुरा अहलुवालियालाई थाहा भएको जीएसएसएसकी राष्ट्रिय प्रवक्ताले बताइन्।

“दार्जीलिङका गोर्खाहरू होइन, तर अहलुवालिया नै बाहिरका हुन्”, उनको भनाइ थियो।

उनले भनिन्, “जब भारत भारत बनिएको थिएन, तबदेखि हामी दार्जीलिङका हौं। भारत भारत बनिन अघिनै दार्जीलिङमा हाम्रा पुर्खाहरू थिए।” अञ्जनीका अनुसार  भारतको स्वाधीनता सङ्ग्राममा हाम्रा बाजे बराज्युहरूको योगदान र सहभागिता बाक्लो छ। साथै राष्ट्रिय कङ्ग्रेस बनियो, त्यसबेला हाम्रा बाजे बराज्युहरू त्यसका सक्रिय सदस्य थिए।

शर्माले दार्जीलिङबाट यसपालि लोकसभा उम्मेद्वार नै हुनुपर्ने कुरामा जोड़ दिए। भूमिपुत्र उम्मेद्वारले मात्र दार्जीलिङको समस्या समाधान गर्न पहल गर्ने उनको भनाइ छ। उनका अनुसार दार्जीलिङमा भूमिपुत्रको आवश्यकतालाई अहलुवालियाको निष्क्रियता र अकर्मण्यताले अझ टट्कारो बनाएको छ।

“हाम्रो उम्मेद्वार भूमिपुत्र नै हुनुपर्छ। दार्जीलिङको भूमिसँगै जोड़िएको हुनुहुन्छ। किनभने भूमिपुत्रले मात्र दार्जीलिङको समस्या बुझ्नेछन्। समस्या समाधान गर्न पहल गर्नेछन्”, उनले भनिन्।

अहलुवालियालाई दार्जीलिङको जनप्रतिनिधि बनाएर दार्जीलिङवासीले कति ठूलो गल्ती गरे भन्ने कुरा अहिले सबैलाई भइरहेको उनले बताएकी छन्। “सांसदको रूपमा अहलुवालिया पूर्ण रूपले विफल व्यक्ति हुन्, जसले सांसदले वहनले गर्नुपर्ने एउटै जिम्मेवारी पूरा गरेनन्”, उनले थपिन्, “अहलुवालिया अहिलेसम्मकै सबैभन्दा अकर्मण्य सांसद हुन्।”

प्रधानमन्त्री मोदीको भरोसामा दार्जीलिङका मानिसहरूले भाजपालाई जिताएर पठाएकोले आफ्नो निर्वाचन क्षेत्रका मानिसहरूबारे विवादास्पद बयान दिने सांसद अहलुवालियामाथि कठोर कारबाही गर्ने भाजपा र प्रधानमन्त्रीसँग माग उनले गरेकी छन्।

साथै आगामी 6 मार्चसम्म अहलुवालियाले आफ्नो निर्वाचन क्षेत्रका लागि के कति कार्य गरे तथा के कस्ता पहल गरे, त्यो लिखित रूपले बताउनुपर्ने बताएकी छन्। यदि 6 मार्चसम्म उनले यसबारे नबताए, 7 मार्चको दिन आरटीआई फाइल गर्ने चेताउनी दिएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here