दार्जीलिङ, 2 मार्चः क्रामाकपा (क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी) दार्जीलिङ पहाड़का तीनवटा आसनमा गठबन्धनका साझा उम्मेद्वारहरू उठाउनुपर्ने माग राखे पनि दार्जीलिङ र खरसाङमध्ये एउटा आसन आफूलाई दिनुपर्ने अड़ान पनि स्पष्ट पारेको छ।
क्रामाकपाको स्पष्ट भनाइ छ-क्रामाकपाले केवल छुट्टै राज्य गोर्खाल्याण्डका लागि नै विभिन्न राजनैतिक पार्टीलाई समर्थन जनाएको हो। र भाजपा, कङ्ग्रेसजस्ता पार्टीहरूलाई पनि साथ दिएकै हो, जसको एउटै लक्ष्य छुट्टै राज्य गोर्खाल्याण्डको माग पूर्ण गर्नु हो। यसैका लागि क्रामाकपाले भाजपालाई पनि साथ दिएको हो र भाजपासँगको गठबन्धन अझै जारी छ। यसैले यो गठबन्धन यथावत् रहोस् भन्ने क्रामाकपाको जोड़ छ। तर, दार्जीलिङ पहाड़का तीनवटा आसनमा भाजपाले दार्जीलिङ पहाड़का क्षेत्रीय पार्टीहरूलाई नै उम्मेद्वार खड़ा गर्ने अवसर प्रदान गर्नुपर्छ।
क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीका अनुसार दार्जीलिङ पहाड़का क्षेत्रीय राजनैतिक पार्टीहरूमाझ नै आसन बाँड़चुँड़ हुनपर्छ।
“क्रामाकपाले क्षेत्रीय मुद्दा र क्षेत्रीय राजनीतिलाई बचाउने पूर्ण प्रयास गरिरहेको छ। यसैकारण पनि बङ्गाल विधानसभाको चुनाउमा दार्जीलिङ पहाड़का तीनवटा आसनमा क्षेत्रीय पार्टीहरूकै उम्मेद्वार खड़ा गराउनुपर्छ। जसमध्ये क्रामाकपाले दार्जीलिङ वा खरसाङमा आफ्नो उम्मेद्वार उठाउने पनि सङ्कल्प गरेको छ। किनभने, दार्जीलिङ जिल्लाको मुख्यालय हो भने खरसाङमा क्रामाकपाको राम्रो पकड़ छ।”
वर्तमान समयमा दार्जीलिङ विधानसभा आसनमा भाजपाकै विधायक नीरज जिम्बा छन् र उनको स्थानमा भाजपाले अन्य क्षेत्रीय पार्टीलाई सहयोग गर्न सक्ला? भन्ने प्रश्नको उत्तरमा क्रामाकपा प्रवक्ता छेत्रीले भने, “सर्वप्रथम दार्जीलिङका जनता सचेत हुनपर्छ। विधानसभामा गएर कसले जनताका लागि कति काम गरे, जनताले त्यसको हिसाब-किताब सोध्न सक्नुपर्छ। विपक्षी पार्टीका नेताहरूले पिरासम्म पनि ल्याएन भन्ने विधायकले के मुँड़ा ल्याए त? अब दार्जीलिङका विधायकले दार्जीलिङका जनतालाई आफ्नो कार्य अनि दक्षताको हिसाब दिनुपर्छ।”
यसैबीच, भाजपा नेतृत्वावधीन केन्द्र सरकारले विधानसभा चुनाउको घोषणा हुनअघिसम्म दार्जीलिङ पहाड़का लागि केही गरेन, तरै पनि क्रामाकपाले भाजपासितको गठबन्धनलाई के-को आशामा यथावत राख्न चाहन्छ? भन्ने प्रश्न गर्दा उनले भने, “भाजपालाई साथ दिने दार्जीलिङ पहाड़का घटक दलहरूले भाजपालाई 2024-सम्मको म्याद दिएका छन्। 2024-सम्म भाजपा नेतृत्वावधीन केन्द्र सरकारले आफ्नो वचन पूरा गर्छ भन्ने कुरामा पार्टी विश्वस्त छ। यसैले विधानसभा चुनाउअघि केही नभए पनि पार्टीले भाजपासितको साथलाई 2024-सम्म जारी राख्ने निर्णय लिएको हो। तर, विधानसभा चुनाउमा भाजपाले पहाड़का क्षेत्रीय घटक दलहरूलाई नै उम्मेद्वार उठाउने अवसर प्रदान गर्नुपर्छ र ती पार्टीहरूलाई भाजपाले समर्थन जनाउनुपर्छ।”
अर्कोतिर क्रामाकपाले दार्जीलिङ पहाड़का तीनवटा आसनको लागि पार्टीगतरूपले चुनाउ पर्यवेक्षकहरूको चयन गरिसकेको छ भने पर्चा, पोस्टर बनाउने कार्यको पनि थालनी गरिसकेको छ।
क्रामाकपाले दार्जीलिङका लागि शेखर छेत्री, कालेबुङका लागि विक्रम छेत्री र खरसाङ विधानसभा आसनका लागि रमेश राईलाई पर्यवेक्षक बनाएको पनि गोविन्द छेत्रीले जानकारी गराए।
उल्लेखनीय छ, 2019-मा दार्जीलिङ विधानसभाको उपचुनाउमा भाजपाले दार्जीलिङबाट नीरज जिम्बालाई उम्मेद्वार बनाएर खड़ा गर्दा क्रामाकपाले त्यसको विरोध गरेको थियो अनि भाजपा उम्मेद्वारको विरोधमा एक स्वतन्त्र उम्मेद्वारलाई समर्थन जनाएको थियो।