केएन राईको अवस्था सोचनीय, लगियो दिल्ली

0
471

सिलगढी, २ मार्चः प्राणघातक हमलामा गम्भीर घाइते भएका केएन राईलाई राम्रो उपचारका लागि आज बेलुकीपख दिल्ली लगिएको छ।

राईलाई हिजै सिलगढीको निओटिया नर्सिङ होममा भर्ती गरिएको थियो, तर उनको अवस्था चिन्ताजनक रहेका कारण राम्रो उपचारका लागि यहाँबाट दिल्ली लगिएको हो।

उनलाई एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो।  

हिजो अपराह्न नाम्ची जिल्लाको मल्लीमा  साङ्घातिक हमलामा राई गम्भीर घाइते भएका थियो।

निर्मतापूर्वक गरिएको हमलामा राईको अनुहारका धेरै हड्डी भाँचिएका छन्, जसका कारण उनको अवस्था अत्यन्त सोचनीय बनेको हो।

राईलाई हेर्न एसडीएफ अध्यक्ष एवम् पूर्व मुख्यमन्त्री पवन चाम्लिङ, पूर्व लोकसभा सांसद पीडी राई, पूर्व मन्त्री डीडी भोटियालगायत अन्य निओटिया नर्सिङ होम आएका थिए। उनीहरूले राईको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आज बिहान निओटिया नर्सिङ होम आइपुगेका एसडीएफ अध्यक्ष एवं पूर्व मुख्यमन्त्री चाम्लिङले पत्रकारहरूलाई सम्बोधन गर्दै यो हमलालाई पूर्वनियोजित हमलाको संज्ञा दिँदै एसकेएम सरकारले राज्यमा जङ्गलीराज चलाइरहेको र यसलाई रोक्न यथाशीघ्र राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गरेका छन्।

उल्लेखनीय छ, हिजो अपराह्न नाम्ची जिल्लाको मल्लीमा केएन राई लगायत अन्यमाथि प्राणघातक हमला भएको थियो, जुन हमलामा राई गम्भीर घाइते भएका हुन्।

यस हमलामा संलग्न छः जना व्यक्तिलाई पुलिसले पक्राउ गरिसकेको बताइएको छ।

एसडीएफका वरिष्ठ उपाध्यक्ष एवं राज्यका पूर्व मन्त्री तथा पूर्व विधानसभा अध्यक्ष केएन राई लगायत अन्यमाथि भएको प्राणघातक हमलाको सिक्किममा चौतर्फी निन्दा भइरहेको छ। राज्यका विभिन्न दलले यस घटनाको निन्दा गर्दै दोषीहरूलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने माग गरिसकेका छन्।

यो घटनाले सिक्किमको कानुन व्यवस्थामाथि पनि प्रश्न उठिरहेकाले कानुन व्यवस्था बलियो र निष्पक्ष हुनुपर्ने माग ती दलहरूको छ। किनभने सिक्किममा पछिल्लो समयमा हिंसाका घटनाहरू बढ्दै गइरहेका छन्। यी हिंसाका घटनाहरूमा सत्तारूढ दल एसकेएमको हात रहेको एसडीएफले बारम्बार दावी गर्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here