32 वटै विधानसभा र लोकसभा सीट जितेर हामी इतिहास रच्नेछौं : गोले

0
1957
गेजिङ बजारमा चुनावी जनसभालाई सम्बोधन गर्दै पीएस गोले।

गान्तोक, 1 अप्रेल : राज्यको सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-ले नागरिक संशोधन बीललाई समर्थन गरी सिक्किमे जनतालाई जिउँदै खाड़लमा पुर्ने कोशिश गरिरहेको आरोप सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का अध्यक्ष गोलेले लगाएका छन्।

सोमबार गेजिङ बजारमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्दै गोलेले यस्तो आरोप लगाएका हुन्।

उनले भने, “एसडीएफले नागरिक संशोधन बीलको समर्थन गरेको छ। अब फेरि जनताले एसडीएफ पार्टीलाई सत्तामा ल्याए, नागरिक संशोधन बील लागू हुनेछ। यो बील लागू भए सिक्किम सब्जेक्ट र डोमिसियलको कुनै महत्त्व हुनेछैन। भित्र र बाहिरका भन्ने केही हुँदैन।  यदि सिक्किमे जनताले आफ्नो सिक्किम सब्जेक्ट र डोमिसियल बचाउनु हो भन्ने एसडीएफलाई सत्ताच्यूत बनाउन पर्नेछ। सिक्किमे जनताले नागरिक संशोधन बीलको विरोध गर्न र सिक्किमलाई बचाउनका लागि एसकेएम पार्टीलाई सत्ता ल्याउन पर्नेछ।”

गोलेले एमकेएम पार्टीले मात्र सिक्किम बचाउने तथा एसकेएमको सत्तामा मात्र सिक्किमको भविष्य सुरक्षित रहने दाबी गरे।

“सिक्किम र सिक्किमे जनताको हक-हित, अधिकार र सुरक्षाका लागि प्रतिबद्ध एसकेएमको शासनमा मात्र सिक्किमको भविष्य सुरक्षित हुनेछ”, एसकेएम अध्यक्षले भने। आफ्नो सम्बोधनमा एसकेएम अध्यक्षले एसडीएफको सरकारमा पश्चिम जिल्ला धेरै हेपिएको पनि बताए।

उनले भने, “एसडीएफ सरकारमा पश्चिम जिल्ला साह्रै हेपिएको छ। यस जिल्लामा एउटा राम्रो अस्पताल छैन। कलेज त छ, तर कलेजको क्याम्पस छैन। स्वास्थ्य, शिक्षा साथै अन्य पूर्वाधारहरू पश्चिम जिल्लामा शून्य छ। पश्चिम जिल्लाका जनताले पाँचपटक एसडीएफ पार्टीलाई सत्तामा पुर्‍याए, तर यहाँको विकासमा मुख्यमन्त्री चामलिङले कहिले चासो देखाएनन्। अहिले भोटअघि फेरि पश्चिम जिल्लामा विकास गर्छु भनेर भाषण दिँदैछन्, तर यो भाषण भोट प्राप्त गर्ने प्रलोभन मात्र हो। अब पश्चिम जिल्लाका जनता सरकार परिवर्तन गर्नका लागि तयार हुनुपर्छ।”

गोलेले आफ्नो सम्बोधनमा सन् 2006 -मा सीमाङ्कन हुँदा पश्चिम जिल्ला ठूलो नोक्सान भएको पनि बताए। उनका अनुसार 2006 -मा सीमाङ्कन हुँदा 9 वटा समष्टिबाट घटेर 8 वटा भयो।

“समष्टि त 8 वटा छ, तर वास्तवमा 7 वटा भन्दा हुन्छ। यो एसडीएफ सरकारको सुनियोजित षड़यन्त्र हो”, एसकेएम अध्यक्षले थपे, “नयाँ बजारदेखि लेकशेप तथा नयाँ बजारदेखि सोमबारेसम्मलाई औद्योगिक क्षेत्र घोषित गरे तापनि यो भेगमा एउटै पनि उद्योग स्थापित गर्न सकेन।”

उनले 2014 को चुनाउमा शून्य सीट दिने पश्चिम जिल्लाले 8 वटै  सीटमा एसकेएमलाई जिताएर इतिहास रच्ने थप दाबी पनि गरे।

मुख्यमन्त्री चामलिङप्रति कटाक्ष गर्दै उनले भने, “म सत्तामा पुगेको खण्डमा चामलिङले जस्तो आफ्नो चोरालाई केसिनो र जुवाको अड्डा  जिम्मा दिने छुइनँ। आफ्नी श्रीमतीलाई फूलको व्यापार गर्नु लगाएर भए नभएका सबै नाफा हुने व्यापार आफ्नो परिवारलाई दिने छुइनँ। म कङ्गाल हुन्छु, तर सिक्किमे जनतालाई कहिले धोका दिने छुइनँ। पीएस गोलेको परिवार भोकै मर्छ, तर चामलिङअघि कहिल्यै झुक्ने छैन।”

उनले थप भने, “चामलिङ व्यापारी हो, राजनेता होइन। सिक्किमे जनतालाई धोका दिएर चामलिङले एसकेएमका सात विधायक किनेर लगे। अहिले चुनाउको छेकमा सिक्किम लुटेको कालो धन जनतालाई बाँड़ेर फेरि सत्ता हत्याउने कोशिश गर्दैछन्। कीर्ते अलट्मेण्टहरू बाँड़्दै हिँड़्दैछन्, तर एसकेएम पार्टी भनेको गरीब जनताको पार्टी हो। हामीलाई एकपटक सत्तामा बनाउनुहोस्, हामी 2024-मा तपाईंहरूलाई भोट माग्ने छैनौ। हाम्रो काम हेरेर तपाईंहरूले आफैले भोट दिनु हुनेछ।”

चामलिङप्रति आक्रामक देखिएका गोलेले एसडीएफ अब सत्ता आउनु भनेको दिवास्वप्नजस्तै रहेको दाबी गरे। साथै यसपटकको चुनाउमा एसकेएमले विधानको 32 वटै र लोकसभा सीट जितेर इतिहास रच्ने ठोकुवा गरे।

“यसपालि जनताले सरकार परिवर्तन गर्ने मन बनाइसकेका छन्। हामी 32 वटै विधानसभा सीट र लोकसभा सीट जितेर इतिहास रच्नेछौं। हाम्रो सबैका लागि समान अधिकारको नयाँ र उज्यालो सिक्किमको निर्माण गर्नेछौं”, उनले थपे।

सभालाई लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बाले पनि सम्बोधन गरेका थिए। यसअवसरमा योकसम टाशिडिङका उम्मेदवार साङ्गे लेप्चा, मानेबुङ-देन्तामका उम्मेदवार पूर्णहाङ सुब्बा, याङथाङका उम्मेदवार पूर्णहाङ सुब्बा र गेजिङ-बर्मेकका उम्मेदवार एलएन नेपाल विशेष रूपले उपस्थित थिए।

एसकेएमका प्रचार प्रसार सचिव रञ्जना प्रधानले एक प्रेसविज्ञप्ति जारी गरी बताएअनुसार उक्त चुनावी सभाकै अवसरमा योकसम-टाशिडिङ समष्टिका विभिन्न जीपीयूबाट 945 परिवार,  याङथाङ समष्टिका विभिन्न जीपीयूबाट 60 परिवार, मानेबुङ-देन्ताम समष्टिका विभिन्न जीपीयूबाट  55 परिवार, गेजिङ-बर्मेक समष्टिका विभिन्न जीपीयूबाट 45 परिवार गरी कुल 1105 परिवारले  एसडीएफ पार्टी त्यागेर एसकेएममा  सामेल भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here