गान्तोक, 1 अप्रेलः “धरती पल्टिएन भने, आकाश झरेन भने, एसडीएफलाई छैटौंपटक सरकार बनाउन कुनै शक्तिले रोक्न सक्नेछैन”, एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले आज दक्षिण सिक्किमको कटेङमा भने।
आफ्नो ‘विजय सङ्कल्प यात्रा’-को चौथो दिन चामलिङ आज नामथाङ-रातेपानी समष्टिको कटेङमा एउटा चुनावी जनसभालाई सम्बोधन गरिरहेका थिए। नामथाङ-रातेपानी र मल्ली समष्टिका लागि आयोजित जनसभामा दुवै क्षेत्रका एसडीएफ उम्मेदवार ब्रिजन तामाङ र फरवन्ती तामाङसँगै एसडीएफका लोकसभा उम्मेदवार डीबी कटवाल पनि सहभागी थिए।
“32 मा 32 सीट अनि लोकसभा सीट पनि जितेर एसडीएफ सरकारमा आउँदैछ। केन्द्रले आरक्षण नदिए पनि हामीले लिम्बू-तामाङलाई पाँचवटा सीटबाट उठाउँछौं भनेका थियौं। मैले मेरो वचन पूरा गरेको छु। अब जनताले एसडीएफका सबै उम्मेदवारलाई जिताएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ”, तामाङ बहुल क्षेत्र कटेङ गाउँमा चामलिङले भने।
विपक्षी पार्टी एसकेएमले बहुसङ्ख्यक नेपालीहरूलाई जिउँदै गाड्ने काम गरिरहेको आरोप पनि चामलिङले दोहोर्याए।
“केन्द्रिय गृह मन्त्रालयमा नकारात्मक ज्ञापन चढ़ाएर, सर्वोच्चमा मुद्दा हालेर एसकेएमले लिम्बू-तामाङको आसन आरक्षणलाई जटिल बनाएको छ। अब सर्वोच्चमा फैसला नभएसम्म केन्द्रले केही गर्न सक्दैन। एसकेएमलाई कुन शक्तिले चलाउँदैछ? 1978 मा नेपालीलाई जनजाति हुन नदिने शक्ति, 1987 मा ट्राइबल हुनैलाग्दा रोक्ने शक्ति, 2003 मा लिम्बू-तामाङलाई जनजाति बनाउँदा रोक्ने शक्तिले नै आज पनि लिम्बू-तामाङको आरक्षण रोक्न खोज्दैछ”, चामलिङले आरोप लगाउँदै भने, “प्यारिटी सिस्टमका कारण जनताले 1973 मा आन्दोलन गरेर सिक्किमलाई भारतमा विलय गराएका थिए। आज यत्तिका दिनपछि पनि जनताले न्याय पाएका छैनन्। बहुसङ्ख्यक नेपालीलाई अन्याय हुँदा सिक्किम शान्त हुँदैन। एसकेएमको लिम्बू-तामाङको फर्मुला प्यारिटीभन्दा खतरनाक छ।”,
एक्काइसौं शताब्दीमा पनि एसकेएमले ‘जनता मारेर भए पनि सरकार गठन गर्नुपर्छ’ भनेको बताउँदै चामलिङले त्यसको निन्दा गरे। एसकेएम र सत्तारूढ़ पार्टीबीच चुनावी घोषणाको जुन होड़ चलेको छ, त्यसमाथि पनि उनले आफ्नो आर्थिक नीति स्पष्ट पारे।
“एसकेएमले प्रत्येक बेरोजगारलाई नोकरी, 10 हजार रुपियाँ मासिक भत्ता, घरको महिला मुखियालाई 5 लाख जस्ता घोषणाहरू गरेको छ, तर कहाँबाट दिन्छ? त्यो समाधान छैन। ‘एक परिवार एक नोकरी’ योजनामा नोकरी पाउनेलाई 100 दिनमा स्थायी गर्छु भन्दैछ। सिक्किममा अहिले 1.5 लाख विद्यार्थी छन्। भोलि उनीहरू सबैलाई नोकरी दिन सक्छ? उनीहरू जनतालाई ढाँट्दैछन्। तर, हामीसँग समाधान छ। जलविद्युत् परियोजना, परि-पर्यटन, जैविक खेतीको ब्राण्ड, फार्माश्युटिकल कम्पनी, औद्योगिक संस्थान जस्ता अनेकौं स्रोत र संसाधनबाट हामी आफूले गरेका वाचा सहजै पुर्याउन सक्छौं। मैले 25 वर्ष मुख्यमन्त्री गरेको छु, गहिरो अनुभव छ”, चामलिङले दृढ़तासँग भने।
सिक्किम 48 हजार करोड़ ऋणमा डुबेको एसकेएमको दाबीको पनि मुख्यमन्त्रीले खण्डन गरे। “एलडी काजीको समयदेखि अहिलेसम्म सिक्किमले 4800 करोड़ मात्र ऋण लिएको छ। भारत सरकारबाट प्राप्त धनराशिमा 90 प्रतिशत अनुदान हुन्छ अनि 10 प्रतिशत ऋणको रूपमा राज्यलाई दिइन्छ। यो स्वाभाविक ऋण हो। सिक्किमले ऋण तिर्दै आएको छ। ऋण चुकाउन चुकेको छैन। विश्वमा सबैभन्दा बढ़ी ऋण अमेरिकाको छ। दोस्रोमा चीन पर्छ। सरकारको ऋण सिक्किमे जनताले तिर्नुपर्दैन, सरकारले तिर्छ”, चामलिङले विपक्षीको आरोपप्रति स्पष्टीकरण दिए।
आगामी सरकार युवामुखी हुने उनले दोहोर्याए। “तपाईंहरू मलाई साथ दिनुहोस्, म तपाईंहरूलाई सुन्दर भविष्य दिन्छु”, उनले राज्यका युवाहरूलाई आह्वान गरे। झण्डै आधा सीटमा युवाहरू उठाएर सिक्किमको भविष्य युवा पुस्तालाई दिने तयारी गरिरहेको चामलिङले बताए।
“हेभिवेट र अनुभवी नेताहरूलाई बसाएर युवाहरूलाई टिकट दिएका छौं। आउने सरकारमा युवाहरूको राज होस् भनेर यस्तो गरिएको हो। सिक्किमेली राजनीतिको मुख्यधारामा युवाहरू आउनुपर्छ”, उनले आह्वान गरे।
आगामी सरकारमा केही नवोन्मेषी परिकल्पनाहरू पनि मुख्यमन्त्रीले क्षेत्रका युवाहरूसँग साझा गरे। नामथाङ र मल्ली क्षेत्रमा राज्यकै चर्चित पर्यटनस्थल बनाउने चामलिङले आश्वासन दिए। तिमी-तार्कु क्षेत्रस्थित टेण्डोङ डाँड़ामा संसारभरिकै प्रजातिहरू ल्याएर रोप्ने अनि विश्वकै एक प्रमुख जैव विविधता उद्भिद अनुसन्धान केन्द्र बनाउने, 50-60 ऐकर जमिनमा संसारभरिका बाँसका प्रजातिहरू एकै ठाउँ रोपेर पर्यावरण अनुकूल पर्यटनस्थल बनाउने, संसारभरिका घरेलु जनावरहरू एउटै जिल्लामा ल्याएर पर्यटन केन्द्र बनाउने, डम्फूका आविष्कार पेम दोर्जी मेमेको संसारकै सबैभन्दा ठूलो मूर्ति बनाउने अनि तामाङ जातिको लोकसंस्कृति र परम्पराको संरक्षण, अध्ययन र अनुसन्धान केन्द्र निर्माण गर्ने जस्ता नवोन्मेषी कार्य आगामी सरकारमा गर्ने एसडीएफ अध्यक्षले बताए।
मल्ली र नामथाङ क्षेत्रको पानी र सड़कको प्रमुख समस्यालाई पनि उनले सम्बोधन गरे। दक्षिण जिल्लामै पानीको समस्या भएकोले आगामी सरकारमा त्यसलाई उच्च प्राथमिकताका साथ हल गर्ने उनले बताए। यसैगरी, बाधारहित बिजुली, गुणस्तरीय सड़क, जनताका मागअनुसार पब्लिक अडिटोरियम र प्रत्येक ग्राम पञ्चायतमा खेलमैदानको निर्माण, बिजुलीको पुरानो बिल मिनाहा गरिदिने जस्ता घोषणाहरू पनि चामलिङले गरे।
यसअघि, नामथाङ-रातेपानीका एसडीएफ उम्मेदवार ब्रिजन तामाङले विपक्षीहरूले कुर्सी र सत्ताको लोभ अनि बदलाको भावनाले राजनीति गरिरहेको आरोप लगाए।
मल्लीकी एसडीएफ उम्मेदवार फरवन्ती तामाङ पनि विपक्षी एसकेएमविरुद्ध गर्जिँदै 32 मध्ये दुईजना नारीलाई मात्र टिकट दिएर एसकेएमले नारीहरूप्रतिको दृष्टिकोण उदाङ्गो पारेको आरोप लगाइन्।
“एसडीएफले नारी-चेलीहरूलाई दिएको सम्मान एसकेएमले खोस्दैछ” उनको दाबी थियो। चुनावी सभालाई लोकसभा उम्मेदवार डीबी कटवालले पनि सम्बोधन गरे।
यस अवसरमा विभिन्न पार्टी त्याग गरेर केही युवाहरूले एसडीएफमा सामेली पनि दिएका थिए।
सभामा नामथाङ-रातेपानीकी निवर्तमान विधायक तिलु गुरुङ, मल्लीकी निवर्तमान विधायक तुलसीदेवी राई, एसडीएफका दक्षिण जिल्ला प्रभारी उपाध्यक्ष गिरिशचन्द्र राई आदिको पनि विशेष उपस्थिति रहेको थियो। सभामा मल्ली र नामथाङ समष्टिका एसडीएफ समर्थक खासगरी युवाहरूको बाक्लो सहभागिता थियो।