दार्जीलिङ, २ अप्रेलः चियाश्रमिकहरूलाई आर्थिक सहयोग गर्नुपर्ने अनुरोध गर्दै सांसद राजु विष्टले केन्द्रिय वाणिज्य मन्त्री पीयूष गोयललाई पुनः पत्राचार गरेका छन्।
पत्रमा उनले पश्चिम बङ्गालका चियाश्रमिकहरूले केवल १७६ रुपियाँ दैनिक ज्याला पाउने हुनाले उनीहरू रकम वचत गर्नमा असमर्थ रहेको तथा कोरोना भाइरसको महामारी र जारी लकडाउनको कारण चियाश्रमिकहरू ठूलो आर्थिक सङ्कटमा परेका जानकारी गराएका छन्।
विष्टका अनुसार उनले केन्द्रिय मन्त्री गोयललाई केन्द्रबाट डाइरेक्ट बेनिफिट ट्रान्सफरमार्फत चिया श्रमिकहरूलाई सहयोगलाई सहयोग गर्नुपर्ने माग गरेका छन्, जसले उनीहरूलाई यस सङ्कटबाट जोगाउन मद्दत गर्नेछ।
यसका साथै उनले चिया उद्योगलाई पनि आर्थिक सहयोग गर्नुपर्ने अनुरोध गरेका छन्, ताकि चियाउद्योग सञ्चालन सुनिश्चित होस्।
लकडाउनले आर्थिक सङ्कट भोगिरहेका चियाश्रमिकहरूलाई सरकारले सहयोग गर्ने कुरामा विष्ट आशावादी देखिएका छन्।
।