दार्जीलिङ, २ अप्रेलः दार्जीलिङ पहाड़ अनि गोर्खाबहुल क्षेत्रतिर भाजपाले पीपीएस र ११ जातलाई जनजातिको मर्यादा दिने कुरा गरिरहेको आश्वासन पूर्णरूपले झुटो हो भन्ने रोशन गिरीले आरोप लगाएका छन्।
उनले भने, “केन्द्रीय गृहमन्त्री अमित शाहले केही दिनअघि गोर्खाल्याण्डबारे भाजपाको कुनै सोच छैन भन्ने एक बयान दिएका थिए। यसैले भाजपा नेतृत्वावधीन केन्द्र सरकारले कुनै पनि स्थितिमा छुट्टै राज्य गोर्खाल्याण्डको गठन गर्नेछैन भन्ने स्पष्ट भएको छ। यसरी नै गत केही दिनअघि मात्रै गोजमुमो प्रवक्ता विनीता रोकाले गोर्खा जातिभित्रका ११ जातलाई जनजातिको मर्यादा दिने विषय लिएर केन्द्र सरकारले कस्तो पहल गरिरहेको छ भन्नेबारे एक आरटीआई गरेकी थिइन्, त्यसको जवाबमा ११ जातले जनजातिको मर्यादा पाउने निमयहरू पूरा गर्दैन भन्ने जवाब पाइएको छ। यसबाट भाजपा नेतृत्वावधीन केन्द्र सरकारले गोर्खा जातिका ११ जातगोष्ठीलाई जनजातिको मर्यादा नदिने कुरा स्पष्ट भएको छ। यी सम्पूर्ण विषयहरू जनताले बुझ्न आवश्यक छ। यसैले जनता सचेत बनेर यसपालि मतदान गर्नपर्छ।”
भारतीय जनता पार्टीको यस्तै ढाँटको राजनीति बुझेर नै गोजमुमो (विमलपन्थी)-ले भाजपाको साथ छोड़ेर तृणमूल कङ्ग्रेसलाई पुनः राज्यको सत्तामा ल्याउन सहयोग प्रदान गर्ने निर्णय लिएको पनि बताए।
यसैबीच, गिरीले तृणमूल कङ्ग्रेसका पूर्व कोर कमिटी सदस्य राजेन मुखियाले यसपालिको चुनाउमा विमल गुरुङपन्थी गोजमुमोलाई समर्थन जनाउने घोषणा गरेकोमा खुशी व्यक्त गर्दै राजेन मुखियाको निर्णयलाई स्वागत जनाए।