दुईजनाविरुद्ध प्राथमिकी दर्ता : जिम्बाले भने– मेरा समर्थकहरू नभएको भए ममाथि केही पनि हुनेथियो

0
1215
भाजपा उम्मेदवार नीरज जिम्बा

दार्जीलिङ, 2 मई : भाजपा उम्मेदवार नीरज जिम्बामाथि विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कार्यकर्ता रदिन गुरुङले हमला गरेको आरोप उठेको छ। यो हमलामा जिम्बाको वाहनसमेत तोड़फोड़ भएको छ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -को मीडिया सेलले जानकारी गराएअनुसार आज ह्याप्पीभेल्ली चियाकमानमा चुनाउ प्रचार गर्न पुगेका भाजपा उम्मेदवार नीरज जिम्बामाथि विनयपन्थी गोजमुमोका कार्यकर्ता रदिन गुरुङले  हमला गर्नका साथै जिम्बाको वाहन पनि तोड़फोड़ गरेको गोरामुमोको आरोप छ।

अर्कोतिर, यो घटनालाई लिएर उम्मेदवार जिम्बाले दार्जीलिङ सदर थानामा विनयपन्थी गोजमुमोका कार्यकर्ताद्वय रदिन गुरुङ र अनिल राईविरुद्ध प्राथमिकी दर्ता गरेका छन्। प्राथमिकीमा मुख्य हमलाकारी ह्याप्पीभेल्ली लुङथाङ निवासी रदिन गुरुङ रहेको बताइएको छ। प्राथमिकीमा दर्ता गरेपछि पत्रकारहरूलाई घटनाबारे जानकारी गराउँदै भाजपा उम्मेदवार नीरज जिम्बाले आफूमाथि हमला गर्नअघि आरोपी हमलाकारीहरूले ‘विनय तामाङ जिन्दावाद’, ‘अनित थापा जिन्दावाद’, ‘आलोक कान्तमणि थुलुङ जिन्दावाद’ ‘नीरज जिम्बा मुर्दावाद’, ‘नीरज जिम्बा गो ब्याक’ जस्ता नारा लगाएको पनि बताए।

उनले भने, “ममाथि आज ह्याप्पीभेल्लीमा प्राणघातक हमला भयो। मेरा समर्थकहरू नभएको भए र म आफैले यो घटनाको हस्तक्षेप नगरेको भए, आज म तपाईंहरूको अघि हुनेथिइनँ। मेरा समर्थकहरू थिए र भगवान् कृपाले म बाँचे। ममाथि हमला गर्ने रदिन गुरुङ र अनिल राई हुन्। यसमा रदिन गुरुङ मुख्य हमलाकारी हुन्। उनको हातमा धारिलो हतियार थियो। र झोलामा केही थिए। अनिल राईले हमलाकारीका सहयोगी पनि हुन्। उनले (अनिल राईले) बाइक चलाएर मविरुद्ध नारा लगाइरहेका थिए।”

 जिम्बाका अनुसार हमला हुनअघि उनीविरुद्ध नाराबाजी भएको थियो। यो घटना ह्याप्पीभेल्ली मोड र यसभन्दा केही माथि भएको हो।

“मलाई मानिसहरूले खदा माला गरिरहेको बेला रातो रङको 200 पल्सर बाइक चढ़ेर उनीहरू (रदिन गुरुङ र अनिल राई) आएर नाराबाजी गर्न शुरु गरे। त्यहाँ नारीहरू पनि धेरै भएकोले ती दुईले अपशब्द प्रयोग गरिरहेकोले म आफै  हस्तक्षेप गर्न गए। अपशब्द प्रयोग गरिरहेकोले मेरा समर्थकहरू जाँदा केही हुनेभएकोले म आफै हस्तक्षेप गर्न गएँ”, उनले थपे, “अनित थापा दार्जीलिङमा आएर बसेपछि अहिले यहाँ अशान्त भएको छ। किनभने यसभन्दा अघि लोकसभा चुनाउ शान्तिपूर्वक सम्पन्न भएको थियो। अनित थापाले पैसाको राजनीति गरिरहेको छ। खरसाङको मान्छे दार्जीलिङ आएर पैसा बाँड्ने राजनीति गरी जसरी यहाँका जनतालाई मूर्ख सोच्ने गर्दैछन्, त्यसको जवाफ दार्जीलिङका जनताले दिनेछन्।”

जिम्बाले यो हमलालाई प्राणघातक हमलाको षड़यन्त्र बताए। “मलाई र मेरा समर्थकहरूलाई केही नभएपनि यो प्राणघातक हमलाको षड़यन्त्र हो”, उनले थपे। यी भाजपा उम्मेदवारले अनित थापा दार्जीलिङ आएदेखि पहाड़ अशान्त हुनका साथै यहाँको राजनीतिक स्तर पनि खराब भएको आरोप लगाए।

साथै प्रशासनले थापालाई चाँड़ोभन्दा चाँड़ो दार्जीलिङबाट खरसाङ फिर्ता पठाउनुपर्ने माग गरे। पुलिस प्रशासनले निष्पक्ष भएर कानून व्यवस्थालाई सुचारू राख्नुपर्ने थप माग उनको छ। “पुलिसले केवल पुलिसको काम गरिदिओस्। पुलिसले पुलिसजस्तो काम गरिदिओस्। हाम्रो भनाइ यति हो”, उनले भने। यसअवधि उनले आलोक कान्तमणि थुलुङले घरीघरी आफूविरुद्ध आक्रामक बयान दिइरहेको तथा पटकपटक  ‘टार्गेट’ गरिरहेको आरोप पनि लगाए। थुलुङको यस्तो बयान र टार्गेटविरुद्ध केन्द्रिय जनजाति मन्त्रालय विभागमा पत्राचार गर्ने जिम्बाले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here