दार्जीलिङ, 2 मई : दार्जीलिङ पहाड़वासीलाई चक्रवाती तूफान ‘फानी’-लाई लिएर सचेत भएर बस्ने अपील गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्ट्रेशन (बीओए)-का अध्यक्ष एवं विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाले गरेका छन्।
बिहीबार उनले एक प्रेस विज्ञप्ति जारी गरी पहाड़वासीलाई यस्तो अपील गरेका हुन्। विज्ञप्तिमा उनले भनेका छन्, “गोर्खा जनमुक्ति मोर्चा पहाड़वासीको हित चिताउने र जनताका लागि कार्य गर्ने दल हो। हाल चुनाउको माहोलमा सबै राजनीतिक दलले केवल भोट मात्र सोचिरहेका छन्। भोट पाँच वर्षमा आउँछ-जान्छ। भोटभन्दा ठूलो जनसेवा हो।”
पश्चिम बङ्गाललगायत दार्जीलिङमा पनि फानी साइक्लोन आउने अनुमान लगाइएको र फानी साइक्लोन आएको खण्डमा पहाड़मा धेरै असुविधा पर्ने हुनाले कुनै अप्रिय घटना नघटोस् भन्ने आफ्नो चाहना रहेको थापाले विज्ञप्तिमा बताएका छन्।
विज्ञप्तिमा उनले महकुमास्तरीय डिजास्टर म्यानेजमेन्ट टीम गठन गरिदिने तथा हेल्प लाइन पनि राखिदिने आग्रह गरेका छन्। साथै उक्त हेल्प लाइन नम्बर प्रेस मीडियामार्फत जनतासमक्ष सार्वजनिक गरिदिने थापाको आग्रह छ। जसको जनतालाई केही असुविधा भएको खण्डमा उक्त नम्बरमा सोझै सम्पर्क गर्नसक्ने उनको भनाइ छ।
थापाले विगतमा ‘आइला’-ले पहाड़मा जस्तो क्षति पुऱ्यायो, त्यति क्षति ‘फानी’-ले नपुऱ्यायोस् भन्नका खातिर सबै समष्टि र महकुमा तयार बस्नुपर्ने पनि थप आग्रह गरेका छन्।
हुन्छ। हामी जनता तूफानको डरले होशियारी नै बस्छौं। तपाईंहरु चाहीं तूफानले जत्ति सक्दो बिगार गरोस् भन्ने चाहना राखेर रिलीफ र पुनः निर्माणको ठेकेदारी कसलाई दिनु र धेरै कमिसन खाऊं भन्ने चिंता लिएर बस्नुहोस्। 😊😊😊