खरसाङ, २ मईः खरसाङ अस्पतालका एक डाक्टर क्वारेन्टिनमा राखिएको छ। जानकारीका अनुसार उनलाई एसबी दे अस्पतालको क्वारेन्टिन सेन्टरमा राखिएका छन्।
अर्कोतिर सतर्कता अपनाउँदै जीटीए बीओएका अध्यक्ष अनित थापाको पहलमा खरसाङका दुईवटा औषधि पसल हनुतराम र कृष्ण मेडिकोलाई आजदेखि बन्द गरिएको छ। यी दुइवटै औषधि पसल ती डाक्टरको कोरोना टेस्ट रिपोर्ट नआएसम्मका लागि बन्द गरिने बताइएको छ।
जानकारीका अनुसार आज क्वारेन्टिनमा राखिएका ती डाक्टर खरसाङ फर्केपछि यी दुइवटै औषधि पसलमा रहेका प्राइभेट च्याम्बरमा गएका थिए। त्यहाँ केही बिरामीसमेतलाई उनले हेरेको बताइएको छ।
स्मरणरहोस्, यी चिकित्सकलगायत २९ जना डाक्टर २८ अप्रेलका दिन कोलकाताबाट एसी बसमा सवार भई सिलगढ़ी फर्केका थिए।
उक्त एसी बसमा सवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आँखा विभागका एकजना सिनियर डाक्टर कोरोना टेस्ट हिजो (शुक्रवार) पोजिटिभ आएको थियो।
यसैले सतर्कता अपनाउँदै खरसाङ अस्पतालका यी डाक्टरलाई आजदेखि क्वारेन्टिनमा राखिएको बताइएको छ।
अर्कोतिर, जानकारीका अनुसार कोलकाताबाट खरसाङ फर्केपछि यी डाक्टरको सम्पर्कका आएका मानिसहरूलाई पनि चिह्नित गर्ने प्रयास गरिँदैछ।