–जय क्याक्टस
बजारमा सबैभन्दा छिट्टो फैलिने कुरा हो हल्ला। साहित्य लेखन पनि बजार बनेको छ अहिले। अनि यो बजारमा हल्लाले धेरै ठूलो भूमिका खेल्दैछ। पुस्तक निकाल्नु सहज कुरा छ अहिले तर, यसलाई विज्ञापनको रूप दिएर हल्लामा रूपान्तरण गर्न सकिएन भने जस्तै पुस्तक पनि फ्लप हुन्छ। बजार, उपभोक्ता र उत्पादनको यो चलखेलले बेला-बेला तर राम्रै काम गर्दछ। जस्तो यो पटक भयो। छुदेन काविमो सिर्जित उपन्यासले पहिले हल्ला पायो, हल्लापछि बजार अनि बजारपछि सकारात्मक सराहना। भारतीय नेपाली साहित्यमा यति धेरै हल्ला र प्रशंसा पाउने भाग्यमानी कृति बन्यो फातसुङ अनि कृतिकार बने छुदेन।
आजजस्तो साइबर माध्यम उबेलै भइदिएको भए रूपनारायणसिंहको ‘भ्रमर’, लैनसिंह वाङ्देलको ‘मुलुकबाहिर’, इन्द्र सुन्दासको ‘मङ्गली’, शिवकुमार राईको ‘डाकबङ्गला’, अच्छा राई रसिकको ‘लगन’, लीलबहादुर छेत्रीको ‘बसाइँ’, कृष्णसिंह मोक्तानको ‘चरणधुली’ इन्द्रबहादुर राईको ‘आज रमिता छ’, असीत राईको ‘नयाँ क्षितिजको खोज’, भगीरथ रावतको ‘बास सल्किरहेछ’, मत्स्येन्द्र प्रधानको ‘निलकण्ठ’ अनि यता आएर विन्द्या सुब्बाको ‘अथाह’ जस्ता उपन्यासहरूले पनि कस्तो हल्ला र बजार पाउँथ्यो होला। प्रकाश कोविद, सुवास, जय धमला जस्ता उपन्यासकारहरू त झन कहाँ पुग्थे होलान्। हट् केक बिक्थे होलान्। किनकि कुनै प्रचार र विज्ञापनबिनै पनि यी कृतिकारहरूका कृतिहरूले इतिहास कायम गरेका छन्। यसैले विज्ञापनको माध्यम पनि ठूलै कुरो रहेछ।
फातसुङ पनि पहिले नेपालमा विमोचन गरियो। त्यताका पाठकहरूले पढ्दै सोशल मीडियामा जुन प्रतिक्रियाहरू राखे, यताका हामी पढ्न नपाउने पाठकलाई मानसिक अत्याचार जस्तै भयो। फातसुङको कभर तस्वीर सोसल मीडियाभरि देखिए। देखिरहेका छौं। पढ्नेहरूका होड़ नै देखिरहेका छौं। बजारको हल्लाले फातसुङ पढ्नैपर्ने कौतुहलता सिर्जना गरिदियो। फातसुङ पढ्न छुट्दा निक्कै ठूलो केही गुमाइएलाझैं भयो।
गत पहिलो मई २०१९ अर्थात विश्व श्रमिक दिवसकै दिनको छेक पारेर फातसुङको भारतीय संस्करणका प्रकाशक सम्बोधन पब्लिकेसनको ब्यानरमा फातसुङको गृह-विमोचन कालेबुङमा गरियो। यताका हामीलाई लगभग महिना दिनको प्रतीक्षापछि फातसुङ पढ्ने अवसर प्राप्त भयो। उक्त दिनको अन्तर्क्रियात्मक कार्यक्रममा भारतीय नेपाली आख्यानको विगत, वर्तमान र भविष्यसितै नेपाली पुस्तकको बजारमाथि निक्कै खुलेर बहस गर्ने अवसर पनि जुराएको थियो फातसुङले अग्रज-कवि चिन्तक मनप्रसाद सुब्बा, डा. राजेन्द्र भण्डारी अनि मेरो निम्ति। त्यो दिन मैले आफ्नो विचार राख्दै- ‘के फातसुङले बजारको हल्लामा आफूलाई खरो उतार्छ? कि फातसुङको हल्ला मात्र व्यापक हो? यस्तै आशयको प्रश्न राखेको थिएँ। यो प्रश्नले ‘फाइन प्रिन्ट’ नेपालका प्रकाशक अजित बराल अनि सम्बोधन पब्लिकेसन सिलगडीका सुरज रोसुरीलाई अवश्यै विरक्त बनाए होलान् (यदि सुनेको भए)। तर आज फातसुङ पढ़िसकेपछि, दोहोऱ्याउँदै केलाउँदाको अवस्थापछि र यो पाठकीय लेख लेख्दासम्मको क्षणमा एउटा मज्जाको कृति पढिसकेपछिको तृप्तता अनि धङ्धङ्गीले लट्ठ पारिरहेको हुँदा मैले मेरा प्रश्नहरूका उत्तरसमेत पाइसकेको छु। ती उत्तरहरूका शृङ्ला उपन्यासजस्तै चिटिक्क छैनन्। त्यसलाई जस्ताको तस्तै यसरी राखेको छु।
विशेष छुदेनलाई चिन्ने, गोर्खाल्यान्ड आन्दोलन छिचोल्ने, अनि उनको पहिलो कथाकृति ‘१९८६’-लाई पढ्नेहरूले फातसुङको लेखकीय धरातल अझ नजीकबाट छाम्न सक्नेछन्। कथा विशेष ‘१९८६’-कै सिक्वेल लाग्छ फातसुङ। लेखकीय स्वीकृति पनि छ यसमा। फातसुङ पढ़ेपछि तर छुदेनको लेखन-शक्ति वा प्रतिभा आकाशबाट अकास्मात झरेको वा कुनै चमत्कारले प्राप्त गरेको पक्कै होइन भन्ने प्रमाण पनि हो कृति फातसुङ। निक्कै मिहेनत र निक्कै मिहिन चिन्तनको प्रस्फुटित रूप छ फातसुङ। कृति ‘१९८६’-मा चिन्तक-कवि राजा पुनियानीले मानेको छुदेनको लेखन-सिर्जनको ‘लामो रेसको घोडा’-लाई चरितार्थ पार्ने सबल दसी पनि हो यो फातसुङ।
सबै पाठकलाई लट्ठ बनाउने मीठो दार्जिलिङे भाषाको जैविक रूपको प्रक्षेपण छुदेनको लेखन-शक्ति हो। झिँजो नलाग्ने छोटा-छोटा वाक्य-विन्यास, राजनारायणेली चटनी जस्ता पद-चयन र गम्भीर क्षणमा पनि व्यङ्ग्य र परिहासको परिवेश सिर्जनाले फातसुङ मिठो, मिठो र झन मिठो हुँदै जान्छ। पीड़ा र विषादले आँसुसरी हुनु पाउँदा नपाउँदै यस्तो हास्य-दृश्य आउँछ कि रूनु कि हाँस्नु हुन्छ। अनि ठीक यतिबेलै आउँछ छुदेनीय कथनहरू। दर्शन, विचार र चिन्तनका टुक्राहरू। जसलाई पाठकहरूले फेसबुकभरि उद्धृत गरिसकेका छन्। प्राय: सबैजसो छुदेनको टाइमलाइनमा देख्न सकिन्छ।
कथा ‘१९८६’-मै तर उनले यस्ता पन्चिङ स्ट्रोक हान्न थालिसकेका थिए यसरी-
“अनुहारको सम्बन्ध त मान्छेहरूबीच सीमित हुन्छ। फुटेको कुर्कुच्चाको सम्बन्ध त जीवनसित हुन्छ।”
“गाउँ भनेको साग रोप्नेहरू नै हो। सुन कमाउनेहरू त शहरकाहरू नै हुन्।” आदि।
कृति फातसुङमा यस्ता थुप्रै हरफ पढ़ेर सबै हुरूक्क छन्।
‘फातसुङ’-को कथा उपन्यासकारको पत्रकारे जीवनको एउटा दिनको सामान्यताबाट शुरू हुन्छ। त्यो दिन भुइँचालो गएको त्रासदीपूर्ण घटनाको भोलिपल्टको अल्छीलाग्दो आइतबार हो। भुइँचालो र रिपदेनको मृत्यु, रिपदेनको हराएको लास, समाचार र क्षतिपूर्तिको आशमा बसेका अकुहरूका सपना लेख्न उपन्यासकारसितै हामी गाउँ ‘मलबङ’ पुग्छौं। त्यसपछि लेखकले हामीलाई लैजान्छन् उनको १५ वर्षअघिको बाल्यकालतिर।
कथा अघि बढ्छ बालमनोविज्ञानगत घटना र सपनाहरूका खुड्किलाहरू उक्लँदै। रिपदेनको वरिपरि घुम्दै ‘ढुङ्गाको अक्षर’, ‘गाउँको सपना’, र ‘ज्वरो’ शीर्षकीय खण्डहरूमा कथाले पुऱ्याउँछ भगाएर हामी पाठकलाई लोले। रिपदेनको मतिमको घर छ त्यहाँ। त्यहीं भेटेका छन् उनीहरूले रिपदेनको आप्पा मार्ने चिन्ने दाह्रीवाला मान्छे। नासिम बड़ा। उसैले भन्छ फेरि अर्को कालखण्डको कथा।
वास्तवमा फातसुङ सुक्ष्माख्यानहरूको समष्टि हो। अशिक्षित र अविकसित गाउँको ससाना आख्यान बुन्दै मान्छे र उनले बाँचेको समय र सपनाको कथालाई सम्बोधन गर्न नियोजित गरिएको सुन्दर कृति हो।
जस्तो कि-
“मान्छे त सुली र खरानीले बनेको पो त”-लाई विस्वास गर्न बाईबलको सृष्टिको कथा भन्ने बाल-बालिकाहरूको आख्यान छ औपन्यासिक त्यो गाउँमा।
“पढ़ी लिखी के काम हलो जोते खान्छ माम” को यथार्थ भत्काउने” पहिलो जमातहरूको आख्यान पनि छ त्यो गाउँमा।
“छेत्रीको बिहेमा भान्सा छुट्याउँदा भतेर नखाई फर्कने” लाप्चे बाजेको विद्रोह ओकेल्ने सामाजिक आख्यान छ त्यो गाउँमा।
“भीरबाट लड़िमरेको मरेको गोरुको मासुबाट रिनमा डुबेर रिनबाट उक्सिनु आफ्नै बारीमा अधिया खेती लाउँदा-लाउँदै जम्मै खेत गुमाउने” मत्थु साइँला बाजेको आख्यान त्यो गाउँमा।
“हरेक कुरामा जात-पातको भेदभावले दिक्क बनेको हरिप्रसाद विश्वकर्मको मनदुखाइको आख्यान पनि छ त्यो गाउँमा।
अर्थात्, तल्लो, किनारीकृत र शोषितवर्ग बाँच्ने, रूने-हाँस्ने र उनीहरूले देख्ने सपनाको सङ्कथन बोल्ने माइक्रो न्यारेटिभ्सको पुञ्ज हो फातसुङ।
हिंस्रक १९८६-को गोर्खाल्यान्डको आन्दोलन यसैको बृहत्तर प्रकटीकरण हो। कालेबुङ र यसवरिपरिका गाउँ-बस्तीमा घटेका तात्कालीन आन्दोलनको परिस्थिति, सङ्घटना र चलखेल आदिलाई समेटेर फातसुङको मध्य र उत्कर्ष कथा लेखिएको छ। सुनेर, पढ़ेर अनि कल्पना गरेर लेखिए पनि यो कृति भोगेरै लेखिएजस्तै यथार्थपरक छ। हुबहु । त्यसैले प्रत्यक्ष आन्दोलनमा सहभागीहरूको निम्ति यो उनीहरूकै आत्मसंस्मरण र वृत्तचित्र पनि हो। बङ्गालदेखि छुट्टिएर अलग राज्य गठनार्थ आन्दोलन चर्किँदै गएपछि बढ़ेको हत्या, हिँसा, लुटपाट, घात-प्रतिघातका ससाना कारणहरू उपन्यासलाई गति दिने कारकतत्त्वहरू छन्। समानान्तर छ नोर्देन र रिपपन्दी, नासिम र रचेला, सूर्य र पुनम अनि शहीद रामप्रसाद र बुढ़ाथोकीकी छोरीको प्रेम-प्रीतिका ससाना तर मर्मस्पर्शी र शक्तिशाली आख्यान।
आन्दोलनको केन्द्र दार्जीलिङ थियो तर २७ जुलाईको गोलीकाण्डदेखि कालेबुङ चर्चाको केन्द्रमा आयो। यहाँको आन्दोलन तर पछि जीभीसीको सत्ता केन्द्रित सङ्घर्षमा बढ़ी जेलिएको थियो। मूल मुद्दादेखि पर यहाँ आ-आफ्नैबीचको धम्साधम्सीले नाटकीय रूप लिइसकेको थियो। त्यै आपसी टक्करमा फँसिएका एक हुल युवाको कथा भन्न फातसुङ सिर्जना गरिएको हो। एनबी र चन्द्रसिंह यसका जनक। विगतको कथामा अर्को खाप विगत कथा थपिन्छ, सन् १९८६-८८को कालखण्डमा। कसरी? जान्न र कथाको वास्तविक आनन्द लिनु पाठकले रु २५० खर्च गर्नैपर्छ।
‘कुनै कथा कहिल्यै पूरा हुने कुरा होइन तर लेखक आफ्नो रचनाको भनाइको प्रसङ्ग पुरा भएपछि कथा टुङ्ग्याउँछन्।’ (शरणार्थी-पृ. ११) आख्यानकार कृष्ण धरावासीको चर्चित कृतिको भूमिकामा अध्येयता दान खालिङले पोखेको उक्त कथनसित खाप खाने कृति छ फातसुङ पनि। उद्देश्य अनुरूप फातसुङको कथा विगतको रिक्यापबाट फेरि फर्किआइ वर्तमानको परिदृश्य झल्काउँदै टुङ्गिन्छ रिपदेनको मृत्यु प्रसङ्गमै। तर हामी यताका पाठक जसले आन्दोलन भोगिरहेका छन् उनीहरूले फातसुङको कथा अधुरै पाउँछन्। किनकि कृति फातसुङ असफल आन्दोलनको सफल कथा मात्र बनेको छ। यहाँ नेपालको जनयुद्धपछिको तृप्तता छैन। बर्लिनको पर्खाल भत्किएपछिको सौहार्दको सन्तुष्टि छैन। भियतनामीहरूले अमेरिकाली उपनिवेशविरुद्ध जितेको मुक्तिको मुस्कान छैन। कालाहरूले गोराहरूबाट पाएको अफ्रिकेली उन्मुक्तिको उच्छवास पनि छैन। बस एउटा इतिहासको रक्तरञ्जित पाटोको अभिलेखीकरण भएको छ। विमोचनकै दिन अध्येयता-कवि सुधीर छेत्री भन्दै थिए- “इतिहासमा यी पाटा लेखिएका भए कसैले वास्तै गर्दैन थिए। तर छुदेनले आख्यानमा लेखे र यसलाई अमर बनाइदिए।” तिथि-मिति नभएकोले मात्र यस्ता कृति आख्यान हुन्छन् नभए त इतिहास नै हुन् सत्य घटनामा आधारित यस्ता आख्यानहरू। हरेक भाषाका साहित्यमा छन् अनेकन् यस्ता हिस्टोरिकल नवेलहरू। यता हामीसित ‘नोयो’, ‘तर कहिले?’, ‘लड्न जन्मेकाहरू’, ‘लुङ्खुङ् क्याम्प’, ‘नयाँ क्षितिजको खोज’, ‘वास सल्किरहेछ’, ‘माटोको माया’, ‘घर’, ‘भुमरी’ जस्ता कृतिहरूसित पनि जातीय चेतना र सङ्घर्षको कथा जोड़िएकै छ तर फातसुङ थुप्रै अर्थमा विशेष छ।
फातसुङ पढिसकेपछि लाग्यो, आख्यानले कुनै व्यक्ति वा सत्ताको अस्तित्व नामेट पनि पार्नसक्छ अस्वीकृतिमा। जसरी कुनै आइडियोलजीको वटवृक्षले अन्य विचारको पौधाहरूलाई निमिट्यान्न पार्नसक्छ। जस्तो कि ग्राम्सीको हेजेमोनीले गर्ने काम लेखकीय सत्ताले पनि गर्नसक्छ। कालेबुङको रेली, रौसे, र सुरूक-समथारको जङ्गलमा अवस्थित क्याम्प एनबी र चन्द्रसिंह सुब्बाका मात्र थिएनन्। त्यहाँ अर्का थरीका आन्दोलनकारी पनि थिए, जसका नेतृत्वमा थिए चित्रकुमार प्रधान (काल्पनिक नाम)। दुई गुटका टक्करबाट फाइदा लिँदै सत्तामा पुग्न सफल व्यक्ति। उनको कथा त के नाम समेत उल्लेख छैन कतै। आख्यान यति क्रुर पनि हुनसक्छ त? अथवा यसले ‘फातसुङ पार्ट टू’ जन्माउने हो कि? एउटा अवकाश छ, यतातिर।
अर्को थोक छ खटकिने फातसुङमा- नारी चरित्रको दयनीय प्रस्तुति। आन्दोलनमा मुट्ठी दान उठाउने, चिया-खाजा बाँड्ने, आन्दोलनकारीहरूको प्रेम र वासनापूर्तिको साधन बन्ने, र खबर लाने-ल्याउने जस्ता सामान्य कार्यमा मात्र नारी-पात्रलाई सीमित राख्नुमा उपन्यासकारको के बाध्यता थियो? जबकि त्यो बेला कतिपय नारीमोर्चाका चेलीहरू माटोको निम्ति खँदुवा बोकेर जङ्ल-जङ्लै हुन्थे। विरोधीहरूको कान पोलिखानेहरूमा यस्ता सशस्त्र जङ्गी नारीहरू पनि थिए। खुकुरीको सिरानी लगाई क्याम्पमै रात गुजार्थे। भेटिएनन् यस्ता भनेपनि आख्यानमा जन्माउनसक्थे। कृतिगत नारी विमर्शमा हेरिँदा कमजोर पक्ष यै छ फातसुङको।
अघि थोरै मात्र लेखिएको फातसुङ अर्थात् हाम्रो ‘माटोको कथा’ अब सुनाउन योग्य बनाएर छुदेन कविमोले नेपाली साहित्य र समाजलाई पस्किदिएकाछन्। यति नै पनि आल्हादकारी बनेको छ। अनुवाद भएर यस कृतिले हाम्रो जातीय पीड़ालाई वैश्विक परिसीमा हुत्याउनेछ भनी विश्वास गर्छौं। त्यतिबेला हाम्रा कथा पनि अरूले बुझ्लान्, निर्क्यौल गर्लान् र उद्धृत समेत गर्लान्। सपनाको कथा लेख्ने छुदेनको कलममाथि यति सपना देख्न आपत्ति नहोला हगि त?
धन्यवाद जनसंवाद अनि समदर्शी भाञ्जोलाई।
अति सुन्दर ढंगमा फ़ात्सुङ्ग बारे लेखिएको यस लेखले अवश्य न्याय दिएको छ l मलाई पनि खट्केको कुरा नारीहरुले राम्रो न्याय पाएको छैन कारण नारीहरुले पनि संग संगै लडेको आन्दोलन हो तर जे होस् फ़ात्सुङ्ग अजर अमर रहनेछ, हार्दिक बधाई लेखक साथै खाँट्टी दृस्टी राख्ने हाम्रो प्रिय भाई जय क्याक्टसमा मुरी मुरी बधाई l
मामाको रोचक लेखले यो किताब पढ्ने अझ तृष्णा जाग्यो।किताब पाएको छु तर म कहाँ आइपुग्न यो लक डाउन बाधा भई दिएको छ तर अवश्य नै पढ्ने छु। धन्यबाद मामा।