नयाँ दिल्ली, 2 अगस्त : पश्चिम बङ्गालमा बिग्रिँदो कानून-व्यवस्थाको स्थितिलाई लिएर शुक्रवार बङ्गालका भाजपा सांसदहरूले संसद परिसरस्थित महात्मा गान्धीको प्रतिमाअघि धरना प्रदर्शन गरे।
भाजपा सांसदहरूका अनुसार बङ्गालमा लगातार हिंसा भइरहेको छ। भाजपा कार्यकर्ताहरूलाई डर देखाउने, धम्काउने कार्य गरिँदैछ। ‘हाम्रा कार्यकर्ताहरूलाई टार्गेट गरिँदैछ। बङ्गाल सरकारले राजनीतिक प्रतिशोधको भावनाले काम गरिरहेको छ’, उनीहरूको भनाइ छ।
भाजपा सांसदहरूको आरोपका अनुसार लगातार भाजपा कार्यकर्ताहरूको हत्या गरिँदैछ। झूटा मुद्दाहरू लगाइँदैछ। प्रशासनले यस्ता घटनाहरूलाई बढ़ावा दिइरहेको उनीहरूको थप आरोप छ।
पश्चिम बङ्गालमा अराजकताको माहोल रहेको भाजपाका सांसदद्वय रूपा गाङ्गुली र लकेट च्याटर्जीको आरोप छ। ‘पश्चिम बङ्गाल सरकारले आफ्नो विरोधीहरूविरुद्ध प्रतिशोधको भावना राखेर काम गरिरहेको छ। हाम्रा कार्यकर्ता र समर्थकहरूलाई डर देखाउने, धम्काउने कार्य भइरहेको छ। धेरै ठाउँ त हत्यासमेत गरिँदैछ’, उनीहरूद्वयले आरोप लगाए, ‘बङ्गालमा सन्त्रासको माहोल छ। कानून-व्यवस्था फितलो बनेको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्रीले यस्ता कुराहरूलाई संरक्षण दिइरहेकी छन्।’
उल्लेखनीय छ, पछिल्लो 24 जुलाईको राति ब्यारेकपुरका भाजपा सांसद अर्जुन सिंहको घरबाहिर बम फ्याँकिएको थियो। भाटपारा नगर निगमका प्रमुख एवं सांसद अर्जुन सिंहका भतिज सौरभ सिंहको आरोपका अनुसार घरबाहिर बम फ्याँकिनु एक प्रकारले प्राणघातक हमला गर्नु हो।
‘तृणमूल नेताहरूले 7-8 राउन्ड फाइरिङ गरे। उनीहरूको उद्देश्य हामीलाई मार्नु थियो’, सौरभ सिंहले आरोप लगाए, अर्जुन सिंह, म र पवन सिंह एकै परिवारका हौं। यसैले तृणमूल नेताहरूले हामीलाई तारो बनाउँदैछन्।